कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौं — नेपाली कांग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए ।

उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।

स्रोतका अनुसार कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ ।

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ ।

कांग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?