कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जहिल्यै पाहुना

प्यूठान — पहिलो संविधानसभा चुनावमा बर्दियाबाट पराजित भएपछि एमाले नेता वामदेव गौतम दोस्रो संविधानसभा चुनावमा प्यूठान आए । उनले हरेक चुनावी सभामा भने, ‘म प्यूठान फर्कें, अब कतै जाँदिनँ, यहीं मर्नेछु । मलाई यहींको श्रीखण्डले जलाइदिनू ।’

जहिल्यै पाहुना

केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेता जिल्ला फर्किएपछि अधिकांश मतदाताको उनीप्रति सहानुभूति रह्यो । जन्मस्थल फर्केको नाराले उनलाई चुनाव जित्न सजिलो पनि भयो । जिल्लावासी पनि गौतमलाई जिल्लाबाहिर पठाउन चाहँदैनथे । त्यही भएर उनलाई जिताउन सबै लागि परे । उनीप्रति सबै आशावादी पनि थिए । गौतमले ३४ बुँदे विकासका प्रतिबद्धता पनि सार्वजनिक गरे । निर्वाचन जितेर उनी उपप्रधान तथा गृहमन्त्री भए, यसले मतदातालाई हौस्यायो । जिल्लाको विकासमा गौतमले ठूलै भूमिका निर्वाह गर्ने आशा थियो ।

तर उनले आफ्नो सभासद र मन्त्रीकालमा चुनावी प्रतिबद्धता पूरा गर्न सकेनन् । उनको सभासद पद नसकिँदै यसपालिको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु भयो । अघिल्लोपटक चाहे जति गर्न नभ्याए पनि अब फेरि निर्वाचित गरे केही गर्लान् भन्ने आशा अझै मतदातामा थियो । यही कारण यसपालिको निर्वाचनमा पनि जिल्ला पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उनको मात्र नाम सिफारिस गरी पठायो । गौतम आफैंले पनि प्यूठानमै आउने आश्वासन दिएका थिए । तर वाम गठबन्धनका क्रममा प्यूठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार भइन् । गौतमले फेरि बर्दिया नै रोजे । प्यूठान नगरपालिका–२ दाखाक्वाडीमा जन्मेका गौतमले हाईस्कुलसम्मको अध्ययन यहीं गरेका थिए । उनले यहींबाट कम्युनिस्ट राजनीति गरेका थिए । पछि बसाइँसराइ गरी बर्दिया गएका थिए । यो घटनाक्रमले प्यूठानी मतदातालाई दु:खी बनाएको छ । उनी पाहुनाका रूपमा आएको मतदाताको गुनासो छ । ‘हामीले गौतमलाई सधैंका लागि घर फर्कायौं भन्ने सोचेका थियौं तर उहाँ पाहुना भएर आउनुभएको रहेछ,’ एमाले जिल्ला सचिवालय सदस्य हिक्मत थापाले भने, ‘यसले हामीलाई निराश बनाएको छ । नेताहरू आउने, चुनाव जित्ने र पाहुना बनेर फर्कने प्रवृत्तिले प्यूठानलाई ठूलो घाटा लागेको छ ।’

अहिले प्रतिनिधिसभाको चुनावी मैदानमा रहेका उम्मेदवार पनि गौतम जस्तै पाहुना बन्ने आशंका मतदाताको छ । बाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेल र कांग्रेस उम्मेदवार गोविन्दराज पोख्रेल जिल्लामा पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् । पौडेल लामो समयदेखि राजनीतिमा क्रियाशील रहे पनि जिल्लाको राजनीतिमा उनी कुनै भूमिकामा थिइनन् ।

