कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णालीमा भित्रिएको तिहार

जनक नेपाल

काठमाडौं — हरि–हरि दुबी चौर, दुबै हरियो
घरबेटीले पैसा दिए, पोल्टै भरियो
कालीकोट सदरमुकामस्थित खडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टलाई आफू स्कुले किशोरी हुँदा खेलेको भैलोको सम्झना ताजै छ । तर त्यो भैलो तिहारमा खेलिएको थिएन् ।

कर्णालीमा भित्रिएको तिहार

हरि–हरि दुबी चौर, दुबै हरियो

घरबेटीले पैसा दिए, पोल्टै भरियो

कालीकोट सदरमुकामस्थित खडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टलाई आफू स्कुले किशोरी हुँदा खेलेको भैलोको सम्झना ताजै छ । तर त्यो भैलो तिहारमा खेलिएको थिएन् । न त कर्णालीमा तिहार अहिले जसरी मनाइन्थ्यो । पुसे पूर्णिमामा भैलो खेल्ने चलन थियो । अहिले पनि जुम्ला, कालिकोट, मुगु र तल्लो हुम्लामा पुसे भैलोकै चलन छ । ०३२ सालमा जुम्लाबाट कालीकोट छुट्टिँदासम्म तिहारको उत्तिसारो महत्त्व थिएन । ‘अहिलेको जस्तो तिहार र भैलो–देउसी त्यो बेला खेलिनथ्यो,’ ५४ वर्षीया विष्ट भन्छिन्, ‘सरकारी कर्मचारी र सेना पुलिसले कर्णालीमा दसैं–तिहारको यो माहोल भित्र्याएका हुन् ।’

तिहारमा भाइटीकाको परम्परा हुँदै नभएको भने होइन । सामान्य पर्वका रूपमा धेरै पहिलेदेखि नै चलेको थियो । तर निधारमा सप्तरंगी टीका, सयपत्री र मखमली फूलको माला अनि देउसी–भैलो सुरु भएका भने दुई–तीन दशक मात्र भएको छ । पहिले दाजुभाइलाई टीका लगाउन दिदीबहिनी माइती जान्थे । तर अहिलेजस्तो धेरै चहलपहल हँ‘दैनथ्यो । न त तिहार भनेर परदेश पुगेका दाजुभाइ नै आउँथे । यो एउटा दाजुभाइ भेट्न माइत जाने पर्वझैं मात्र लाग्थ्यो ।

निधारमा सप्तरंगी टीका होइन, भाइटीकालाई ‘दही–चामल’ लाउने भनिन्थ्यो । उपमेयर विष्ट सुनाउँछिन््— दसंै–तिहार जे आए पनि दही, अक्षता र बेसार मिलाएर पहेंलो अक्षता लगाउँथ्यौं । रातो टीका र सप्तरंगी चल्न थालेको तीन दशक जति मात्र भयो ।

तिहारमा झिलिमिली बत्तीको पनि खासै प्रचलन थिएन । हरेक शुभकार्य र कर्मकाण्डमा धुपी बालेको धुपको सुगन्ध फैलिन्थ्यो । रोजगारीका लागि भारत पुगेका व्यक्ति र सरकारी कर्मचारीबाट दीपावली सुरु भयो । न बिजुली थियो न त पर्याप्त तेलबत्तीकै चलन थियो । स्थानीयले तिहारमा दियालो बाल्थे । बिस्तारै दीप हुँदै अहिले कर्णालीका खस बस्तीहरू तिहार नलाग्दै झिलिमिली हुन थालेका छन् । भान्सामा रोटी र अनेक मिष्ठान्न परिकार पाक्न थालेका छन् ।

कर्णाली विकास आयोगका पूर्वअध्यक्ष डा. कलबहादुर रोकाय बितेको २ सय ५० वर्षमा कर्णाली क्षेत्रको संस्कृतिमा धेरै हेरफेर आएको बताउँछन् । ‘कर्णालीका आफ्नै संस्कृतिसमेत परिवर्तन भइसकेका छन्, अन्यत्रका संस्कृति भित्रिएका छन्,’ उनी भन्छन्, ‘हाम्रो तिहार पनि धेरै फेरियो । सामान्य हुन्थ्यो, तामझामले भरिपूर्ण हुँदै विकृतिसमेत भित्रिइसकेको छ ।’

