कम्यूनिष्ट अधिनायकवाद ल्याउने प्रयत्न हुँदैछ : देउवा

पौडेल भन्छन्– ‘गठबन्धनले लोकतन्त्रवादीहरुलाई झस्कायो’
कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई समाप्त पार्ने उद्देश्यका साथ बामगठबन्धन निर्माण भएको बताउँदै त्यसविरुद्ध लोकतन्त्रवादीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

कम्यूनिष्ट अधिनायकवाद ल्याउने प्रयत्न हुँदैछ : देउवा

नेविसंघले मंगलबार आयोजना गरेको राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले ‘कम्यूनिष्ट अधिनायक’ विरुद्ध एकजुट भएर सामना गर्न विद्यार्थी कार्यकर्ताहरुलाई आग्रह गरे । ‘कांग्रेसलाई सिध्याउन कम्यूनिष्ट गठबन्धनको निर्माण भएको हो । कांग्रेस कमजोर बनाएर एकदलीय अधिनायकबाद स्थापना गरी सर्वसत्ताबाद लाद्ने प्रपञ्चका बिरुद्धका हामी एकजुट भएर भिड्नु पर्छ,’ देउवाले भने, ‘यो सामान्य घटना होइन । यसलाई गम्भीर रुपमा लिएर जनतालाई बुझाउने काम गरौं ।’

देशभरबाट प्रशिक्षण कार्यक्रममा आएका नेविसंघका विद्यार्थीहरुलाई देउवाले अहिलेको चूनौति सामाना गर्न जुझारु भएर भिड्न समेत निर्देशन दिए । दश वर्षभित्र कम्यूनिष्ट शासन व्यवस्था ल्याउने उदघोष गरेर बनेको गठबन्धनले लोकतन्त्रवादीहरुलाई झस्काएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्यूनिष्टहरु अवसरवादी सिद्धान्तको आडमा हुर्किएको बताए । ‘कम्यूनिष्टहरु भनेका अवसरवादी चरित्र भएका तत्व हुन । सिद्धान्तको कुनै टुंगो छैन । निर्दलको पक्षमा लहर आउँदा निर्दलकै पक्षमा कम्यूनिष्टहरु गए, जातीवाद, क्षेत्रीयतावादको लहर आउँदा त्यतै गए,’ पौडेलले भने, ‘कम्यूनिष्टहरु मौसमअनुसार चोला बदल्छन् ।’ उनले कम्यूनिष्टहरुले चोला बदलेकै कारण २००७ सालको क्रान्तिले ल्याएको प्रजातान्त्रिक व्यवस्थाको हत्या भएको बताए ।

महामन्त्री सशांक कोइरालाले बीपी कोइरालाले १८ वर्षसम्म कम्यूनिष्ट नहुनेलाई हृदय नभएको र २५ बर्षसम्म पनि कम्यूनिष्ट भएकालाई दिमाख नभएको भन्ने गरेको स्मरण गर्दै भने, ‘विश्वबाट हराइसकेको कम्यूनिष्ट व्यवस्था आउँछ भन्नु त्यस्तै दिमाख नभएकाहरुको उपज मात्रै हो ।’ उनले लोकतन्त्रवादीहरुलाई कमजोर बनाउन भएको कम्यूनिष्ट गठबन्धनविरुद्ध सिंगो पार्टी एक भएर अघि बढ्नु पर्ने अवस्था आएको बताए ।

प्रशिक्षणमा चुनावका बेला जनता माझ कस्ताकस्ता मुद्दा लिएर जाने र विपक्षी गठबन्धनसँग बैचारिक मुद्दामा कसरी प्रतिरोध गर्ने भन्ने बिषयमा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य र धनराज गुरुङले प्रशिक्षण दिएका थिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले देशव्यापी रुपमै नेविसंघलाई चुनावी अभियानमा खटाउन रणनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको बताए । उनले विपक्षी गठबन्धनले उठाएका मुद्दाहरुको खण्डन गर्दै चुनावी मुद्दा लिएर जिल्लाजिल्ला जाने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशरणमहत, कृषि मन्त्री रामकृष्ण यादव, सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलगायतले कांग्रेसको पक्षमा जनलहर ल्याउनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा नेविसंघको समूह खटाउन आग्रह गरे ।

प्रकाशित : आश्विन ३१, २०७४ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?