कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

डा. केसीले प्रधानमन्त्रीलाई भने– ६ गतेभित्र माग पूरा हुनुपर्छ
अतुल मिश्र

काठमाडौं — आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले हाड भाँच्चिएकी १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह–पानी पिएर केसीले अनशन तोडेका हुन् ।

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् ।

सरकारले गरेको सहमतिअनुसार शैक्षिक वर्ष २०७४/७५ का लागि एमबीबीएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क लिएर भर्ना सुनिश्चित गर्न शिक्षा मन्त्रालयले कात्तिक ६ गते सार्वजनिक सूचना प्रकाशित र पत्राचार गर्नेछ । यसको तत्काल फाइदा एमबीबीएसका विद्यार्थीलाई हुनेछ ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नेबारे समेत काम अगाडि बढाउने सहमति भएको छ । काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धन प्रकरणसँग सम्बन्धित त्रिविका उपकुलपति तीर्थ खनियाँलगायत पदाधिकारीमाथि छानबिनका लागि विशेष अदालतका पूर्वमुख्य न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगमा कात्तिक ६ गते लेखेर पठाउने र आयोगको सिफारिसअनुसार कारबाही गर्ने सहमतिसमेत भएको छ । डा. केसीसँग सरकारको हालसम्म भएका सम्झौता र सहमति कार्यान्वयनको अवस्था अनुगमनका लागि गठित उच्चस्तरीय अनुगमन समितिमा एक जना प्रतिनिधि थप गरिनेछ ।

सहमतिपत्रमा डा. केसी र सरकारी वार्ता समितिका संयोजक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिन ङइन्द्रप्रसाद उपाध्यायले स्वास्थ्यमन्त्री दीपक बोहरा, स्वास्थ्य सचिव डा. किरण रेग्मीलगायतका उपस्थितिमा हस्ताक्षर गरेका छन् । डा. केसीले हस्ताक्षरलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग संक्षिप्त कुराकानीसमेत गरे । ‘हयान्ड्स फ्रि’ गरिएको फोनवार्तामा डा. केसीले भने सहमति अक्षरश: पालना गर्न आग्रह गरे । ‘६ गते मन्त्रिपरिषदको बैठकबाट अध्यादेश जारी गर्ने र सहमति अनुमोदन गर्ने काम भएन भने ८ गतेदेखि फेरि सत्याग्रह थाल्छु,’ उनले भने ।

२०६९ असार २१ गते पहिलो आमरण अनशन सुरु गरेका डा. केसीले १३ औं पटकसम्म गरी १ सय ६० दिन अनशन बसिसकेका छन् ।

१) चिकित्सा शिक्षा सम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ तथा सत्याग्रहका मागहरु बमोजिम माननीय उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठज्यूले व्यवस्थापिका संसदको सचिवालयमा पेश गर्नु भएको संशोधन सम्बन्धी प्रस्तावका बुँदाहरुलाई समाविष्ट गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्नका लागि मिति २०७४।७।६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्ने ।

२) मध्यम र निम्नमध्यम वर्गका सबै नेपालीहरुका लागि सम्पूर्ण स्वास्थ्य उपचार र सम्पूर्ण विद्यार्थीहरुका लागि शिक्षा गुणस्तरीय, नि:शुल्क वा सस्तो र सर्वसुलभ गर्ने सम्बन्धका कतिपय विषयवस्तु राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा समाविष्ट गरिएको हुँदा यस सम्बन्धी थप विषयवस्तु नियमावली तथा निर्देशिकामा समेत समावेश गर्ने ।

३) (क) नेपाल सरकार मन्त्रिपरिषद् सामाजिक समितिको मिति २०७२।५।३१ को निर्णयानुसार शैक्षिक वर्ष २०७४/७५ का लागि एमबीबीएसतर्फ कायम गरिएको शुल्क (उपत्यकाभित्र रु. ३४ लाख ५० हजार, उपत्यका बाहिर रु. ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२) लाई भर्ना सुनिश्चित गर्न शिक्षा मन्त्रालयले मिति २०७४।७।६ गते सार्वजनिक सूचना प्रकाशन गर्ने र पत्रााचार गरी निर्देशन दिने ।

(ख) मेडिकल र डेन्टल कलेजहरुको सम्बन्धन (विस्तारित) र नयाँ कार्यक्रम समेत), परीक्षा शुल्क र सिट संख्या निर्धारण लगायत अन्य कार्यहरुका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलका पदाधिकारीबाट हालसम्म भए गरेका काम कारबाही तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका चिकित्सा शिक्षाका परीक्षा र विद्यार्थी भर्नामा भएका विवादित गतिविधि समेतका विषयमा जाँचबुझका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विशेष अदालतका पूर्व मुख्य न्यायाधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन भई कार्यरत रहेको हुँदा काठमाडौं विश्वविद्यालयले नेपाल सरकारबाट एमबीबीएस तथा बीडीएस आयोग गठन भई कार्यरत निर्धारित शुल्क भन्दा बढी शुल्क लिई भनाृ गरेको भन्ने विषयका सम्बन्धमा समेत छानबिनका लागि सो आयोगमा लेखी पठाउने ।

