२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिटौलालाई पछि पार्दै लिङ्देन

अर्जुन राजवंशी

दमक — चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ । मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको छ । सिटौला अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका थिए । राम्रो पकड र चाहना हुँदाहुँदै पनि आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सिटौलाले चुनाव लड्न नपाउने भएका छन् ।

सिटौलालाई पछि पार्दै लिङ्देन

चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ । मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको छ ।

सिटौला अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका थिए । राम्रो पकड र चाहना हुँदाहुँदै पनि आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सिटौलाले चुनाव लड्न नपाउने भएका छन् । उक्त क्षेत्रबाट गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने भएका छन् । चुनावी गठबन्धन जोगाउन कांग्रेसले राप्रपालाई उक्त क्षेत्र छाड्नुको विकल्प छैन ।

राप्रपाले देशभरमै उक्त क्षेत्र सुरक्षित दाबी गर्दै आएको छ । प्रतिनिधिसभातर्फ २८ सिट रहेको प्रदेश नं १ मा राप्रपाले एक मात्र क्षेत्र झापा ३ मागेको हो । राप्रपाको निर्विकल्प अडानका कारण कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो ।

उक्त क्षेत्र राप्रपालाई छाड्नुपर्ने भएपछि नेता सिटौलाको नाम कांग्रेसले समानुपातिकको बन्द सूचीमा राखेर निर्वाचन आयोगलाई बुझाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सल्लाह नै नगरि आफ्नो नाम समानुपातिक सूचीमा राखेको भन्दै सिटौलाले असन्तुष्टी राख्दै आएका छन् । तर, सरकार र गठबन्धन दुवै जोगाउनुपर्ने दबाबमा रहेका सभापति देउवाले सिटौलाको असन्तुष्टीलाई नजरअन्दाज गरे । आफ्नो निर्णयबारे नेतृत्वमा दबाब बढाउन सिटौला भर्खरै तीन दिन आफ्नो क्षेत्र घुमेर काठमाडौं फर्किए । उक्त समय उनले क्षेत्रभित्रका चार वटै स्थानीय तहका अगुवा कार्यकर्तालाई भेट गरे ।

सबै भेटमा कार्यकर्ताहरुले कुनै हालतमा प्रत्यक्षबाटै चुनाव लड्न उनलाई दबाब दिएका थिए । कार्यकर्ताको दबाब थेग्न नसकेर सिटौलाले बाह्रदशी गाउँपालिकाको डाँगीबारी र कचनकवल गाउँपालिकाको बनियानीमा प्रत्यक्षबाटै चुनाव लड्ने भन्न बाध्य भए । तर, पार्टीको संसदीय बोर्ड बैठकले उनलाई समानुपातिकमै राख्ने निर्णय गरेको छ ।

पार्टीभित्र शीर्ष बरियतामा रहेका सिटौला रणनीतिक नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया र गणतन्त्र प्राप्तिका एक मुख्य पात्र हुन् । सिटौलाले उक्त क्षेत्रमा ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । ४८ मा सिटौला एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित भएका थिए । कार्यकाल नसकिँदै उनको निधन भएपछि ०५० मा भएको उपनिर्वाचनमा भने सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधिक निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसँग पराजित भएका थिए । त्यसपछि ०५६ र ०७० मा सिटौला निर्वाचित भए । ०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए ।

कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपा उदय भयो । लिङ्देन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बने । जिल्लावासीले एमाले अध्यक्ष केपी ओलीपछि जिल्लाकोतर्फबाट सिटौलालाई राष्ट्रिय राजनीतिमा विकल्पका रुपमा हेरेका छन् ।

‘सिटौला नउठ्ने भए कांग्रेसले यो क्षेत्र गुमाउने निश्चित छ । जीत–हार जेभए पनि यो क्षेत्रमा कांग्रेसको पकड क्षेत्र हो,’ बनियानीका पुराना कांग्रेस कार्यकर्ता धमक खड्काले भने,‘यो पटक सिटौलाले चुनाव जित्ने निश्चित छ । उहाँजस्तो राष्ट्रिय राजनीतिका मूल व्यक्तित्वलाई हटाउनु भनेको यहाँबाट कांग्रेसलाई जरैबाट सक्नु हो ।’

को हुन लिङ्देन ?
५२ वर्षीय राजेन्द्र लिङ्देन विद्यार्थी कालदेखि नै राप्रपाको राजनीतिमा आबद्ध छन् । लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदै पार्टीको मुल राजनीतिमा होमिएका हुन् । उनी पार्टीको सँगठन विभाग प्रमुख समेत हुन् । लिङ्देनले झापा ३ बाट दुई पटक चुनाव लडे । ०५६ र ०७० । ५६ मा तेस्रो भएका उनी ७० मा निकटतम् प्रतिद्वन्द्वी बने । ५६ को चुनावपछि उनी निरन्तर उक्त क्षेत्रका जनतासँग नजिकमा रहे ।

शाहीकालमा ०६१ र ०६२ मा गरि उनी दुई पटक जिल्ला विकास समितिको सभापतिमा मनोनित भए । दुई पटकमा गरि करिब एक वर्ष जिल्ला हाँकेका बेला उनले उक्त क्षेत्रका जनताको लागि दर्जनौं योजनामा बजेट खर्चिए । साविकको पाठामारी, केचना, बालुबाडी, घेराबारी र पथरियालाई सडक सञ्जालसँग जोडे । जिल्लाको सीमावर्ती उक्त क्षेत्रका धेरै सडकहरुमा ग्राभेल गरे । ८०–२० कार्यक्रम अन्तर्गत बालुबाडी, पाठामारी र घेराबारीमा पहिलो पटक विद्युत पुर्‍याए । हल्दिबारीको समगरमाथा चोकदेखि गोल्धाप जाने बाटोका काठे पुलहरु विस्थापित गरे ।

यस्तै केपी ओली नेतृत्वको सरकारमा कमल थापाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि केही बजेट ल्याएर उक्त क्षेत्रमा खर्चिन भ्याए । मेची नदी, बिरिङ नदीमा झोलुङ्गे पुल बनाउने प्रक्रियाअघि बढाउनुका साथै अन्य केही योजनामा बजेट खर्चिए ।

निरन्तर उक्त क्षेत्रका जनतासँगको सम्पर्कमा रहेका लिङ्देनले स्थानीय तह चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाका अध्यक्ष/उपाध्यक्षसहित बहुमत सदस्य जिताउन सफल भए ।

क्षेत्रभित्रकै हल्दिबारी गाउँपालिकाको प्रमुख र जिल्लाको पश्चिम गौरीगञ्ज गाउँपालिकाको प्रमुख पनि राप्रपाकै नेतालाई जिताए । उनले आगामी चुनावमा पनि आफ्नो जित निश्चित रहेको दाबी गरे । उनले प्रतिनिधिसभाको चुनावमा जित हासिल गरे ३ नं. क्षेत्रलाई मेची र विरिङ नदीको पीडाबाट मुक्त गराउने बचन दिए ।

प्रकाशित : कार्तिक १०, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?