१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दोस्रो चरणको निर्वाचनमा ३ सय ३५ महिलाको उम्मेदवारी

काठमाडौं — आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो चरणको निर्वाचनमा ३ सय ३५ महिलाको उम्मेदवारी

दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभातर्फ एक हजार ७४२ र प्रदेशसभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराएको छ । यसअघि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दिएका थिए । यही कात्तिक ५ गते भएको उम्मेदवारी मनोनयन दर्तामा प्रतिनिधिसभामा १८ र प्रदेशसभाका लागि २३ महिलाले उम्मेदवारी दिएका थिए ।

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ । जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

सञ्जालले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले जानकारी दिइन् ।

- रासस

प्रकाशित : कार्तिक १७, २०७४ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?