१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अध्यादेशबाट विधेयक ल्याउन केसीको माग

अतुल मिश्र

काठमाडौं — चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १३ औं पटक अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने अडान लिएका छन् ।

अध्यादेशबाट विधेयक ल्याउन केसीको माग

‘सरकारले अध्यादेशमार्फत आमनेपाली जनताको हित र मेडिकल माफियाका विरुद्घमा रहेको विधेयक ल्याउनैपर्छ,’ उनले मंगलबार कान्तिपुरसँग भने, ‘सबै माग पूरा नभए अनशन जारी रहन्छ ।’

सरकारद्वारा गठित वार्ता टोलीको सरकार र प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सम्बन्ध नरहेको केसीको दाबी छ । ‘वार्ता टोलीमा कर्मचारीहरू हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू नै प्रमसँग भेट्नसमेत पाउनुहुन्न, कसरी समाधान गर्नुहुन्छ ?’ सरकारी टोली र केसीबीच मंगलबार कुनै वार्ता भएन ।

प्रधानमन्त्रीले गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै केसीले केदारभक्त माथेमालगायत थुप्रै व्यक्तिले सम्पर्क गर्न खोज्दा प्रधानमन्त्री सम्पर्कविहीन भएको आरोप लगाए । नभेटदैमा समस्या समाधान नहुने औंल्याउँदै उनले यस्ता क्रियाकलापको असर चुनावमा समेत पर्ने बताए ।

‘प्रम देउवा, पार्टी, नेता गैरजिम्मेवार भए पनि म हुन सक्दिनँ’, केसीले भने, ‘नागरिकका हैसियतले जनताप्रतिको कर्तव्य पूरा गर्छु, माग पुरा नभएसम्म सत्याग्रह जारी राख्छु ।’

सरकारसँग वार्ताका लागि केसीका प्रतिनिधि ओमप्रकाश अर्यालका अनुसार यसअघि प्रस्तुत सहमतिको मार्गचित्र ‘ललीपप’ जस्तै भएको भन्दै केसीले स्विकारेनन् । प्रस्ताव १४ औं पटक सत्याग्रह गर्नुपर्ने अवस्थाको नभई ठोस रूपमा आउनुपर्ने उनको भनाइ थियो ।

‘हिजो सरकारी पक्षले हामीले गर्न सक्ने यति हो भनेर सहमतिको एउटा खेस्रा प्रस्तुत गर्‍यो जसलाई सरले मान्नु भएन,’ डा. अभिषेकराज सिंहले भने, ‘आज (मंगलबार) दिनभर उहाँहरू (सरकारी पक्ष) भेट्न आउनुभएन न त जवाफ फर्काउनुभयो ।’

सरकारी पक्षद्वारा प्रस्तुत सहमतिको दस्तावेजमा चिकित्साशिक्षा विधेयकबारे केही उल्लेख नभएको र अन्य मागबारे समेत आश्वासन मात्रै रहेको केसी पक्षको वार्ताटोलीको दाबी छ ।

१३ दिनदेखि त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत केसीको स्वास्थ्यस्थिति निरन्तर खस्किरहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : आश्विन ३१, २०७४ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?