आयोग अलमलमा- ‘कस्तो छाप्ने मतपत्र ?’

स्रोत भन्छ– ‘मतपत्र छाप्न सुरु भएको छैन, नमुना मात्र छापिएको हो’
राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो । सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतायो ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवले मतपत्र छपाइ शुक्रबारदेखि सुरु भइसकेको दाबी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतायो । ‘नमुना मतपत्र मात्रै छापिएको हो’, स्रोतले भन्यो, ‘शुक्रबारदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छाप्ने पूरा तयारी गरिएको हो, तर छाप्न थालिएको छैन । सर्वोच्चको आदेशपछि आयोगको नयाँ निर्णयको प्रतीक्षा गरिएको छ ।’

आयोगले सर्वोच्चको पछिल्लो आदेशको प्रतिलिपि शनिबार प्राप्त गरेको छ । सर्वोच्चले बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलग–अलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण तीन दिनभित्र पेस गर्न आयोगलाई आदेश दिएको थियो । सर्वोच्चले अदालतको अवहेलनामा किन कारबाही नगर्नेसमेतको जवाफ आयोगसँग मागेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले सर्वोच्चको आदेश प्राप्त भए पनि त्यसको अध्ययन र छलफल बाँकी रहेको बताए । ‘सर्वोच्चको पत्र त आयो, तर हामीले त्यसमाथि छलफल गर्न भ्याएका छैनौंं, आइतबार कानुनविद्सँग परामर्शपछि कानुनले तोकेको समयावधिभित्र जवाफ पठाइनेछ,’ उनले भने, ‘मतपत्रबारेको आदेश सम्बन्धमा कानुनी, प्राविधिक र व्यावहारिक सबै दृष्टिकोणले तथा हरेक विकल्पमा छलफल गरेर निर्णय लिनेछौं ।’

उनले आयोगको अर्जुनदृष्टि निर्धारित मितिको चुनाव कुनै हालतमा प्रभावित नहोस् भन्नेतर्फ केन्द्रित रहेको बताए । सर्वोच्चले कात्तिक १ मा समानुपातिकतर्फको मतपत्र छापिसकेकाले त्यसलाई नरोक्ने तर प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी रहेकाले दुवै सभाका लागि अलग–अलग मतपत्र छाप्नुपर्ने आशयको आदेश गरेको थियो । राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले दुवै सभाको मतपत्र एउटै पानामा छाप्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

अदालतको उक्त आदेशपछि पनि आयोगले त्यसलाई कार्यान्वयन गर्ने मनसाय नदेखाएको भन्दै शुक्लले आयोगले सर्वोच्चको मानहानि गरेको दाबीसहित दिएको निवेदनमा सर्वोच्चले दुईवटा मतपत्र छाप्नैपर्ने प्रस्ट सन्देशसहितको आदेश दिएको छ । सर्वोच्चले अलग–अलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेको समेत आफ्नो आदेशमा चर्चा गरेको छ । ‘सामान्य आँखाले पढ्दा र साधारण बुझाइले अदालतको उक्त आदेशले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग–अलग छाप्नैपर्ने देखिन्छ,’ आयोग स्रोतले भन्यो, ‘सबै तयारी भइसकेको र समयको चाप रहेकाले आयोगको प्राथमिकता पूर्वनिर्णयअनुसार एउटै पानामा तलमाथि दुवै सभाको मतपत्र छाप्ने नै हो । तर, सर्वोच्चको आदेशले अलमलमा पारेको छ ।’ आयोगका प्रवक्ता नवराज ढकालले कार्यतालिकाअनुसार निर्वाचन तयारी भइरहेको र सर्वोच्चको आदेश हेरेर त्यसको सम्मान गर्दै आयोगले निर्णय लिने बताए ।

प्रकाशित : कार्तिक १२, २०७४ ०८:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसको क्षमाशीलता

१० वर्षे सशस्त्र द्वन्द्वका बेला कांग्रेस नेता–कार्यकर्ताको सफायमा लागेका तत्कालीन माओवादीका डा. बाबुराम भट्टराई अन्तत: गोर्खा २ नम्बरबाट कांग्रेसकै समर्थनमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने खबरले यतिबेला प्रमुखता पाएको छ ।

यसबाट के बुझिन्छ भने बीपीदेखि चलिआएको कांग्रेसको क्षमा र करुणा मरेको छैन । त्यसो त किशुनजीले एमाले र गिरिजाबाबुले एमाओवादीलाई सुनपानी छर्केर सत्ताको धुरी नचढाएको भए आज यी कम्युनिस्ट दलहरू जंगलमा हुन्थे या सकिन्थे होला तर पनि उनीहरूले कांग्रेसको उदारताको कहिल्यै प्रशंसा गरेनन्, बरु उल्टै कांग्रेसलाई गाली गर्दै आएका छन् । उनीहरूका दिन नै कांग्रेसले यो गरेन, ऊ गरेन भन्ने टिप्पणी गर्दैमा बितेका छन् । बितेका ९ वर्षमा ७ वर्ष कम्युनिस्टले शासन गरे । तर यो बेथितिको दोष भने उनीहरू कांग्रेसका काँधमा हालेर आफू पानीमाथिको ओभानो बनिरहेका छन् । 
नेपालका कम्युनिस्टहरूमा मनमोहन अधिकारीबाहेक आजसम्म कसैले राम्रो काम गरेको मलाई थाहा छैन । तर तिनै कम्युनिस्टहरूले कसैलाई गाली नगरेको मलाई थाहा छैन । यसबाट के बुझिन्छ भने गाली गर्नेले काम गर्दैन र काम गर्नेले कसैलाई गाली गर्दैन । कांग्रेसले काम मात्र गर्छ, कसैलाई गाली गर्दैन । विसं २००७ को आन्दोलन होस् वा २००१७ पछिको पञ्चायतविरोधी संघर्ष होस् वा २०३६, ०४६ र २०६२ को आन्दोलन, २०४७ र २०७२ को संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको कतैबाट छिपेको छैन । आजसम्म देशको परिवर्तनमा सहयोगी मात्र बनेका छन् कम्युनिस्टहरू । अब उनीहरूले २ तिहाइ मत ल्याए पनि खासै परिवर्तन आउनेछैन । समाजवाद भन्ने त हात्तीको देखाउने दाँत मात्र हो । कांग्रेसमा बरु समाजवादी व्यक्तिहरू पाइन्छन् । मैले धेरै वर्ष कम्युनिस्ट संगठनहरूमा रहेर काम गरें तर त्यहाँभित्र सामान्य प्रगतिशील मानिस पिन भेटिनँ र छाडिदिएँ । आज पनि कांग्रेस नै बढी प्रगतिशील पार्टी लाग्छ । कांग्रेस थिएन भने गणतन्त्र पनि आउने थिएन । जे भए पनि कांग्रेसले बाबुरामलाई क्षमादान दिएको छ, यो उदाहरणीय काम हो । यसले राजनीतिमा सहिष्णुता वा उदारता कस्तो हुन्छ भन्ने देखाउँछ । कम्युनिस्टहरूले यति उच्चस्तरको संस्कृति देखाउन सक्लान् त ? 
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ 
महाकवि देवकोटा आश्रम, काठमाडौं 

प्रकाशित : कार्तिक १२, २०७४ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT