कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वाम तालमेल : पहिलो चरणमा माओवादीलाई केन्द्रमा १६ क्षेत्र

केही क्षेत्रमा असन्तुष्टिसँगै बागी उम्मेदवारी
कान्तिपुर टिम

काठमाडौं — पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि वाम गठबन्धनका दलहरूले छिटपुट असन्तुष्टिसहित उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि पहिलो चरणका कुल ३७ सिटमा तालमेलअनुसार एमालेले २१ र माओवादी केन्द्रले १६ क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

वाम तालमेल : पहिलो चरणमा माओवादीलाई केन्द्रमा १६ क्षेत्र

प्रतिनिधिसभामा एक सिट मात्र भएका भोजपुर, सोलुखुम्बुसहित ११ वटा जिल्लामा एमालेले माओवादी उम्मेदवारलाई सघाउने भएको छ । गोरखाका दुवै क्षेत्रमा माओवादी उम्मेदवारलाई अघि सारिएको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हुने ३२ जिल्लामा माओवादी केन्द्रले भने २१ वटा क्षेत्रमा एमालेका उम्मेदवारलाई सघाउने छन् । ताप्लेजुङ, पाँचथर, संखुवासभा, रसुवा, दोलखा, दार्चुला, बाजुरा, डोल्पासहितका जिल्लामा एमालेका प्रतिनिधिसभा उम्मेदवारलाई माओवादी केन्द्रले सहयोग गर्नेछन् । प्रतिनिधिसभामा धादिङका दुवै क्षेत्र माओवादी केन्द्रले एमालेलाई छाडेको छ । 

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभाका ७४ सिटमध्ये माओवादी केन्द्रले ३३ र एमालेले ४१ सिटमा तालमेल गरेका छन् । आइतबार उम्मेदवारी दर्ताको दिन वाम गठबन्धन दल मुख्यत: एमाले र माओवादी केन्द्रमा केही असन्तुष्टि देखिएको थियो । सोलुुखुम्बु, जाजरकोट, रामेछाप र दोलखामा त्यसको प्रभाव परेको छ । ती जिल्लामा दुवै दलबाट बागी उम्मेदवारले दर्ता गरेका छन् । यसले वाम तालमेलको चुनावी रणनीतिलाई प्रभाव पार्ने देखिएको छ । जाजरकोटमा तालमेलबाट साझा रूपमा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले केन्द्रका लागि उम्मेदवारी दिएका थिए । तर, एमालेका नेता गोविन्दबहादुर शाहले समेत मनोनयनपत्र दर्ता गरेका छन् । त्यसको प्रभावस्वरूप जाजरकोटका दुवै प्रदेशमा माओवादी केन्द्रले बेग्लाबेग्लै उम्मेदवारी दिएको छ । जुन एमालेका उम्मेदवारलाई छाड्ने सहमति थियो ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवार छान्न एमालेलाई सबैभन्दा कठिन दोलखामा परेको थियो । उम्मेदवारी दर्ता गर्ने दिन आइतबार बिहानसम्म कसले टिकट पाउने सार्वजनिक भएको थिएन । अन्तिममा एमालेले दोलखाबाट प्रतिनिधिसभाका लागि पार्वत गुरुङ र प्रदेशको ‘ख’ मा पशुपति चौलागाईंलाई उम्मेदवार बनाएको थियो । प्रदेश ‘क’ मा भने माओवादी केन्द्रका विशाल खडकालाई अघि सारिएको छ । केन्द्रका लागि दाबी गरेका चौलागार्इंलाई प्रदेशको मुख्यमन्त्रीका रूपमा पार्टीले अघि सार्ने सहमति बनेपछि प्रदेशमा उम्मेदवारी दिएका हुन् । तर, प्रदेशमा आफूलाई उम्मेदवार नबनाएको भन्दै अर्का नेता लालकुमार केसीले भने नेकपा (माले) बाट प्रदेश ‘ख’ मा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, रामेछापमा पनि वाम तालमेलमा समस्या देखिएको छ । तालमेलबाट केन्द्रमा उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीकी लक्ष्मी गुरुङले बागी उम्मेदवारी दिएकी छन् । प्रदेशबाट एमालेका २ उम्मेदवारविरुद्ध माओवादी केन्द्रबाटै पनि उम्मेदवारी परेको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले तालमेलको मर्म र भावनाअनुसारै उम्मेदवारी परेको दाबी गरे । ‘केही ठाउँमा देखिएका समस्या पनि समाधान गर्ने खालकै छन् । हामीले ठूलो रूपमा लिएका छैनौं,’ तालमेलका असन्तुष्टिलाई पार्टीले समाधान गर्ने जनाउ दिँदै थापाले कान्तिपुरसँग भने । वाम तालमेलमा पछिल्लो समय राष्ट्रिय जनमोर्चा पनि सामेल छ । पहिलो चरणमा हुने निर्वाचनमा उक्त पार्टीका उम्मेदवारलाई बागलुङका दुवै प्रदेशमा अन्य वामले सघाउने भएका छन् । 

प्रकाशित : कार्तिक ५, २०७४ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?