(ग) नेपाल सरकार मन्त्रिपरिषदो मिति २०७२।५।३१ को निर्णयानुसार देशका सबै निजी कलेजमा स्नातकोत्तर तहमा हाल काठमाडौं विश्वविद्यालयले लिने गरेको शुल्क सरह रु. २३ लाख तोक्ने साथै सो वापत सम्बन्धित कलेजले समुचित निर्वाह भत्ता दिनुपर्ने ।

(घ) काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन प्रकरणसँग सम्बन्धित त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायत पदाधिकारीका गरेमा छानबिनका लागि विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगमा मिति २०७४।७।६ मा लेखी पठाउने र सो आयोगको सिफारिस बमोजिमको कारबाही गर्ने ।

(ङ) चिकित्सा शास्त्र अध्ययन संस्थानलाईथप स्वायत्तता प्रदान गर्ने सन्दर्भमा सो अध्ययन संस्थानको च.नं. ६६ मिति २०७४।४।२० को पत्रसाथ संलग्न स्वायत्तता सम्बन्धी प्रस्ताव बमोजिम सम्बन्धित नियममा संशोधन गर्नका लागि त्रिभुवन विश्वविद्यालयको आगामी सभामा प्रस्ताव पेश गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई त्रिवि ऐन बमोजिम मिति २०७४।७।६ गते निर्देशन दिने ।

(४) (क) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन अध्यापन सुरु गर्ने गरी बजेट लगायतका विषयमा स्वास्थ्य मन्त्रालय मार्फत कारबाही अगाडि बयाउने ।

(ख) सातै प्रदेशमा एक/एक वटा मेडिकल कलेज खोल्ने पहल अन्तर्गत प्रदेश नं. १ मा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान संचालन रहेको, प्रदेश नं. २ मा बर्दिवास महोत्तरीमा प्रस्तावित मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा विकशित गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सभाबाट अनुमोदन भई स्थापनाको चरणमा रहेको, प्रदेश नं. ३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, काठमाडौं, त्रि.वि. शिक्षण अस्पताल संचालनमा रहेको, प्रदेश नं. ४ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भइ स्थापनाको चरणमा रहेको, प्रदेश नं. ५ मा रुपन्देहीमा प्रस्तावित मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा विकशित गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सभाबाट अनुमोदन भई स्थापनाको चरणमा रहेको साथै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ सम्बन्धी ऐन पारित भई स्थापनाको चरणमा रहेको, प्रदेश नं. ६ मा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा रहेको र सुर्खेतमा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि मध्यपश्चिम विश्वविद्यालयको आंगिक कलेजको रुपमा विकशित गर्ने गरी मध्यपश्चिम विश्वविद्यालयको सभाबाट अनुमोदन भई स्थापनाको चरण्मा रहेको, प्रदेश नं. ७ मा गठन आदेश मार्फत् मेटा मेडिकल कलेज, कैलाली शिक्षण अस्पताल तथा अन्य भवनको प्लिन्थ लेभलसम्मको निर्माण भई सकेको हुँदा उल्लिखित सबै मेडिकल कलेज वा प्रतिष्ठानलाई दुत गतिमा स्थापना तथा विकास गरी संचालन गर्ने तथा आगामी आर्थिक वर्षबाट इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य प्रारम्भ गर्ने ।

(५) नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका नियम प्रमुख लगायतका पदाधिकारी तथा संलग्न व्यक्तिहरुका सम्बन्धमा छानविन तथा कारवाही गरियोस् भन्ने मागका सम्बन्धमा साधिकार निकायबाट गरिने छानविन तथा अनुसन्धानमा हयोग गर्ने ।

(६) चिकित्सकहरूको हक हित र सेवा सुविधाका लागि राखिएका मागहरु पूरा गर्ने सन्दर्भमा स्वास्थ्य र नेपाल चिकित्सक संघ विच कायम भएको समझदारी अनुरुपमा कार्यहरु यथाशीघ्र पूरा गर्ने गराउने पहल गर्ने ।

(७) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन स्विकृति दिँदा भूगोल, जनसंख्या र आवश्यकताका आधारमा नक्शांकन गरी सम्पूर्ण पूर्वाधार सम्बन्धी मापदण्ड पूरा गरेको खण्डमा मात्र सम्बन्धन स्वीकृति प्रदान गर्ने गरी मौजुदा नीति परिमार्जन गरी कार्यान्वयन गर्ने गराउने ।

(८) विगतदेखि हालसम्म भएका सम्झौता र सहमतिहरु कार्यान्वयन अवस्था अनुगमनका लागि गठित उच्चस्तरीय अनुगमन समितिमा एकजना प्रतिनिधि थप गर्ने ।

(९) यस सहमतिलाई २०७४ कात्र्तिक ६ गते बस्ने मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरी नेपाल सरकारले स्वामित्व ग्रहण गर्ने ।

(१०) आजैका मितिदेखि सत्याग्रह अन्त्य गर्ने ।

प्रकाशित : कार्तिक १, २०७४ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?