देउवाले खोसे माओवादी मन्त्रीहरूको जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौं — माओवादी केन्द्रले सरकारबाट हट्ने मंगलबारको आफ्नै निर्णयबाट नाटकीय रूपमा ‘युटर्न’ गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पार्टीका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन् । संवैधानिक अडचनका कारण सीधै हटाउन नमिलेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका ९ मन्त्री र ९ राज्यमन्त्रीलाई ‘बिनाविभागीय’ बनाएका हुन् ।

संविधानमा सम्बन्धित दलको सिफारिस या सल्लाहमा मात्रै मन्त्री हटाउन सकिने व्यवस्था छ । प्रधानमन्त्री देउवाले नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरणमन्त्री रहेकी मिथिला चौधरीलाई भने बिनाविभागीय बनाएका छैनन् । नेकपा संयुक्त पार्टी माओवादी केन्द्रमा विलय भइसकेको छ । अब उनी माओवादी केन्द्रकी मन्त्री हुन् । देउवाले बिनाविभागीय बनाउने निर्णय गर्दा चौधरी माओवादीकी मन्त्री हुन् भन्ने भेउ नपाएकै कारण उनलाई नहटाइएको जानकारी बालुवाटार स्रोतले दियो ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिनाविभागीय बनाएपछि उनीहरूले सम्हाल्दै आएका मध्ये चार मन्त्रालयको जिम्मेवारी राप्रपाका मन्त्रीलाई दिएका छन् । गृह, परराष्ट्रलगायत ६ मन्त्रालय प्रधानमन्त्री आफैंसँग राखेका छन् ।

राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले ऊर्जा मन्त्रालय पाएका छन् । राप्रपाका जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई सहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तोकिएको छ । राज्यमन्त्रीहरूमा कुन्ती शाहीलाई सहरी विकास, भास्कर भद्रालाई ऊर्जा, सुशीलकुमार श्रेष्ठलाई आपूर्ति र कान्त भट्टराईलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री भएका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि उनले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । विज्ञान तथा प्रविधि प्रधानमन्त्री आफैंले राखेका छन् ।

राप्रपालाई सरकारमा ल्याएदेखि नै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्री हटाउने प्रयास थालेका थिए । माओवादी केन्द्रले प्रतिपक्ष एमालेसँग चुनावी गठबन्धन गरेपछि आफूलाई असुविधा भएको भन्दै बारम्बार देउवाले सरकारबाट बाहिरिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका थिए । मंगलबार बिहान पनि प्रधानमन्त्री देउवाले दाहाललाई बोलाएरै सरकारबाट बाहिरिन आग्रह गरे । बालुवाटार स्रोतका अनुसार देउवाले सरकारबाट नहटे बिनाविभागीय बनाउने निष्कर्ष दाहाललाई सुनाएका थिए । त्यसपछि दाहालले बैठक बोलाएर सरकारबाट बाहिरिने निर्णय लिने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

‘एमालेसँग चुनावी तालमेल मात्रै भएको भए केही हुन्थेन, तर पार्टी एकताको घोषणा भइसकेका कारण मलाई अप्ठ्यारो भयो, असुविधा भयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अझै नहट्ने हो भने म तपार्इंका सबै मन्त्रीलाई बिनाविभागीय बनाउँछु ।’

प्रधानमन्त्रीसितको भेटलगत्तै दाहालले पार्टीको संसदीय दलको कार्यालयमा बैठक बोलाए । बिनाविभागीय बनाउनुअघि नै सरकारबाट बाहिरिने निर्णय राजनीतिक हुने भन्दै माओवादीले सरकारबाट हट्ने निर्णय लिएको थियो । निर्णयलगत्तै माओवादीका मन्त्रीहरू बिदाइ कार्यक्रम राख्न हतारहतार मन्त्रालय दौडिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनको आयोजना नै गरे । पत्रकार सम्मेलन चल्दाचल्दै सरकारबाट नहट्ने निर्णय माओवादीले पठायो ।

माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय गरे पनि त्यसबारेमा वाम गठबन्धन दलसँग छलफल भएको थिएन । खासगरी एमालेसँग छलफलबिनै माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय लिएको थियो । जब उक्त निर्णय माओवादी केन्द्रले एमाले नेता केपी ओलीलाई सुनायो, लगत्तै सरकारबाट नहट्ने निर्णय आइपुग्यो ।

‘चुनावी रणनीतिका लागि पनि सरकारबाट हट्ने निर्णय गर्न हुन्न, यो निर्णय सच्याइहाल्नुहोस् भन्ने केपी ओलीको आग्रहलगत्तै माओवादी केन्द्रले ‘युटर्न’ गरेको हो,’ स्रोतले भन्यो, ‘सरकारबाट हटे वाम गठबन्धनमा असर गर्नेसम्मको चेतावनी ओलीले दिएका थिए ।’ आफ्नै निर्णयबाट ‘युटर्न’ हुनुपरेको कारण जनाउँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई सरकारबाट नहट्ने निर्णय सुनाए । त्यसपछि आक्रोशित देउवाले कांग्रेसका केही मन्त्री र शीर्ष नेतासँग छलफल गरी माओवादी मन्त्रीहरूलाई बिनाविभागीयमा राख्दै मन्त्रिमण्डल हेरफेर र कार्यविभाजन गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माले सरकारको निर्णयमा निर्वाचन आयोगबाट निर्वाचन मिति सार्ने सूचना पाएको कारण जनाउँदै सत्ताबाट फिर्ता नहुने निर्णय लिइएको बताएका थिए । ‘नयाँ निर्वाचन मितिबारेमै हामीलाई आयोगबाट जानकारी आयो,’ गृहमन्त्री शर्माको भनाइ थियो, ‘त्यसैका कारण माओवादी केन्द्रले सरकारबाट नहट्ने निर्णय लिएको हो ।’