पोखरेल पनि लामो समय सरकारी सेवामा रहेर चुनावमा आएका छन् । ऐरावती गाउँपालिका–५ रस्पुरकोटमा जन्मेर हाईस्कुलसम्मको अध्ययन प्यूठानमै गरेका पोखरेल अध्ययन र जागिरका क्रममा राजधानीमै रहे । उनले यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय योजना आयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नेतृत्व सम्हालेका थिए । उनी प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् । प्यूठान शिक्षित र सचेत जिल्ला मानिन्छ । यहाँबाट धेरै नेता र शिक्षक जन्मिए । धेरै नेताहरू शिक्षकका रूपमा रुकुम, रोल्पादेखि कर्णाली पुगेर राजनीतिक प्रशिक्षणसँगै सेवा गरेका थिए । त्यसपछि कति राजनीतिमै सक्रिय रहे भने कति अझै शिक्षक छन् । वामदेव गौतम, मोहनविक्रम सिंह, मोहन वैद्य जस्ता नेता जन्माएको प्यूठान नेताहरूको अस्थिरताकै कारण विकासमा पछि परेको जिल्लावासीको गुनासो छ । जिल्लाले जन्माएका ठूला नेताले राष्ट्रियस्तरमा राजनीतिक बहस धेरै गरे पनि यहाँको विकासमा ध्यान दिन नसकेको मतदाताको गुनासो छ ।

जिल्लाका ठूला विकास योजना लामो समयदेखि अलपत्र छन् । नेताहरूले स्वर्गद्वारी नगरपालिकास्थित बर्जिबाङको चाल्नेटारमा विमानस्थल सञ्चालनको कुरा गर्न थालेको ४० वर्ष बितिसक्यो । नौमुरे जलविद्युत्, झिम्रुक नदी कटान नियन्त्रण, स्वर्गद्वारी केबुलकार, पर्यटन विकासजस्ता धेरै ठूला विकासका कुरा हरेक नेताले उठाए । तर कसैले पनि पूरा गर्न सकेनन् ।

नेताहरूको पाहुना प्रवृत्तिले गर्दा नै यस्तो भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य पितबहादुर एमसीको भनाइ छ । ‘जिल्लामा खटेर काम गर्ने नेताहरू एक थरी छन् । माथिबाट सीधै आएर अवसर लिने अर्का थरी छन्,’ उनले भने, ‘यो तरिकाले जिल्लाको विकास हुँदैन । जनताको सुख–दु:खसँग खेल्ने नेता चाहियो । अहिलेको चुनाव मात्रै होइन, पछिसम्म टिक्ने नेता आवश्यक छ ।’

नेताहरूमा चुनावका बेला अनेक थरी प्रतिबद्धता गर्ने तर पछि जिल्ला नफर्कने प्रवृत्ति भएको पुण्यखोलाका सामाजिक अगुवा उमाराम पौडेल बताउँछन् । ‘चुनाव आउँदा केन्द्रीय नेताहरूको हाइफाई ठूलै देखिन्छ, त्यसपछि सबै बिर्सन्छन्,’ उनले भने, ‘विगतमा यस्तो धेरै भोगियो, फेरि पनि त्यस्तै उम्मेदवार छन् । यही समस्याले जिल्लामा चाहे जस्तो विकास हुन सकेन । पाहुना नेताले प्यूठान पछि पर्‍यो ।’

वाम गठबन्धनकी उम्मेदवार पौडेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग २०५७ मा विवाह भएपछि प्यूठानकै राजनीतिमा रहेको बताइन् । ‘महिला संगठन र पार्टीका विभिन्न भूमिकामा हुँदा प्यूठानमै काम गरेको छु । सभासद हुँदा पनि सांसद विकास कोषको रकम प्यूठानकै विकासमा खर्चिएँ,’ उनले भनिन्, ‘ओखरकोटमा ग्रामीण पर्यटन विकासको खाका तयार पारी त्यसका लागि खटिरहेको छु । म पहिले पनि यहीं थिएँ र अब पनि यहीं नै हुन्छु । शंका गर्नु पर्दैन ।’ कांग्रेस उम्मेदवार पोख्रेलले पनि काठमाडौंमा सरकारी सेवामा रहँदा जिल्लाको विकासमा भूमिका निर्वाह गरेको बताए । ‘मैले विभिन्न पदमा हुँदा जिल्लाको विकासमा योगदान पुर्‍याएको छु,’ उनले भने, ‘मेरी श्रीमती पनि यहीं फर्केकी छन् । म राजनीतिमा होमिएको छु ।’ उनले जिल्लामै रहन रस्पुरकोटस्थित भत्केको घर मर्मत गरी बस्न थालेको जानकारी दिए । पोखरेलले अब आफू विकासको खाकासहित आएको दाबी गरे ।

प्रकाशित : कार्तिक २०, २०७४ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?