कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

भीम घिमिरे

पोखरा — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लोकतन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

 प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

पोखराको प्रदर्शनी केन्द्रमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी दलको गठबन्धनकले चुनौति उत्पन्न गरेको बताए । माओवादी र एमालेले गरेको बाम गठबन्धनले एक दलीय व्यवस्था ल्याउने त्रास उत्पन्न गरेको भन्दै उनले भयमुक्त शासनका लागि कांग्रेसले जित्नु आवश्यक रहेको बताए । ‘साम्यवादी गठबन्धनले नेपालमा फेरि डर, त्रासको शासन ल्याउन खोजेको छ,’ उनले भने, ‘साम्यवादी शासन भएको देशमा कहीं प्रजातन्त्र छैन, बोल्न र लेख्न पाइँदैन । त्यहाँ डर र त्रासको शासन हुन्छ । उत्तर कोरियालाई हेरे हुन्छ ।’ कांग्रेसले जितेमात्रै भयमुक्त शासन व्यवस्था बहाल रहनेमा उनले जोड दिए । 

‘स्थानीय तहको चुनाव एउटा कुरा हो, स्थानीय तहमा जनताले भोट दिएकै पार्टीलाई राष्ट्रियस्तरमा, प्रान्तीयस्तरमा भोट हाल्छन् भन्ने कुरा छैन,’ उनले भने, ‘प्रजातन्त्र कसले ल्याएको हो यो देशमा । प्रजातन्त्र कसले बचाउँछ यो देशमा, जनताले त्यो बुझ्नुपर्छ ।’ तीव्र ध्रुवीकरणले देशमा राजनीतिक संकट ल्याएको उनले बताए ।  उनले आफ्नै पार्टी कार्यकर्ताहरूलाई पनि कांग्रेसलाई आइपरेको चुनौतिको बदला पार्टीलाई एक भएर विजयी गराउन लाग्न आह्वान गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनको खुलेर आलोचना गरे । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन साम्यवादी र प्रजातन्त्रवादीबीचको लडाइ भएको बताए । ‘यो दूनियाँमा कम्युनिष्टहरू लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादको शिखरमा पुग्न चाहन्छन्,’ उनले भने, ‘तर, त्यो सबैतिर हराउँदै गएको बेलामा जुन हरकत नेपालमा फेरि देखापरेको छ त्यो मुलुकको लागि हितकर कुरा होइन ।’ त्यसैले लोकतन्त्रको रक्षागर्न चाहने शक्तिले अत्यन्त्र गम्भिरतापुर्वक लिनुपर्ने उनले बताए । ‘यो चुनाव बन्दतिर जाने हो वा खुलातिर जाने हो त्यो लडाइ हो,’ उनले भने, ‘यो चुनाव पार्टी पार्टीको लडाइ होइन व्यवस्थाको लडाइ हो । यो चुनाव लोकतान्त्र जोगाएर अघि बढ्ने की अधिनायकवादतिर पछाडि फर्कने त्यो बीचको लडाइ हो ।’ एमाले–माओवादीले बहुमत पुर्‍याएभने सरकार आफ्नो हितका लागि उपयोग गर्ने आरोप उनले लगाए । दलीय ध्रुवीकरणले बामपन्थीहरू देशलाई एक दलीय हुकुमततिर लैजान प्रयासरत रहेको उनले बताए । 

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा, कांग्रेसमा नवप्रवेशी अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगी तथा राप्रपाका पूर्वसभासद सूर्यबहादुर केसीले पनि बोलेका थिए । 

अखण्ड पार्टी कांग्रेसमा विलय
कार्यक्रममा आफूसहित आफ्नो पार्टीका ५४ जिल्लाको कार्यसमिति सबै कांग्रेसमा विलय भएको घोषणा अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्काले गरे । उनलाई कांग्रेस सभापति देउवाले पार्टीको सदस्यता दिएभने अन्य नेताले अबिर र माला लगाएर स्वागत गरे । कार्यक्रममै पोखराका पूर्वप्रधानपंच तथा २०६४ मा राप्रपाबाट समानुपातिकतर्फका सभासद भएका उद्योगी सूर्यबहादुर केसीले पनि कांग्रेसमा प्रवेश गरेको घोषणा गरे ।  कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका दर्जनौको नाम पढेर सुनाइएको थियो ।  

अनेरास्ववियु अध्यक्ष पक्राउ
लालप्रसाद शर्मा
पोखरा– प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियू कास्की अध्यक्ष शेखर गौतमलाई शनिबार पक्राउ गरेको छ । 
नेपाली कांग्रेसको एक कार्यक्रममा आएका देउवालाई कालो झन्डा देखाउने क्रममा गौतमलाई पृथ्वीचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गौतमसँगै जिल्ला सचिवालय सदस्य विश्वदर्शन पराजुली पनि पक्राउ परेका छन । शिक्षा ऐन नवौ संसोधनको खारेजी माग गर्दै नारावाजीसहित उनीहरुले कालो झन्डा देखाएका थिए । 

प्रकाशित : कार्तिक ११, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?