विसं १८४६ सालमा गोर्खा राज्य विस्तार भएर बाईसे राज्य जुम्लासम्म पुग्यो । त्यो बेला कर्णाली क्षेत्र अहिलेको जस्तो अभावग्रस्त थिएन । बाईसे चौबीसे राज्यमध्ये निकै समृद्ध राज्य मानिन्थ्यो । जुम्लाले उत्तरमा तिब्बतको कैलाश मानसरोवरसम्म शासन गर्‍थ्यो । त्यसैले गण्डक पश्चिमको बाईसे राज्यमा जुम्ला सबैभन्दा बलियो र समृद्ध थियो । त्यो बेला जुम्ला राज्यको कतिसम्म सान थियो भने सीमावर्ती तिब्बती राजाले बर्सेनि सुनका सिक्का ‘कुत’ बुझाउँथे । ‘एकीकरणपछि कर्णाली क्षेत्र बिस्तारै पछाडि पर्दै गयो । संस्कृतिमा पनि व्यापक हेरफेर भयो,’ डा रोकाय भन्छन्, आधुनिक युगसँगै नयाँ संस्कृति भित्रिने र पर्व मनाउने होड चल्नु स्वाभाविक हो । तर, मौलिक संस्कृति पनि छाड्नु हुँदैन ।’

जुम्ला सिंजा उपत्यका र वरपरका खस बस्तीमा परापूर्वकालदेखि नै भाइटीका लगाउने चलन रहेको उनी बताउँछन् । तर त्यो परम्परा अहिलेको जस्तो थिएन । दिदीबहिनी सेलरोटी र मह हालेर बनाएका जुम्ली अरसा ‘लादु’ बोकेर दाजुभाइ भेट्न जान्थे । एउटै रंगको टीका लगाइदिएर आशीर्वाद आदानप्रदान गर्थे । परसंस्कृति ग्रहणलाई सहज स्विकारिँदा तिहारको रौनक कर्णालीका गाउँबस्तीसम्मै पुगेको रोकाय बताउँछन् । त्यसले वर्षमा केही दिन गाउँघर झिलिमिली हुने र आम मानिसमा उत्साहको सञ्चार भएको उनी ठान्छन् । भन्छन्, ‘अहिलेको विश्वव्यापीकरणको एउटा उपलब्धि नै यही हो । राम्रा संस्कृति र अभ्यास फैलिइरहेका छन् ।’ जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्लाका तल्लो भेगमा मनाइए पनि लेकाली भेगमा बसोबास गर्ने जनजाति समुदायले अहिले पनि दसैं–तिहार मनाउँदैनन् । तर लामा बाहुल्य रहेका हुम्ला, डोल्पा र मुगुका सदरमुकाम वरपर भने तिहारमा झिलिमिली हुन थालेका छन् ।

लामाहरू आफैं दिदीभाइबीच भाइटीका नलगाए पनि अरू समुदायले ‘धर्म दाजुभाइ’ मान्छन् । मितेरी सम्बन्धले भाइटीकाको चलन औलबाट लेकतिर पनि सर्दै गइरहेको छ । त्यसैले दसैं–तिहार खस आर्यको मात्र नभई हिमाली जनजाति समुदायमा पनि विस्तार हुँदै गएको हुम्लाका राजनीतिक अगुवा दल रावल बताउँछन् । ‘दसैं र तिहार कर्णालीका आफ्ना चाडपर्व हैनन् । तर बिस्तारै ती आफ्नै भइसकेका छन्,’ लामो समय सामाजिक क्षेत्रमा समेत काम गरेका उनको अनुभव छ, ‘हामीले हेर्दाहेर्दै दसै र तिहार सबैको पर्व भइसकेको छ ।’

रावल आफैं किशोर हुँदासम्म हुम्लाका गाउँमा दसंै र तिहारको खासै रौनक थिएन । सरकारी अड्डामा काम गर्न पुगेका कर्मचारीले मनाएको देखेर स्थानीयले सिको गर्दागर्दै अहिले लामा गाउँमा समेत दसैं र तिहारको रौनक देखिन थालेको छ । कतिसम्म भने दसंैमा सानाले ठूलालाई टीका लगाउने कि ठूलाले सानालाई भन्ने अन्योलले धेरै वर्षसम्म आफ्नो गाउँमा बालबालिका उफ्री–उफ्री अभिभावकलाई टीका लगाएको रावल सम्झिन्छन् ।

कर्णालीमा दसैं–तिहारभन्दा पनि आफ्नै मौलिक खाले चाडपर्व र मेला उत्सव हुने गर्थे ।

ती मूलत: पूर्णिमा केन्द्रित हुन्थे । कर्णालीका बस्तीपिच्छे देउताका मष्ठ छन् । ती मष्ठ–थानलाई खुसी पार्न हरेक पूर्णिमामा मेला पर्व लाग्थे । देउडा खेलिन्थ्यो । तिनै त्यहाँका ठूला उत्सव हुन्थे । वर्षभरिमा पर्ने १२ वटै पूर्णिमा कर्णालीका लागि चाडपर्व हुने गरेको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन् । तीमध्येको एक पुसे पूर्णिमामा भैलो खेल्ने चलन छ । अहिले पुसे र कात्तिके भैलो बराबरी भइसकेको छ ।

प्रकाशित : कार्तिक ४, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?