निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको आयोगका सचिव नवराज ढकालले जानकारी दिए ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिएका थिए ।

उनले निर्वाचन कार्यक्रमअनुसार गत असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश भएको सो अवसरमा प्रधानमन्त्री देउवालाई अवगत गराए । भेटमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच दीपावली तथा छठलगायतका पर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदानसमेत भएको थियो ।

उक्त अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।

- रासस

प्रकाशित : कार्तिक २, २०७४ १५:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय

नवीन पोखरेल

लन्डन — ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

हाल ब्रिटेनको स्वीन्डनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया श्रीमती कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्केकी छिन् ।

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । उनले २० वर्ष यताको सम्बन्धविच्छेदका लागि श्रीमान्‌सँग कुरा गर्छु भनेकै दिन उनीमाथि श्रीमान्‌ले हमला गरेका थिए । कामनाले आफूले नछोडोस् भनेर श्रीमान्‌ले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।

ब्रिटेनबाट प्रकाशित हुने डेली मेल समाचार पत्रका अनुसार आफूलाई कुटपिट गरेपछि कामनाले आपतकालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । उनले फोनमा कुरा गरिरहेका बेला विकासले उनीमाथि जथाभावी खुकुरी प्रहार गर्न सुरु गरेका थिए र फोनमा रेकर्ड गरिएको उनको चित्कार अदालतमा सुनाइएको थियो । तत्कालै उनको घर पुगेका प्रहरीले कामनालाई रगतको आहालमा भेटेका थिए । त्यसपछि स्वास्थ्यकर्मी आएर उनलाई अस्पताल लगेका थिए । कामनाको शरीरभर घाउ लागेको थियो भने प्रहार रोक्न खोज्दा उनको हात छियाछिया भएको थियो ।

विकासले आवेशमा आएर ज्यानै लिने उद्देश्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेको स्वीकारेको समाचारमा उल्लेख छ । ब्रिटेनले बसोबास गर्न अनुमति दिएपछि ४० हजारभन्दा बढी भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन् । तर, केही वर्षयता घरेलु हिंसाका घटना बढिरहेको भनी ब्रिटिस अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक २, २०७४ १५:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT