कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीको अन्योल : मन्त्रीलाई बिदा गर्ने कि नगर्ने ?

चुनावी तालमेलका लागि गठबन्धन गरेका हौं, समर्थन फिर्ता लिएका छैनौं : महरा
चन्द्रशेखर अधिकारी

काठमाडौं — मंगलबार माओवादीले सरकार छाड्ने/नछाड्ने संशयबीच परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफू सरकारबाट निस्किन पार्टीको निर्णय पर्खिरहेको बताए ।

कर्मचारीको अन्योल : मन्त्रीलाई बिदा गर्ने कि नगर्ने ?

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी भएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महराले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै वामपन्थी एकताको बचाउ गरे । उनले छोटो समय परराष्ट्रमन्त्रीका रूपमा रहँदा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए । पत्रकार सम्मेलनको केही घण्टामा नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरे र महरा बिना विभागीय मन्त्री बनाइए ।

माओवादीभित्र सरकार र प्रतिपक्ष दुवैमा खुट्टा राखेर अघि बढ्न नहुने मत राख्दै आएका महराले मंगलबार पनि प्रधानमन्त्री देउवासँग कुराकानी गरेका थिए । त्यसो त देउवासँग राम्रो सम्बन्ध भएका माओवादी नेता मानिने महरा सोमबारदेखि नै मन्त्रालय आउन छाडिसकेका थिए । मंगलबार पनि मन्त्रालय नआउने भन्दै उनले राष्ट्रसंघको विजयबारे पत्रकार सम्मेलन गरी जानकारी गराउन सचिव र सहसचिवलाई निर्देशन दिएका थिए । तर पार्टी सरकारबाट बाहिरिने भनिएपछि त्यसैबारे जानकारी दिन उनी मन्त्रालय आएको परराष्ट्र अधिकारीहरूले बताए ।

अधिकारीहरूका अनुसार सरकारमा माओवादीको नेतृत्व गरिरहेका महरा आफ्नो पार्टी सरकारबाट बाहिरिएको घोषणा गर्ने तयारीसाथ पत्रकार सम्मेलनमा आएका थिए । तर, उनी आइनपुग्दै पार्टीले सरकारबाट फिर्ता नहुने निर्णय लियो ।

उनले आफ्नो पार्टीको ध्यान समयमा निर्वाचन होस् भन्ने रहेको बताए । बरु सरकारको एक घटक माओवादीलाई थाहा नदिई मन्त्री थपिनुलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको बताए ।

संसद नै नभएको अवस्थामा कुनै दलले सरकारलाई समर्थन गर्नु र नगर्नुको कुनै अर्थ नभए पनि उनले पुराना सहमतिअनुसार नै समर्थनमै रहेको स्पष्ट पारे । महराले प्रधानमन्त्री देउवाको कदमको कुनै आलोचना नगरी भने, ‘हामीले चुनावी तालमेल गरेका हौं । सरकारबाट फिर्ता हुन होइन । यो विषय गठबन्धनले पनि सोचेको हुनुपर्छ ।’

महराले कूटनीतिक सम्बन्ध सुदृढ बनाउनेदेखि अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुँदा प्रधानमन्त्रीको साथ र समर्थन पाएको भन्दै देउवाको प्रशंसा गरे ।

दुवै छिमेकी मुलुकसँग आफ्नो कार्यकालमा सम्बन्ध सुदृढ भएको दाबी उनले गरे । पत्रकार सम्मेलन सकेर महरा मन्त्रालय नबसी फर्किए । परराष्ट्र अधिकारीहरू भने महरालाई बिदाइ गर्ने कि नगर्ने अन्योलमा थिए । महराले कर्मचारीहरूलाई धन्यवाद दिएर बिदा भए पनि यही अन्योलका कारण कर्मचारीहरूले उनको बिदाइ गरेनन् ।

प्रकाशित : आश्विन ३१, २०७४ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?