१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कम्युनिस्ट अधिनायकवाद ल्याउने प्रयत्न हुँदै छ : देउवा

कम्युनिस्टहरू मौसमअनुसार चोला बदल्छन् : पौडेल
कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई समाप्त पार्ने उद्देश्यसाथ बाम गठबन्धन निर्माण भएको बताउँदै त्यसविरुद्ध लोकतन्त्रवादीहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

कम्युनिस्ट अधिनायकवाद ल्याउने प्रयत्न हुँदै छ : देउवा

नेविसंघले मंगलबार आयोजना गरेको राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा देउवाले ‘कम्युनिस्ट अधिनायकवाद’ विरुद्ध एकजुट भएर सामना गर्न विद्यार्थी कार्यकर्ताहरूलाई आग्रह गरे । ‘कांग्रेसलाई सिध्याउन कम्युनिस्ट गठबन्धनको निर्माण भएको हो ।

कांग्रेस कमजोर बनाएर एकदलीय अधिनायकवाद स्थापना गरी सर्वसत्तावाद लाद्ने प्रपञ्चविरुद्ध एकजुट भएर भिड्नुपर्छ,’ देउवाले भने, ‘यो सामान्य घटना होइन । यसलाई गम्भीर रूपमा लिएर जनतालाई बुझाउने काम गरौं ।’

देशभरबाट प्रशिक्षण कार्यक्रममा आएका नेविसंघका विद्यार्थीलाई देउवाले अहिलेको चुनौती सामना गर्न जुझारु भएर भिड्नसमेत निर्देशन दिए । १० वर्षभित्र कम्युनिस्ट शासन व्यवस्था ल्याउने उद्घोष गरेर बनेको गठबन्धनले लोकतन्त्रवादीलाई झस्काएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरू अवसरवादी सिद्धान्तको आडमा हुर्किएको बताए । ‘कम्युनिस्टहरू भनेका अवसरवादी चरित्र भएका तत्त्व हुन् । सिद्धान्तको कुनै टुंगो छैन ।

निर्दलको पक्षमा लहर आउँदा त्यसकै पक्षमा कम्युनिस्टहरू गए, जातिवाद, क्षेत्रीयतावादको लहर आउँदा त्यतै गए,’ पौडेलले भने, ‘कम्युनिस्टहरू मौसमअनुसार चोला बदल्छन् ।’ उनले कम्युनिस्टहरूले चोला बदलेकै कारण २००७ सालको क्रान्तिले ल्याएको प्रजातान्त्रिक व्यवस्थाको हत्या भएको बताए ।

महामन्त्री शशांक कोइरालाले बीपी कोइरालाले १८ वर्षसम्म कम्युनिस्ट नहुनेलाई हृदय नभएको र २५ वर्षसम्म पनि कम्युनिस्ट भएकालाई दिमाख नभएको भन्ने गरेको स्मरण गर्दै भने, ‘विश्वबाट हराइसकेको कम्युनिस्ट व्यवस्था आउँछ भन्नु त्यस्तै दिमाख नभएकाहरूको उपज मात्रै हो ।’ उनले लोकतन्त्रवादीहरूलाई कमजोर बनाउन भएको कम्युनिस्ट गठबन्धनविरुद्ध सिंगो पार्टी एक भएर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

प्रशिक्षणमा चुनावका बेला जनतामाझ कस्ताकस्ता मुद्दा लिएर जाने र विपक्षी गठबन्धनसँग वैचारिक मुद्दामा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य र धनराज गुरुङले प्रशिक्षण दिएका थिए । नेविसंघ अध्यक्ष नैनसिंह महरले देशव्यापी रूपमै नेविसंघलाई चुनावी अभियानमा खटाउन रणनीतिक प्रशिक्षण आयोजना गर्नुपरेको बताए ।

उनले विपक्षी गठबन्धनले उठाएका मुद्दाहरूको खण्डन गर्दै चुनावी मुद्दा लिएर जिल्ला–जिल्ला जाने बताए । कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशरण शरण महत, कृषिमन्त्री रामकृष्ण यादव, सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलगायतले कांग्रेसको पक्षमा जनलहर ल्याउन प्रत्येक निर्वाचन क्षेत्रमा नेविसंघको समूह खटाउन आग्रह गरे ।

प्रकाशित : आश्विन ३१, २०७४ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?