१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दलीय एकताले तात्यो चुनावी माहोल

कांग्रेस र लोकतान्त्रिक फोरमबीचको पछिल्लो एकीकरणले मोरङ र सुनसरीको चुनाव पेचिलो बन्ने संकेत
लीलावल्लभ घिमिरे

विराटनगर — चुनावी तालमेल र पार्टी एकता लगायतका समीकरणले मोरङ र सुनसरीको निर्वाचन पेचिलो हुने संकेत देखिएको छ । कांग्रेस र लोकतान्त्रिक फोरमबीचको पछिल्लो एकीकरणले यी दुई जिल्लाको चुनाव नतिजा प्रभावित त हुने नै छ, एमाले–माओवादी केन्द्र गठबन्धनको असर पनि कम्ती पर्ने छैन ।

दलीय एकताले तात्यो चुनावी माहोल

पछिल्लो एकताले कांग्रेसलाई फाइदा पुग्नेछ । यस क्षेत्रमा राम्रो प्रभाव जमाएका विजयकुमार गच्छदारको आगमनसँगै मोरङका क्षेत्र २, ४, ५ र ६ को परिणाम आफ्नो पक्षमा आउने कांग्रेसको दाबी छ ।

सुनसरीका चार निर्वाचन क्षेत्रमा पनि गच्छदारको आगमनले फाइदा पुग्ने कांग्रेस पार्टी सभापति राजीव कोइरालाले बताए । क्षेत्र नम्बर १, २, ३ र ४ मा गच्छदारको राम्रो प्रभाव छ । गत निर्वाचनमा क्षेत्र नम्बर ३ बाट गच्छदार विजयी भएका थिए । एमाले–माओवादी केन्द्रको बेग्लै दाबी छ । दुई दलबीचको चुनावी गठबन्धन विजयका लागि पर्याप्त हुने ती दलका नेताले बताए । तर संघीय समाजवादी र राजपासँग समेत कांग्रेसले चुनावी तालमेल गर्‍यो भने बाम गठबन्धनका लागि चुनौती हुने पक्का छ । 

गच्छदारको पार्टी प्रवेशले मोरङ क्षेत्र ४ र ६ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धनलाई असर पर्ने देखिन्छ । क्षेत्र ४ मा लोकतान्त्रिक फोरमको सांगठनिक अवस्था बलियो छ । क्षेत्र ६ गच्छदारको निर्वाचन क्षेत्र हो । एकीकरणपछि गच्छदार सुनसरी ३ बाट निर्वाचनमा सहभागी हुने आँकलन छ ।

६ क्षेत्र रहेको मोरङमा कांग्रेसका चारजना केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा आउनेछन् । क्षेत्र १ बाट कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू उम्मेदवार बन्ने भएका छन् । २ बाट अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र ३ बाट महासमिति सदस्य सुनील शर्माको सम्भावना छ ।

यहाँ कांग्रेस जिल्ला समिति कोषाध्यक्ष गोपाल थापा पनि आकांक्षी देखिएका छन् । क्षेत्र ४ बाट केन्द्रीय सदस्य महेश आचार्य चुनावी मैदानमा ओर्लने छन् । क्षेत्र ५ बाट केन्द्रीय सदस्य अमृत अर्यालको सम्भावना छ । संघीय समाजवादी फोरमसँग समीकरण भए यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव आफंै निर्वाचन लड्ने तयारीमा छन् । फोरम जिल्ला अध्यक्ष राजकुमार यादवले आफ्ना केन्द्रीय अध्यक्ष यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको बताए । अघिल्लो निर्वाचनमा साबिकको सुनसरी ५ र मोरङ ५ बाट यादव उम्मेदवार बनेका थिए ।

मोरङ ६ बाट कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक फोरमका मतदाता उल्लेख्य रहेकाले त्यहाँ एकीकरणको फाइदा कांग्रेसलाई हुने देखिन्छ । यो क्षेत्रमा एमालेका लालबाबु पण्डित उम्मेदवार बन्ने सम्भावना छ ।

टिकट लिन राजधानी
खोटाङ– दलका नेता टिकटको होडबाजीमा काठमाडौं केन्द्रित भएका छन् । प्रमुख दल कांग्रेस र एमालेका नेता राजधानी गएपछि जिल्लामा चुनावी गतिबिधी शून्य छ । कांग्रेसमा नरेशकुमार श्रेष्ठ, विष्णुकुमार राई, शिवकुमार बस्नेत, सर्वधन राई, सरस्वती बजिमय, हीरा गुरुङ, सुवासकुमार पोखरेल र रविप्रकाश राईलगायतका नेता टिकटको लबिङमा गएका छन् । क्षेत्र १ बाट प्रदेशसभाको प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ र सुवासकुमार पोखरेलको मुख्य दाबी छ । क्षेत्र नं २ बाट प्रत्यक्षमा विष्णुकुमार राई र रविप्रकाश राईका बीचमा रस्साकसी चलिरहेको छ । 

प्रतिनिधि सभामा शिवकुमार बस्नेत, सर्वधन राई र सरस्वती बजिमयमध्ये कसले टिकट पाउने भन्नेमा मुख्य प्रतिस्पर्धा छ । एमालेमा क्षेत्र नं १ बाट विशाल भट्टराई, पाँचकर्ण राई, उषाकला राई, राजन राईलगायतका नेता टिकटका लागि काठमाडौं गएका छन् । 

प्रकाशित : कार्तिक १, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?