निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन, कुवेरसिंहलाई 'लाइफटाइम एचिभमेन्ट एवार्ड'

कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

बैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको बताउँदै उनले भने, – “त्यसका लागि राष्ट्रको तर्फबाट म उच्च प्रशंसा गर्छु ।”

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न प्रहरीलाई उनले निर्देशन दिए ।

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

सोही कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्याँकन गर्ने निकाय जनता भएको बताउँदै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरीको आवश्यकता भएको विचार व्यक्त गरे ।

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको पनि जानकारी दिए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा उनीहरुका परिवारजनलाई कदरपत्र प्रदान गरेका थिए ।

प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गरिएको थियो ।
–रासस

प्रकाशित : आश्विन २७, २०७४ १४:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

सान फ्रान्सिस्को — अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ ।

गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । अहिलेसम्म यो डढेलको ७६ हजार हेक्टर जमीनमा लागेको छ । यसअन्तर्गत जङ्गल, स्थानीय घर पसल तथा भवनका साथै ठूलो मात्रामा क्यालिफोर्नियाको अंगुर खेती परेको छ । क्यालिफोर्नियालाई अंगुर र वाइनको सहर भनिन्छ ।

अधिकारीहरुले जनाएअनुसार यो डढेलोले स्थानीय नागरिकका घर तथा व्यापारिक भवनहरुगरी कम्तीमा पनि तीन हजार ५०० जलाएर खरानी बनाएको छ ।

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बिहानसम्ममा ३१ पुगेको र अझै अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ । डढेलो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति हो भनेका छन् ।

बिहीबार पनि आगो नियन्त्रणका लागि ठूलो प्रयास भएको तर हावा चलेको र आगोको लप्पकाहरुका साथै तुवाँलो, हावाले उडाएको खरानी र धुवाँका कारण उद्वारका साथै आगो निभाउन काम गर्न नसकिएको बताएका छन् ।

करिब अठ हजार जना अग्नि नियन्त्रकले काम गरिरहेका छन् । तर आगो नियन्त्रणको काम अत्यन्तै कठिन भइरहेको छ– अधिकारीहरुले जनाएका छन् ।

उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमामात्र २० जनाको ज्यान गएको छ । त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् । डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि ३० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।

हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । करिब ३० हजार जना घरबारबिहीन भएका छन् । पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा करिब ४०० जना स्थानीय नागरिक हराइरहेका छन् । तर अधिकारीहरुले हराउने मानिसको तथ्याङ्क यो भन्दा सानो पनि हुन सक्ने भनेका छन् ।

किनभने कतिपय स्थानका हराइरहेका भनी आएको स्थानीयको तथ्याङ्क दोहोरिएकोले हराइरहेका व्यक्तिको सङ्ख्या घटन पनि सक्ने उनीहरुको भनाइ छ ।

प्रकाशित : आश्विन २७, २०७४ १४:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT