कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव तोकिएकै मितिमा : आयोग

निर्वाचनमा कुनै हेरफेर हुन्न
सर्वोच्चको आदेश निर्वाचनका लागि सहयोगी : प्रमुख निर्वाचन आयुक्त
राजेश मिश्र

काठमाडौं — निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते निर्धारित मितिमा हुनेमा ढुक्क रहन आग्रह गरेको छ । राजनीतिक वृत्तबाट चुनाव सारिने खालका आशंकासहितको हल्ला चलाइएपछि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारेको हो ।

चुनाव तोकिएकै मितिमा : आयोग

मतपत्र छपाइ सम्बन्धमा सर्वोच्च अदालतले समेत आयोगलाई सहयोग पुग्ने गरी बुधबार आदेश गरेपछि आयोग थप हौसिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्चको आदेशले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तिथिमिति र व्यवस्थापनमा कुनै प्रभाव नपार्ने बताए । ‘सर्वोच्चको आदेशको पूर्ण पाठ त हामीले पाइसकेका छैनौं ।

तर, सञ्चार माध्यमले दिएको समाचार पढदा सर्वोच्चको आदेश आगामी निर्वाचनका लागि सहयोगी देखिएको छ,’ उनले भने । आदेश निर्वाचनमा सकारात्मक प्रभाव पार्ने खालको रहेको उल्लेख गर्दै प्रमुख आयुक्त यादवले सर्वोच्चको आदेश प्राप्त भएपछि आवश्यकताअनुसार निर्णय लिने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै बनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगले एउटै पानाको माथिल्लो भाग मतपत्र १ प्रतिनिधिसभा सदस्य र तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्यको मतपत्र रहने गरी समानुपातिकतर्फको मतपत्र छाप्दै छ । प्रत्यक्षतर्फको मतपत्र पनि त्यसैगरी एउटै पानामा छाप्ने तयारी छ । त्यसविरुद्ध नेता शुक्लले रिट हालेका थिए ।

समानुपातिकतर्फ १ करोड ८० लाख मतपत्र छाप्नुपर्नेमा ९० लाख छापिसकिएको छ । अदालतबाट छापिसकेको मतपत्रसमेत रोक्ने खालको आदेश आएको भए आगामी चुनाव प्रभावित हुने आशंकामा आयोगका पदाधिकारी थिए । तर, छाप्नै बाँकी प्रत्यक्षतर्फको मतपत्रबारे भने सर्वोच्चको आदेशको पूर्ण पाठ हेरेर निर्णय लिन सकिने मनसाय आयोगको छ ।

सर्वोच्चको आदेशलगत्तै गरिएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले कात्तिक ५ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह पनि गरे । उनले निर्वाचन तयारीको अन्तिम चरणमा आयोग पुगिसकेको भन्दै पहिलो चरणमा ३२ जिल्लामा हुने उम्मेदवारी दर्ता कार्यक्रमलाई उत्साहजनक ढंगले सफल बनाउनसमेत आग्रह गरे ।

हिमाली तथा पहाडी जिल्लामा पहिलो चरणमै मंसिर १० मा निर्वाचन हुने कार्यक्रम छ । कुल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदातामध्ये पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मतदान गर्न पाउनेछन् ।

स्थानीय निर्वाचनमा प्रयोग गरिएकै मतपेटिका आगामी निर्वाचनमा प्रयोगमा ल्याइनेछ । यादवले मतदाता शिक्षादेखि, आवश्यक नियम–निर्देशिका निर्माण, निर्वाचन सामग्री व्यवस्थापन, सुरक्षा प्रबन्धलगायत सबै तयारी आयोगले तिव्रतासाथ गरिरहेको पनि बताए ।

प्रकाशित : कार्तिक १, २०७४ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?