भारतीय बिरामीको रोजाइमा नेपाली अस्पताल

 चिकित्सा पर्यटनले महानगरको व्यापार बढ्दै,  एक वर्षमै ३ लाख १७ हजारको उपचार
जितेन्द्र साह

विराटनगर — अलिक गारोसारो पर्दा नेपालीहरु उपचारकालागि भारततिर दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतको विहारदेखि झारखण्ड राज्यसम्मका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।

सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा दैनिक आउने बिरामीमा ६० प्रतिशत भारत, बंगलादेश, भुटान, म्यानमार र लाओसलगायतका मुलुकका हुन्छन् । कुल विदेशी बिरामीमा पनि झन्डै ९० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ । उक्त अस्पतालमा दैनिक औसत आउने १ हजार ४ सय आँखाका बिरामीमा ४० प्रतिशत मात्र नेपाली हुन्छन् ।

यो एक खाले ‘मेडिकल टुरिज्म’ वा चिकित्सा पर्यटनले महानगरको व्यापारलाई पनि बढाएको उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । ‘यसबाट औंषधी पसल, वाहन, होटेल, मल र खुद्रे पसलको ब्यापारमा वृद्धि भएको छ, रोजगारीका अवसरहरु पनि सृजना भएका छन्,’ उनले कान्तिपुरसँग भने ।

गुणस्तरिय, सस्तो र सबै खाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका कार्यक्रम निर्देशक एवं कोर्निया विज्ञ डा.सञ्जयकुमार सिंहले बताए । सन २००६ सालमा ११ विघा क्षेत्रफलमा निर्मित यो अस्पताल बिरामीले तीर्ने न्यून्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चलिरहेको छ ।

यस अस्पतालमा मुलुककै २० उत्कृष्ट आँखा विज्ञसहित २ सय ५० चिकित्साकर्मी एवं प्रसासनिक कर्मचारी कार्यरत छन् । अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या ३ लाख १७ हजार र शल्यक्रिया गराउनेहरुको संख्या ६० हजार १ सय ६४ पुगेको छ ।

एक दसक अघिको तुलनामा यो निकै बढी हो । सन २००६ मा यहाँ ८ हजार ७ सय ८९ बिरामीले जाँच र १ हजार ६ सय ४५ ले आँखाको विभिन्न खाले शल्यक्रिया गराएका थिए । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्र्तगत नेपाल नेत्र ज्योति सँघद्वारा सञ्चालित उक्त गैर नाफामुलक अस्पतालमा आधारभुत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।

मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टी (कृत्रिम आखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन (स्वीकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ । यहा चाँडै पावरवाला चश्माको ठाउँमा कन्टयाक्ट लेन्स राख्नलाई गरिने ‘रिफ्याक्टिभ सर्जरी’ सुरु हुने उक्त अस्पतालका प्रबन्धक पृथुले जनाए ।

बस्न लाग्ने खर्चसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक पृथुका अनुसार कुल रोगीमा ७० प्रतिशत मोतिया बिन्दुका र अन्यमा कोर्निया, रेटिना एवं जलबिन्दुलगायतका हुन्छन् । ४८ रुपैयाँ पूर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परिक्षण हुन्छ । ‘संसारमै सबभन्दा कम शुल्क १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं,’प्रबन्धक पृथुले भने ।

यही उपचार राजधानीको तीलगंगा आँखा अस्पतालमा गराउँदा २५ हजार रुपैयाँमा पर्छ । ‘सेवा र सुविधाको तुलनामा नीकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं,’उनले भने ।

मनग्यै रकम खर्चेर मात्र स्तरिय उपचार पाइन्छ भन्ने जनमानसमा फैलाइएको भ्रम र हल्लाको आफूहरुले सशक्त जवाफ दिइरहेको पृथुले बताए । ‘उपलब्ध सुविधा, न्यून्तम शुल्क, विज्ञ र गुणस्तरियताको हिसाबले एशियाको मात्र नभएर विश्वकै यो तेस्रो सबभन्दा उत्कृष्ट आँखा अस्पताल भएको दाबी गर्छौं,’पृथुले भने ।

पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पतालहरु छन् । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको पृथुले बताए । यहाँ दृष्टिविहिन नेपाली बिरामीले १० हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउँछन् । अन्यत्र योभन्दा दोब्बर पर्छ ।

यहाँ गत वर्ष २ सय ६ जना र यो वर्ष अहिलेसम्म १ सय ९५ ले कोर्निया प्रत्यारोपण गराएको अस्पतालका कोर्निया विशेषज्ञ डा. सिंहले जानकारी दिए । पाँच वर्ष अगाडीसम्म कोर्निया (नानी) पाउन कठिन हुन्थ्यो । विद्युतीय शवदाह गृह बनेपछि आँखाको नानी दान गर्ने प्रवृति बढेको हुनाले यसको उपलब्धता अलिक सहज भएको डा. सिंहले विश्लेषण गरे ।

आँखा डढेर जानुभन्दा कसैलाई काम लागोस भन्ने दृष्टिकोणले यसमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । सन २००७ मा आँखा प्रत्यारोपण सुरु भएको उक्त अस्पतालमा एक दसकभन्दा बढीको अवधिमा झन्डै ५ हजार ५ सय जनाले मृत्युपछि आँखाको नानी दान इच्छापत्र भरेका छन् । ‘चेतनाको बिस्तारसँगै कोर्निया दान गर्ने प्रवृति बढ्दै छ,’ सिंहले भने ।

