३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता आज

कान्तिपुर संवाददाता

काठमाडौं — प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । आज बिहान १० बजेदेखि जिल्ला निर्वाचन कार्यालयमा दलहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् ।

आज नै उम्मेदवारको मनोनयन दर्ता, साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।

त्यस्तै, मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १८ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

यसअघि नै आयोगले प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणका लागि कात्तिक १६ देखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको थियो ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाड र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्दै छ ।

आयोगले दुईवटै सभाको निर्वाचन सँगसँगै तर दुई चरणमा मंसिर १० र २१ गर्दैछ ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौं — नेपाली कांग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए ।

उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।

स्रोतका अनुसार कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ ।

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ ।

कांग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT