माओवादी केन्द्रले सरकार छोड्दै

चन्द्रशेखर अधिकारी

काठमाडौं — नेकपा (माओवादी) केन्द्रले मंगलबार सरकार छोड्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हटाइदिन आग्रह गरेपछि सरकार छाड्न लागेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।

माओवादीतर्फबाट नेतृत्व गरेका सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आफूहरु पार्टीको निर्णय पर्खीरहेको बताए । उनले भने, ' सरकारबाट बाहिरिने पार्टीले निर्णय गर्छ, हामी तुरुन्त हट्न तयार छौं ।' पत्रकार सम्मेलनका क्रममा महराले मन्त्रालयका कर्मचारी, पत्रकारलगायतलाई धन्यवाद दिए । उपप्रधानमन्त्री महरा सोमबार पनि मन्त्रालय गएका थिएनन् ।

यस्तै गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेका गरेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्‌मा थप गरेका थिए ।

मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि दाहाल आफ्ना मन्त्रीहरुलाई सरकार छोड्ने लगाउने मुडमा पुगेको बुझिएको छ । माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारी थियो ।

शनिबार दाहाल निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्र सचिवालय बैठकले भने सरकारलाई दिएको समर्थन यथावत राख्दै मन्त्री फिर्ता नबोलाउने निष्कर्ष निकालेको थियो ।

प्रकाशित : आश्विन ३१, २०७४ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुदूरमा रौनक

डीआर पन्त

काठमाडौं — दसैंलगत्तै सुरु भएको अर्को ठूलो पर्व तिहारको रमझमले सुदूरपश्चिम झिलिमिली भएको छ । हरेक जातजाति, वर्ग र धर्म मान्नेले आफ्नै विशिष्ट सांस्कृतिक मौलिकता बोकेको तिहार मनाउने तयारी सुरु गरिसकेका छन् । सृष्टिको सबैभन्दा पुरानो स्मार्त सभ्यताका धनी सुदूरपश्चिमेलीको जीवनमा ‘तिहार’ को बेग्लै महत्त्व र विशिष्टता पनि छ ।