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सरकारले निर्वाचन मिति सार्ने कल्पनासम्म नगरेको बताए । माओवादीको दाबी झूट भएको बताउँदै कार्कीले भने, ‘पहिलो चरणको चुनावका लागि करिब उम्मेदवारको टुंगो लगाइसकेको अवस्थामा हामीबाट निर्वाचन सार्ने कल्पनै छैन,’ उनले भने, ‘निर्वाचनको मिति सर्दैछ भनेर जनतालाई अन्योलमा पार्ने काम स्वयं प्रतिपक्ष र माओवादीबाट भइरहेको छ ।’

प्रकाशित : आश्विन ३१, २०७४ १७:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कम्यूनिष्ट अधिनायकवाद ल्याउने प्रयत्न हुँदैछ : देउवा

पौडेल भन्छन्– ‘गठबन्धनले लोकतन्त्रवादीहरुलाई झस्कायो’
कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई समाप्त पार्ने उद्देश्यका साथ बामगठबन्धन निर्माण भएको बताउँदै त्यसविरुद्ध लोकतन्त्रवादीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

नेविसंघले मंगलबार आयोजना गरेको राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले ‘कम्यूनिष्ट अधिनायक’ विरुद्ध एकजुट भएर सामना गर्न विद्यार्थी कार्यकर्ताहरुलाई आग्रह गरे । ‘कांग्रेसलाई सिध्याउन कम्यूनिष्ट गठबन्धनको निर्माण भएको हो । कांग्रेस कमजोर बनाएर एकदलीय अधिनायकबाद स्थापना गरी सर्वसत्ताबाद लाद्ने प्रपञ्चका बिरुद्धका हामी एकजुट भएर भिड्नु पर्छ,’ देउवाले भने, ‘यो सामान्य घटना होइन । यसलाई गम्भीर रुपमा लिएर जनतालाई बुझाउने काम गरौं ।’

देशभरबाट प्रशिक्षण कार्यक्रममा आएका नेविसंघका विद्यार्थीहरुलाई देउवाले अहिलेको चूनौति सामाना गर्न जुझारु भएर भिड्न समेत निर्देशन दिए । दश वर्षभित्र कम्यूनिष्ट शासन व्यवस्था ल्याउने उदघोष गरेर बनेको गठबन्धनले लोकतन्त्रवादीहरुलाई झस्काएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्यूनिष्टहरु अवसरवादी सिद्धान्तको आडमा हुर्किएको बताए । ‘कम्यूनिष्टहरु भनेका अवसरवादी चरित्र भएका तत्व हुन । सिद्धान्तको कुनै टुंगो छैन । निर्दलको पक्षमा लहर आउँदा निर्दलकै पक्षमा कम्यूनिष्टहरु गए, जातीवाद, क्षेत्रीयतावादको लहर आउँदा त्यतै गए,’ पौडेलले भने, ‘कम्यूनिष्टहरु मौसमअनुसार चोला बदल्छन् ।’ उनले कम्यूनिष्टहरुले चोला बदलेकै कारण २००७ सालको क्रान्तिले ल्याएको प्रजातान्त्रिक व्यवस्थाको हत्या भएको बताए ।

महामन्त्री सशांक कोइरालाले बीपी कोइरालाले १८ वर्षसम्म कम्यूनिष्ट नहुनेलाई हृदय नभएको र २५ बर्षसम्म पनि कम्यूनिष्ट भएकालाई दिमाख नभएको भन्ने गरेको स्मरण गर्दै भने, ‘विश्वबाट हराइसकेको कम्यूनिष्ट व्यवस्था आउँछ भन्नु त्यस्तै दिमाख नभएकाहरुको उपज मात्रै हो ।’ उनले लोकतन्त्रवादीहरुलाई कमजोर बनाउन भएको कम्यूनिष्ट गठबन्धनविरुद्ध सिंगो पार्टी एक भएर अघि बढ्नु पर्ने अवस्था आएको बताए ।

प्रशिक्षणमा चुनावका बेला जनता माझ कस्ताकस्ता मुद्दा लिएर जाने र विपक्षी गठबन्धनसँग बैचारिक मुद्दामा कसरी प्रतिरोध गर्ने भन्ने बिषयमा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य र धनराज गुरुङले प्रशिक्षण दिएका थिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले देशव्यापी रुपमै नेविसंघलाई चुनावी अभियानमा खटाउन रणनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको बताए । उनले विपक्षी गठबन्धनले उठाएका मुद्दाहरुको खण्डन गर्दै चुनावी मुद्दा लिएर जिल्लाजिल्ला जाने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशरणमहत, कृषि मन्त्री रामकृष्ण यादव, सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलगायतले कांग्रेसको पक्षमा जनलहर ल्याउनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा नेविसंघको समूह खटाउन आग्रह गरे ।

प्रकाशित : आश्विन ३१, २०७४ १७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT