किसान र नेताको आआफ्नै चटारो

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको अर्जुनचौपारी गाउँपालिका निवासी धनबहादुर सुनारलाई यतिबेला धान काट्ने, ठटाउने र घरमा धान, पराल कसरी पुर्‍याउने भन्ने चिन्ता छ । उनले चार हल गोरु प्रयोग गरेर धान रोपेका थिए । उनी धान थन्काउन पर्म पनि लगाउँछन् ।

किसान र नेताको आआफ्नै चटारो

त्यति मात्रै होइन, नियमित काम गर्दै आएको घरधनीको धान थन्काइदिने जिम्मा उनीमाथि छ । ‘चुनाव भन्ने कुन चराको नाम हो भन्न पर्ने अवस्था छ’उनले भने, ‘चौबिसै घण्टा दु:ख नगरेसम्म एकछाक खानु छैन । तँलाई दु:ख पर्‍योकी भनेर एक शब्द समेत कसैले सोध्दैन । चुनावको त्यति मतलब छैन हामीलाई ।’ उनले काम गर्दै गए आफ्नो छाक सजिलै टर्ने बताए ।

उनीमात्र होइन यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो छ । नेताहरुलाई भने मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन कसरी आफ्नो बहसमा पार्ने भन्ने चटारो छ । कतिपय किसान आफू खेती सम्हाल्नमै व्यस्त रहेपनि आफ्नो पीडा बुझीदिने नेताले जितोस् भन्ने कामना पनि गरिरहेका छन् । जहुँ, गहुँ छर्ने, आलु लगाउने, दाँई हाल्ने, विभिन्न प्रकारका तरकारी खेती लगाउनेलगायत काममा यतिबेला कृषकहरु व्यस्त बनेका छन् । नेताहरु आफूलाई भोट माग्नको लागि किसानले काम गर्ने स्थानमा नै पुगेर हात जोड्छन् ।

सोही गाउँकी ३७ वर्षीया मैना क्षेत्रीलाई भने कामको मुख्य सिजनमा चुनाव आए पनि हरसम्भव चुनावी सभाहरुमा सहभागी भएर असल नेता छान्ने उनको धोको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ’ उनले भने, ‘हामीलाई भने धानबाली धन्क्याएर आलु रोप्न र तरकारी लगाउने चटारो छ । राजनीतिमा सबै सहभागी भएको देख्दा त रहर लाग्छ र केही बुझिँदैन । नेताहरुको पछि लागेर हिँडे पनि गर्ने आफ्नै खर्च रहेछ । गाउँबाट बजारसम्म पुग्दा दिनकै १५ सय दुई हजार खर्च हुन्छ । उपलब्धि केही नहुदाँ अनि दिक्क लाग्छ के पछि लागेर हिँड्नु भन्ने ।’ उनले मानो लगाएर मुरी भित्र्याउने बेला नेताको पछि लागेर हिँड्न नभ्याइने बताइन् ।

किसानका लागि अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता खेतमै व्यस्त छन् । खेतबारीमा कृषि कार्यमा व्यस्त किसानको नजरमा पार्टीहरुले कृषिप्रधान देशको नामअनुसारको किसानका हितमा काम गरेनन् । अर्जुनचौपारी गाउँपालिकाकै विक्रमबहादुर परियार अहिले कक्षा १२ मा पढ्छन् । आफ्ना कक्षामा सँगै पढ्ने साथीहरु विभिन्न पार्टीको झन्डा बोक्दै प्रचारप्रसारमा जुटे पनि आफू भने नेताको पछि नलाग्ने बताउँछन् । खेतीपाती सम्हाल्नमा नै व्यस्त उनी निर्वाचनबारे अनविज्ञ रहेको बताए ।

कतिपय कृषकहरुलाई निर्वाचन के हो ? भन्ने कुरामा नै अन्योल छन् । गाउँ–गाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषकहरु रनभुल परेका हुन् । स्थानीय तहमा भोट हालेपछि यति छिट्टै हाल्नु पर्दैन भन्ने बुझेकाहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्नुपर्छ भन्ने जानकारी छैन । यस्ता सोझा स्थानीयहरुलाई हालसम्म कुनै पनि दलले बुझाउन सकेको छैन । नमुना मतपत्र समेत नआइसकेको हुदाँ गाउँघरको चुनावी सभामा नमुना पत्र लान नपाइएको दलहरु बताउँछन् ।

 

प्रकाशित : कार्तिक १९, २०७४ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?