३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फेवातालमा खसे ७ प्याराग्लाइड

सराङकोटबाट उडेका प्याराग्लाइड चर्को हावा लागेपछि सन्तुलन गुमाएर तालमा खसे पनि सबैको तत्कालै उद्धार
लालप्रसाद शर्मा

पोखरा — उडिरहेका बेला एक्कासी आएको हावाहुरीले ७ प्याराग्लाइड सोमबार फेवातालमा खसेका छन् । प्रहरी तथा डुंगा व्यवसायीले तत्कालै उद्धार गरेका कारण मानवीय क्षति भने हुन पाएन ।

 फेवातालमा खसे ७ प्याराग्लाइड

दिउँसो सवा २ बजे सराङकोटबाट उडेका ती प्याराग्लाइडिङ चर्को हावा लागेपछि सन्तुलन गुमाएर तालमा खसेका हुन् । पोखरा, ब्लुस्काई, कस्मिक, फ्लाई नेपाल, फ्रन्टियर र माउन्टेन फ्लाएर कम्पनीबाट यात्रीसहित प्याराग्लाइडिङ उडेका थिए । हल्लनचोक, खहरे र वाटरफ्रन्ट साइडमा प्याराग्लाइडिङ खसेको प्रहरीले जनायो ।

डुंगा व्यवसायी र प्रहरीले तत्काल उद्धार गरेकाले सबै सुरक्षित छन् । उद्धार भएकामा ७ नेपाली पाइलट, ३ चिनियाँ र एक सिंगापुरका पर्यटक छन् । उद्धार गरेलगत्तै ३ पर्यटक सम्पर्कविहीन भएकाले पहिचान नभएको प्रहरीले जनाएको छ । केहीले पोखरा छाडिसकेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका निरीक्षक वसन्त शर्माका अनुसार माउन्टेन फ्लायर्सका पाइलट जितेन्द्र पुर्जाले कम्पनीसँग सम्पर्क नगरी आफ्नै ढंगले पर्यटक लगेर प्याराग्लाइडिङ गरेका थिए । उद्धारलगत्तै उनी सम्पर्कविहीन भएको शर्माले बताए । ‘दुई प्याराग्लाइड तालमा खसेको मैले पनि देखें । तत्कालै उद्धारमा लाग्यांै,’ उनले भने, ‘समयमै उद्धार भएकाले मानवीय क्षति हुन पाएन ।’

उद्धारका लागि प्रयोग गरिएको एक डुंगासमेत डुबेको छ । हावाले तालमा छाल ल्याएपछि उद्धारकर्ता सबै खसेका थिए । उनीहरूको पनि उद्धार गर्नुपरेको थियो । लाइफ ज्याकेटका कारण सबै सुरक्षित भएको उद्धारमा खटिएका सन्दीप परियारले बताए । ‘तालमा प्याराग्लाइडिङ खसेको देख्नासाथ ६ जना उद्धारमा खटेका थियौं । हामी चढेको डुंगा नै डुब्यो तर पनि उद्धार गर्न सफल भयौं,’ उनले भने । डुंगा डुबेपछि थप चार डुंगा त्यहाँ पुर्‍याएर उद्धार गरिएको थियो ।

घरमा बसिरहेका १५ वर्षीय नारायण राजवंशी पनि उद्धारमा खटिएका थिए । ग्लाइडर खसिरहेको देखेपछि उनले कायाक लिएर एक चिनियाँ पर्यटकको उद्धार गरेका थिए । कायाकमै पर्यटकलाई राखेर किनारमा ल्याएका थिए । केही प्याराग्लाइडिङ तालको किनारमा खसेकाले आफैं बाहिर आएका थिए ।

नेपाल हवाई खेलकुद संस्थाका प्रथम उपाध्यक्ष सोवित बानियाँले अकस्मात् आएको हावाहुरीले तालमा खस्न पुगेको बताए । ‘उड्ने बेलामा मौसम सफा थियो । एक्कासी हावा आएपछि सन्तुलन गुमेर तालमा खसे,’ उनले भने, ‘हावा कम र बढी भएमा समस्या आउने भएकाले सावधानी भने अपनाउनु पर्छ ।

प्रकाशित : आश्विन ३०, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?