ठेकेदारमाथि कारबाहीको माग गर्दै जलेश्वर जनकपुर सडकमा धर्ना

रवीन्द्र उप्रेती

महोत्तरी — ठेकेदारले कलर्भट निर्माणका लागि खनेको खाल्डोमा सवारी दुर्घटना भई एकजनाको ज्यान गएपछि स्थानीयले आइतबार बिहानैदेखि जलेश्वर जनकपुर सडक अवरुद्ध पारे ।

भिट्ठामोडबाट जनकपुरतर्फ जाँदै गरेको ज५प३२२० नंको मोटरसाइकलले शनिबार राति खयराचोकनजिकको ठेकेदारले अलपत्र छाडेको खाल्डोमा ४ फिट तल खस्न गई जनकपुर उपमानपा-२१ का २३ वर्षीय मोटरसाइकल चालक जीतेन्द्र महासेठको मृत्यु भएपछि स्थानीय जनता ठेकेदारविरुद्ध आन्दोलनमा उत्रेका हुन् । 

जलेश्वर नगरपालिकाका ३ जना वडाध्यक्षहरु वरुण दहाल, सञ्जय पाण्डे र रवीन्द्र साह तथा जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले ३ सुत्रीय माग राख्दै दुर्घटनास्थलनजिकै धर्ना दिन थालेपछि आवागमन ठप्प भएको थियो । उनीहरुले मृतक परिवारलाई क्षतिपूर्ति, ठेकेदारलाई कारबाही र अलपत्र छाडिएको सडक निर्माण तत्काल सुरु गर्नु पर्ने माग राखेका छन् । उनीहरुप्रति ऐक्यबद्धता जनाउँदै स्थानीयले ठाउँठाउँमा टायर बालेर तथा ढुङ्गामुढा तेर्साएर जडक जाम गर्नुका साथै सडक ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए ।

अति व्यस्त जलेश्वर जनकपुर सडक अवरुद्ध भएपछि सयौं सर्वसाधारणले सास्ती पाएका थिए भने नेपाल-भारत आयात व्यापारसमेत प्रभावित बनेको जिल्ला भन्सारले जनाएको छ । जनप्रतिनिधि नै धर्नामा बसेपछि प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी उपरीक्षक कुवेर कडायत र घटनास्थल पुगेको थिए । प्रशासन र आन्दोलनकारीबीच छलफल भएपछि अपराह्नपछि सडक खुलाउने सहमति भएको वडाध्यक्ष दहालले जनाए । प्रजिअ श्रेष्ठकाअनुसार पीडित परिवार, निर्माण व्यवसायी, हुलाकी सडक आयोजना प्रमुख तथा स्थानीयबीच सडक निर्माण र क्षतिपूर्तिबारे छलफल गरिने समझदारीपछि सडक अवरोध अन्त्य गर्ने सहमति भएको हो ।

गतवर्ष तत्कालीन यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको भारतीय सीमा जोड्ने जनकपुर जलेश्वर भिट्ठामोड १८ किमि सडक ठेकेदार पट्टु रोशन जेभी कन्ट्रक्सन र प्रतिभा वाईपी जेभीले सम्झौता बमोजिम काम नगर्दा दिनहुँजसो दुर्घटना हुँदै आएको छ । २० मिनेटमा जनकपुर पुग्नु पर्ने उक्त जर्जर सडकमा यात्रा गर्न २ घण्टा बढी समय लाग्ने गरेको छ ।

प्रकाशित : कार्तिक १२, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

धरानमा म्याद गुज्रिएका ४ हजार ८ सय २४ कार्टुन बिस्कुट नष्ट

प्रदीप मेन्याङ्बो

धरान — धरान उपमहानगरपालिका-१६ स्थित सात्वीक फुड प्रालीले उत्पादन गरेको ३ लाख रुपैयाँ बराबरका ४ हजार ८ सय २४ कार्टुन विभिन्न नामका बिस्कुट म्याद गुज्रिएको भेटिएपछि नष्ट गरिएको छ ।

६ महिनाभित्र उपभोग गरिसक्नुपर्ने बिस्कुटहरु सात्वीकले बजारमा पठाएर उपभोक्ताको जीवनमाथि खेलबाड गरेको भन्दै अनुगमनपछि आइतबार नस्ट गरिएको हो । म्याद गुज्रिएको बिस्कुटहरु उपभोक्ताले खाइरहेको जानकारी पाएपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा गठित अनुगमन समितीले उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमन गर्दा म्याद गुज्रिएका बिस्कुटहरु फेला परेको थियो । तीमध्ये ११ सय ८२ कार्टुन एनिटायम कुकीज, १ सय ६० कार्टुन स्वीट कुकिज, ८ सय २० कार्टुन प्रिमियम कुकिज, १ सय २० कार्टुन एन के साल्टी कुकिज र १ सय ३० कार्टुन नमकिन बिस्कुट फेला परेको उपमेयर मन्जु भण्डारीले बताइन् । उनले भनिन्, ‘उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको देखिएकाले म्याद सकिएका बिस्कुट जन्य खाद्य पदार्थ सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरिएको छ ।’

म्याद गुज्रिएका सबै उत्पादन धरान–१५ स्थित सेउती खोलाको बगरमा खाल्डा खनी पुरिएको थियो । उनले उद्योगका इन्चार्ज भरत सुवेदीलाई पहिलो पटक भएकाले चेतावनी दिएको बताइन् ।

प्रकाशित : कार्तिक १२, २०७४ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्