पूर्वी नेपालमा सन २००२ देखि र उक्त अस्पतालमा सन २००६ देखि कोर्नियाको प्रत्यारोपण सुरु भएको हो । उक्त अस्पतालमा यस एक दसकको अवधिमा ८ सय ७५ जनाभन्दा बढीमा कोर्निया प्रत्यारोपण भइसकेको छ ।

यो अस्पताले यो वर्षदेखि कोर्निया विशेषज्ञ तालिम समेत सुरु गरेको छ । एक जनाले प्रशिक्षण लिइरहेको र अर्को दुई चिकित्सक लाममा रहेको डा सिंहले बताए । अहिलेसम्म उनी उक्त अस्पतालका एक मात्र कोनिर्या विशेषज्ञ हुन् । उनले भने,‘राजधानीकै अस्पतालमा कोर्निया विज्ञको अभाव छ ।’

अर्कोतिर उक्त अस्पतालमा राम्रो उपचार पाउने सुनेर छिमेकी भारत र अन्य मुलुकबाट आउनेलाई पारी जोगबनीस्थित रेल्वे प्लेटफर्मबाटै दलालहरुले फकाएर वारीकै अन्य अस्पतालहरुमा लाने गरेको खुलासा भएको छ ।

बिरामी ल्याए वापत निश्चित प्रतिशत कमिसन दिने शर्तमा स्थानीय केही नाफा मुलक निजि अस्पताल र नर्सिंग होमले रिक्सावाला तथा भ्यान चालकलाई प्रयोग गरेको स्रोतले दाबी गरेको छ । यस अस्पतालमा आउनेको संख्यामा कमी नआए पनि मुलुकको छविमा असर परिरहेको प्रबन्धक पृथुले बताए ।

‘बिरामी लगेपनि उनीहरुले आधुनिक संयत्र र विज्ञको अभावमा राम्रो उपचार दिन सक्दैनन्,’उनले भने,‘विदेशीहरु निको नभइकन फर्कँदा मुलुककै प्रतिष्ठामा आँच पुग्छ ।’ देशकै सम्मानमा चोट पुग्ने खाले कार्य नगरिदिन निजि अस्पताल र नर्सिंग होमसँग पृथुले अनुरोध गरेका छन् ।

‘सरोकारवाल निकायले पनि अनुगगमन गर्नपर्छ,’उनले भने,केही निजि नर्सिंग होम, अस्पताल र क्लिनिकमा विज्ञता, दक्षता तथा पर्याप्त तालिम नलिएका चिकित्सकले पनि आँखाको शल्यक्रिया गरिरहेका हुन्छन् ।’ केही चिकित्सकले मुनाफैकालागि अधिकार क्षेत्र बाहिर गएर जटिल शल्यक्रिया गर्न खोज्दा पूर्णतया आँखा खराब भएका बिरामीहरु पनि उक्त अस्पतालमै पुग्छन् ।

प्रकाशित : आश्विन ३०, २०७४ १२:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लघन भएको छैन : प्रमुख आयुक्त

नगेन्द्र अधिकारी

काभ्रे — प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रीहरुबाट आचारसंहिता उल्लघंन हुन सक्ने भन्दै निगरानीको लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्  ।

धुलिखेलमा निर्वाचन सामाग्री तथा लेखा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्को आकार ठूलो भएकाले मन्त्रिहरुबाट जिल्ला जिल्लामा आचारसंहिता उल्लघंन हुन सक्ने दाबी गरे ।

‘मन्त्रिपरिषद्को आकार ठूलो छ, अब मन्त्रीहरु प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न सक्छन् र आफ्नो निर्वाचन क्षेत्र जान्छन्,’ प्रमुख आयुक्त यादवले भने, ‘त्यतिबेला सिडिओसाप’हरुको भूमिका हुन्छ, कुनै मन्त्रीको पछि नलाग्नुहोला, तपाईहरु जनताको सिडिओ हो, कुनै पार्टीको सिडिओ हैन ।’

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले मन्त्रिपरिषद विस्तारले निर्वाचन आचारसंहिता उल्लघंन नभएको जिकिर गरे । ‘नेपालमा अस्थिर सरकार छ, धेरैवटा सरकार परिवर्तन भइरहेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषद विस्तारले निर्वाचनको निष्पक्षतामा कुनै असर गरेको छैन ।’

मन्त्रिपरिषद विस्तार राजनीतिक बिषय भएकाले आयोग त्यसमा फस्न नचाहेको उनले बताए । उनले जिल्लाका निर्वाचन अधिकृत, कोष नियन्त्रक र लेखाका कर्मचारीलाई बेरुजु नरहने गरी काम गर्न निर्देशन दिए ।

नगद मात्रै नभइ सामानको पनि बेरुजु हुने भन्दै उनले स्थानीय तहको निर्वाचनमा प्रयोग भएको निर्वाचन सामाग्रीको बेरुजु फच्र्यौट हुनुपर्ने तर्क गरे ।

प्रकाशित : आश्विन ३०, २०७४ १२:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT