एनआरएनएको आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह
होम कार्की

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ व्यक्तिहरुको पनि उपस्थिति थियो ।

एनआरएनएको आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ व्यक्तिहरुको पनि उपस्थिति थियो ।

सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् । उनले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन् । 'संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ', राष्ट्रपति भण्डारीले भनिन् । नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको उनले उल्लेख गरिन् ।

नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पुर्‍याउने बताउँदै राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनएको विशेष भूमिका हुने अपेक्षा गरेको सुनाए । परराष्ट्रमन्त्री महराले भने,'विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ ।'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन माग गरिन् ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाए । एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सम्मेलन अन्तर्गत भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआएएनएले जनाएको छ । आगामी नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।

सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुबाट करिब एक हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित : आश्विन २८, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?