कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुमतीय सरकार नभएसम्म विकासमा बाधा : रविन्द्र अधिकारी

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा एमाले नेता रवीन्द्र अधिकारीले राजनीतिक स्थायित्वका लागि बहुमतको सरकार नभएसम्म कुनै पनि अवस्थामा मुलुकका विकास आयोजनाले गति लिन नसक्ने बताएका छन् ।

बहुमतीय सरकार नभएसम्म विकासमा बाधा : रविन्द्र अधिकारी

संसदको विकास समिति सभापति समेत रहिसकेका उनले मंगलबार निर्वाचन क्षेत्र र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गतको बजेट आफूले वितरण गरेका योजनाको हिसाब सार्वजनिक गर्दै भने, ‘बहुमतको सरकार नभएसम्म देशको विकास गतिविधिले निरन्तरता पाउन गाह्रो छ ।’विकास समितिले चार वर्षमा विषयगत मन्त्रालय र सरकारलाई करिब १ सय ४० वटा निर्देशन दिएको बताउँदै उनले भने, ‘कुनै योजनामा सरकारको नियत ठीक नभएर रोकिएको देखियो, धेरैमा क्षमता नभएर रोकिएको देखियो ।’

राष्ट्रिय गौरवका आयोजनाहरूले अहिले निरन्तरता पाएको देखिए पनि छिटो छिटो सरकार परिवर्तन हुँदा विषयगत मन्त्री फेरिने, मन्त्रीसँगै सचिव र सम्बद्ध निकायका अधिकारी परिवर्तनको नराम्रो अभ्यास विकासविरोधी भएको उनले बताए ।

दुईपटक कास्कीबाट संसदमा प्रतिनिधित्व गरिसकेका नेता अधिकारी यसपटक पनि जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सिफारिसमा परेका छन् ।

सडकका योजनालाई प्राथमिकता
प्रत्यक्षतर्फका सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि पूर्वाधारतर्फ तीन करोड र क्षेत्र विकासतर्फ ५० हजारका योजना विनियोजन गर्न पाउँछन् । उक्त बजेटमा अधिकारीले आफ्नो क्षेत्रमा धेरैजसो सडकका योजनालाई प्राथमिकतामा परेका छन् ।

कार्यक्रममा उनले सार्वजनिक गरेको विवरणअनुसार पूर्वाधार विकासतर्फका २५ योजनामध्ये १४ वटा सडकका छन् । क्षेत्र विकासतर्फका १५ योजनामध्ये पाँचवटा बाटो, खानेपानी, क्षमता अभिबृद्धि, पर्यटन र वातावरणका छन् ।

डन प्रवृत्ति घातक
एमालेले मनाङबाट दीपक मनाङ्गेलाई उम्मेदवार सिफारिस गरेको विषयमा उठेको प्रश्नमा नेता अधिकारीले पैसा र गुण्डाले पार्टी नचल्ने बताए । ‘जिल्लाले गरेका सिफारिसमाथि पार्टीले अन्तिम निर्णय गरिसकेको छैन,’ उनले भने, ‘त्यसैले मनाङ्गेका विषयमा पार्टीले साँच्चिने मौका पाएको छ ।’

जिल्लाहरूलाई उम्मेदवारका आकांक्षीका नाम सिफारिस गर्ने अधिकार भए पनि अन्तिम निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने भएकाले पर्खेर हेर्नुपर्ने उनले बताए । ‘पार्टीमा डन प्रवृत्ति हाबी हुनुहुँदैन,’उनले भने, ‘सञ्चारमाध्यमले उठाएका कुरामा पार्टीले अवश्य विचार गर्छ ।’

प्रकाशित : आश्विन ३१, २०७४ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?