बिरामीको रगत तान्दै फोहोरमा फाल्दै, ल्याबहरुले आफूखुसी दिन्छन् रिपोर्ट

अवधेशकुमार झा

राजविराज — सप्तरी सदरमुकाम राजविराजस्थित केही ल्यावले बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिने गरेको पाइएको छ ।

बिरामीको रगत तान्दै फोहोरमा फाल्दै, ल्याबहरुले आफूखुसी दिन्छन् रिपोर्ट

जिल्ला समन्वय समिति कार्यालयको गेटअघि मंगलबार दिउँसो व्यस्त सडकमा फालिएको फोहोरको थुप्रोमा सयवटा भन्दा बढी रगत भरेको सिरिन्ज फेला परेको थियो । कार्टुनभित्र राखेर फालिएको देखेपछि सर्वसाधारणको भीड लागेको थियो । विभिन्न रोगसम्बन्धी समस्या लिएर डाक्टरसित उपचार गर्ने बिरामीलाई रगत जाँचका लागि डाक्टरले भन्ने गरेपछि बिरामी ल्यावमा रगत जचाउन जाने गरेका छन् । रगतको नमुना परीक्षणै नगरी फालिएको अवस्थामा देखिएको जनस्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकृत छेदीप्रसाद यादवले बताए ।

‘बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिने काम जघन्य अपराध हो’ यादवले भने, ‘कुन ल्यावले यस्तो गरेको हो अनुसन्धान गरिरहेका छौं ।’ राजविराजका अधिकांश ल्यावहरु अनाधिकृत रुपमै सञ्चालन हुँदै आएको छ । ‘बिरामीको रगत तानेर फाल्दै आफूखुसी रिपोर्ट दिनु अपराध हो’ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डा. रन्जितकुमार झाले भने, ‘यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ उनले बिरामी मानिसको रगत तानेर बिच बाटोमा फालिँदा उक्त बाटो भएर हिँड्ने स्वस्थ मानिसमा पनि प्राणघातक रोगहरु फैलिने खतरा बढेको बताए ।

‘फालिएको रगत कुन रोगका बिरामी को हो, ती सिरिन्जको सुई स्वस्थ मानिसको खुट्टामा घोचिए एचआईभी, हेपाटाईटिस 'बी' र 'सी' लगायत प्राणघातक रोगको संक्रमण फैलिने खतरा पनि उत्तिकै छ’ डा झाले भने, ‘रगत लामो समयसम्म असुरक्षित तरिकाले फालिँदा कुहिएर अन्य रोगको संक्रमण फैलिने खतरा पनि उत्तिकै छ ।’

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले रगत तानेर फालिएको घटनाका विषयमा अनुसन्धान गर्न एकजनालाई नियन्त्रणमा लिइएको बताए ।

प्रकाशित : कार्तिक १, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?