सुदूरपश्चिमका सातवटा पहाडी जिल्लासँगै कैलाली र कञ्चनपुरमा धुमधामका साथ मनाइने तिहार नजिकिँदै जाँदा स्थानीय सहरबजारमा चहलपहल पनि बढेको छ । विशेषगरी दिदीबहीनी र पहाडबाट बसाइसराइसँगै आफ्ना सांस्कृतिक पर्व पनि सँगै लिएर तराई झरेकाहरूले पनि यो पर्व धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् । पहाडी समुदायसँगै तिहार आदिवासी थारू र राना समुदायले पनि धुमधामका साथ मनाउने गरेका छन् । कैलाली र कञ्चनपुरमा देशका विभिन्न क्षेत्रबाट बसाइसराइ गरी आएका विभिन्न जातजाति र समुदायले पनि आफ्नै किसिमले मनाउने गरेका छन् ।
कैलाली र कञ्चनपुरमा विविध सांस्कृतिक पर्वको संगमका रूपमा पछिल्लो समय तिहार मनाउने गरेको पाइन्छ । विभिन्न जातजातिको आफ्नो मौलिकता हुँदाहुँदै पनि काग, कुकुर, गाई, गोरु पुज्ने हिन्दूहरूको शास्त्रीय मान्यतालाई सबै वर्ग र समुदायले आत्मसात् गर्दै मनाउन थालेका छन् । ‘आफ्नो थातथलो छोडेर तराई झर्नेहरू एक्लै आएनन्, 
आफ्नो सभ्यता र संस्कृतिलाई पनि सँगै लिएर आए,’ नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘कैलाली कञ्चनपुरमा जसरी बसाइसराइ गरी आउनेहरूले सामाजिक विविधता भएको छ, त्यसरी नै सांस्कृतिक विविधता पनि रहेको छ ।’ जातीय र सांस्कृतिक विविधता हुँदाहुँदै पनि तिहारजस्ता पर्वमा भने यस भेकमा मनाइने प्राचीन पद्धतिलाई नै सबैले स्वीकार गर्दै तिहार सबैको सांस्कृतिक विविधताको संगमको पर्व बन्दै गएको छ । 
‘यो जीवन, जगत् र प्रकृति पुज्ने पर्व हो,’ सऽदूरपश्चिमका सांस्कृतिक अभियन्ता पदमराज जोशीले भने, ‘मानव जीवनलाई प्रकाशमय बनाउने पर्वका रूपमा तिहारको आफ्नो मौलिकता र विशिष्टता सुदूरको समाजमा रहेको छ ।’ ‘अहिले ‘इकोसिस्टम’ बचाउने कुरा हुन्छ तर हाम्रो प्राचीन सभ्यताले यसलाई आत्मसात गरी पर्वका रूपमा विकसित गरेको कुरा बिर्सनुहुँदैन,’ जोशीले भने, ‘काग, कुकुर, गोरु, गाई त्यसपछि मात्र भाइटीकाका रूपमा मान्छेको पूजा गर्ने यो प्रचलन प्रकृति संरक्षणसँग जोडिएको हो ।’ यस्तो विशिष्टता अन्य संस्कृतिमा कमै पाइने जोशीको दाबी छ । ‘वर्ण व्यवस्थाअनुसार पर्वहरू मनाउने क्रममा तिहारलाई वणिक–वाणिज्य क्षेत्रमा काम गर्नेहरूका लागि विशेष महत्त्व दिइएको पर्वका रूपमा पनि लिन सकिन्छ,’ जोशी थप्छन् । 
तिहारका विषयमा अर्का विज्ञ नेपाल संस्कृत विश्वविद्यलायका प्राध्यापक डा. भोजराज पन्त पनि जीवन र जगत्लाई प्रकाशमय बनाउने पर्वका रूपमा तिहारका विविध पक्ष रहेको बताउँछन् । डा. पन्त भन्छन्, ‘जीवन र जगत्लाई अँध्यारोबाट उज्यालो प्रकाशतिर लैजान यसका विविध पक्षले समाजलाई डोर्‍याएको हुन्छ ।’ 
‘प्रकृति नै जीवन हो,’ उनले भने, ‘यसैलाई लक्षित गरी तिहारमा गरिने प्रकृति र मानव पूजाले पुस्तौं पुस्तालाई एउटा नयाँ सन्देश दिने अनि सभ्यता हस्तान्तरणको पर्वका रूपमा यसलाई लिने गरेको छ ।’ काग, ककुर, गाई र गोरु मानव जीवनसँग जोडिने प्रकृतिका भिन्न रूपलाई आत्मसात् गरी पूजा गर्ने पद्धतिको निरन्तरता यो पर्व हो उनले बताए । 
धनकी देवी महालक्ष्मीको पूजाआजादेखि यस क्षेत्रका मौलिक परम्पराअनुसार तिहार मनाउन घर फर्किनेको पनि निकै ठूलो संख्या रहेको छ । वर्षभरि भारतका विभिन्न सहरमा काम गर्ने नेपालीहरूमध्ये अधिकांश तिहारमा मात्र घर फर्किने गरेका छन् । भारतमा दसैंभन्दा तिहारमा बिदा पाइने हुनाले पनि तिहार मान्न घर फर्कनेको निकै ठूलो संख्या रहेको छ । गौरीफन्टा भन्सारमा व्यवसाय गरी बस्ने कञ्चनपुर भीमवस्तीका फुर्मान तामाङ भन्छन्, ‘भारतबाट चाडबाडमा घर फर्कनेमध्ये सबैभन्दा बढी नयाँ वर्ष बिसु पर्व र दोस्रोमा तिहारमा घर फर्कनेको निकै ठूलो संख्या हुन्छ ।’ यो मौलिक पर्व यो क्षेत्रका बाहुन क्षेत्री, ठकुरी र दलितमा मात्र सीमित रहेन फुर्मान तामाङ भन्छन्, ‘हामी पूर्वी नेपालबाट बसाइसराइ गरी आएका तामाङ, गुरुङ, राई, लिम्बूले पनि धुमधामका साथ मनाउने गरेका छौं ।’ 
दसैंभन्दा पनि तिहारमा माइत आउन पाइने भएकाले यो पर्वको यो क्षेत्रका महिलाहरूको जीवनमा पनि विशिष्ट महत्त्व रहेको छ । भाइटीका लगाउन हरेक तिहारमा माइत आउन पाउने चेलीबेटीले तिहारका अवसमार आफ्ना दु:खसुख साटासाट गर्ने, बाल दौंतरी भेट्ने, एकअर्का गाउँका अनुभव र दु:खसुख साट्ने गर्छन् । भाइको दीर्घ जीवनका लागि गरिने पूजाले सहोदर भाइबहिनी जो जता भए पनि यो पर्वले सबैलाई एक ठाउँमा जोड्ने गरेको छ । छुट्टै वेशभूषा, संस्कार र जीवनशैली भएका सुदूरपश्चिमको दार्चुलामा रहेका सौका समुदाय र तराईका कैलाली कञ्चनपुरमा रहेका थारू समुदायले पनि यो पर्व आफ्नै तरिकाले मनाउने गरेका छन् । 
परम्परागत जीवनशैली अन्य जातजातिभन्दा फरक भए पनि तिहार भने सौका समुदाय र थारू समुदायले धुमधामका साथ मनाउने गरेका छन् । ‘थारू समुदायको सांस्कृतिक पर्वमध्ये तिहार पनि एउटा प्रमुख हो,’ थारू नेता प्रभात चौधरीले भने, ‘लक्ष्मी पूजाका दिन बिहानै नुहाउने, दूध र पानीले कुल देवताको पूजा गर्ने अनि साँझपख ढिक्री र जाँड बनाएर लुटाउने विशिष्ट परम्परा थारू समुदायमा रहेको छ ।’ पारिवारिक जमघट हुने मीठो परिकार खाने, एक अर्कामा सौहार्दता बाँड्ने र प्रकृतिको पूजा गर्ने पर्वका रूपमा थारू समुदायले यो पर्व मनाउने गरेको चौधरीले बताए । 
कैलाली कञ्चनपुरमा मात्र रहेका राना थारूले पनि यो पर्व मनाउने गरेका छन् । राना समुदायमा दसैंजस्तै गरी धुमधामका साथ पर्व मनाउने गरिएको छ । थारू अगुवा प्रभात चौधरीले भने, ‘बिस्तारै थारूहरूले पनि भाइटीका लगाउन थालेका छन् ।’ थारू समुदायमा एक दिन मात्र मनाइने यो पर्व अहिले पहाडी समुदायसँग घुलमिल हुँदै जाँदा भाइटीकासमेत लगाउने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ३१, २०७४ ११:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT