अपहरणमुक्त भए भारतीय व्यापारी

२ थान कटुवा पेस्तोल सहित संलग्न २ पक्राउ
अवधेशकुमार झा

राजविराज — गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा व्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रबार राति अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका-१२ सितापुरबाट व्यापारी शारदालाई अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । अपहरणकारीले व्यापारी शारदालाई राखेको स्थानबारे गोप्य सूचना आएपछि प्रहरीले उनलाई राखिएको स्थानलाई घेरा हालेपछि अपहरणकारीको कब्जाबाट उनलाई मुक्त गराउन प्रहरी सफल भएको हो ।

व्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संल्गन २ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । संलग्न अन्यको खोजी भइरहेकाले नियन्त्रणमा लिइएकाहरुको नाम अहिले गोप्य राखिएको छ । सप्तरी प्रहरीले शनिबार दिउँसो पत्रकार सम्मेलन गरि अपहरण मुक्त गराएका व्यापारी शारदालाई परिवारको जिम्मा लगाउने एसपी सिंहले जानकारी दिए ।

व्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी सिंहले जनाए । सुनसरीसित सीमा जोडिएको भीमनगर बजारमा कपडाको व्यापार गर्दे आएका भारतीय व्यापारी ३३ वर्षीय अमित शारदाको अपहरण भएको थियो ।

शारदाका दाजु जुगलकिसोर शारदाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउँदै आफ्ना भाई गत असोज २९ गतेदेखि नै फेला पर्न नसकेको बताएपछि उनको खोजीमा सप्तरी प्रहरी जुटेको थियो ।

सीमावर्ती बजार भीमनगरमा कपडाको व्यापार गर्दै आएका अमितको कारोबार नेपाली व्यापारीहरुसित पनि थियो । सोही क्रममा असोज २९ गते रकम असुलीका लागि उनी मारुतीमा सवार भई सप्तरीको कञ्चनपुर आएका थिए । असुलीका लागि कञ्चनपुर आएका उनी घर नफिर्कएपछि परिवारले अपहरण भएको अनुमान गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?