बझाङको चुनावी मुद्दा- ताक्लाकोट नाका

अन्य साझा मुद्दा : -जडीबुटी प्रशोधन केन्द्र खोल्ने, -२५० मेगावाटको माथिल्लो सेती, -घरलौरी धारा
बलराम बानियाँ, वसन्तप्रताप सिंह

बझाङ — उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्राष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ । बझाङको उरै भन्ज्याङसँग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन ।

दुवै प्रमुख पार्टी कांग्रेस र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारले सदरमुकाम चैनपुरबाट नेपाली सीमा उरै भन्ज्याङसम्म सक्दो छिटो सडक सञ्जाल पुर्‍याएर ताक्लाकोट नाका खोल्ने मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । चैनपुर–ताक्लाकोट सडक खुले तिब्बतसित व्यापारिक नाका खुल्ने र चीनको चर्चित धार्मिक स्थल मानसरोवरसम्म आउजाउ गर्ने मुलुककै प्रमुख पर्यटकीय मार्ग बन्ने नाराले मतदाता आकर्षित गरिरहेको छ । प्रस्तावित नाका आइपुग्न चीनतर्फ जम्मा २० किमि सडक बन्न बाँकी छ । तिब्बत सरकारले बाँकी सडक बनाउनसमेत टेन्डर गरिसकेको छ । ताक्लाकोट चैनपुरबाट १ सय ३ किलोमिटर दूरीमा पर्छ । चैनपुरबाट ताक्लाकोट जाने २५ किमि सडक बनिसकेको छ भने थप १० किमि ट्रयाकसमेत खुलिसकेको छ । यो सडक बनाउन सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । नेपालको हिल्सा र तातोपानी नाकाबाट भारतीय हजारौं तीर्थयात्रु मानसरोवर जाने गर्छन् । भारतको नयाँदिल्लीबाट यो नाका हुँदै मानसरोवर पुग्न जम्मा ७ सय किमि पर्छ । ७ नम्बर प्रदेशका लागि आवश्यक सामान चीनबाट ल्याउन र निर्यात गर्न पनि यही नाका सहज हुनेछ ।
कांग्रेस र वामपन्थी गठबन्धन दुवैले आफ्नो पार्टीले जितेर सरकार बनाउनासाथ चिनियाँ सरकारसित कूटनीतिक पहल गरी नाका खोल्न सहमति गर्ने वाचा मतदातासमक्ष गरिरहेका छन् । औपचारिक रूपमा नाका नखुलेको र दुवैतर्फ भन्सार नभएकाले यो नाकाबाट हाल जडीबुटी, रक्तचन्दन र वन्यजन्तुको छाला तस्करी मात्र हुने गरेको छ । नाका खुल्नासाथ जिल्ला व्यापारिक केन्द्र बन्ने र धार्मिक पर्यटनबाट जिल्लाको अर्थतन्त्रमा कायापलट हुने विश्वास कांग्रेस र वाम गठबन्धनको छ । ‘जिल्लाको समृद्धिका लागि ताक्लाकोट नाका खोल्ने हाम्रो पहिलो मुद्दा हो,’ प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार पुथ्वीबहादुर सिंहले भने ।
एमालेका उम्मेदवार भैरवबहादुर सिंहले पनि ताक्लाकोट नाका खोल्ने वाम गठबन्धनको पहिलो प्राथमिकता भएको बताए । ‘नाका खुलेपछि जिल्लाको कायापलट हुने विश्वास छ,’ उनले भने ।
दुवै दलले नाकापछि जिल्लाभर सडक सञ्जाल विस्तार गर्ने र सबै स्थानीय तहमा विद्युतको केन्द्रीय प्रसारण लाइन पुर्‍याउने कुरालाई दोस्रो ठूलो मुद्दा बनारहेका छन् । ‘जिल्लाका सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर बझाङलाई उज्यालो बनाउने र जिल्लाभर सडक सञ्जाल पुर्‍याउने र भएकालाई स्तरोन्नति गर्ने हाम्रो दोस्रो प्राथमिकता हो,’ एमाले उम्मेदवार सिंहले भने ।
कांग्रेस उम्मेदवार सिंहले आफ्नो पार्टीले निर्माणाधीन खोड्पे–चैनपुर १३३ केभी प्रसारण लाइन छिटो निर्माण सक्ने र सबै स्थानीय तहमा प्रसारण लाइन ५ वर्षमा पुर्‍याउने मुद्दालाई दोस्रो प्राथमिकतामा राखेको बताए । जिल्लामा २५० मेगवाटको माथिल्लो सेती जलविद्युत् आयोजना बनाउनेसमेत दुवै दलको एजेन्डा छ । व्यावसायिक र रोजगारमूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य सुविधा, ‘एक घर एक खानेपानी धारा’ लाई समेत दुवै दलले प्राथमिकतामा राखेका छन् । जिल्लामा आर्थिक उपार्जन हुने गरी विकास निर्माणलाई अघि बढाउने वाचा दुवै दलले गरेका छन् । कांग्रेस उम्मेदवार सिंहले हालका स्वास्थ्य चौकी काम नलाग्ने उल्लेख गर्दै सबै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अत्याधुनिक अस्पताल खोल्ने आफ्नो पार्टीको एजेन्डा रहेको जनाए ।
जडीबुटी प्रशोधन केन्द्र अर्को मुद्दा
दुवै दलले यार्सागुम्बुसहित सयौं प्रकारका जडीबुटी पाइने यस जिल्लामा दलहरूले बझाङमै जडीबुटी प्रशोधन केन्द्र खोल्ने वाचा गरेका छन् । बझाङ मुलुकमै सबभन्दा बढी जडीबुटी पाइने जिल्लामध्ये पर्छ । प्रशोधन केन्द्र नहुँदा जडीबुटी टिप्ने सर्वसाधारणले राम्रो ज्याला र बेच्ने व्यापारीले उचित मूल्य तथा राज्यले राजस्व पाउन नसकेको उल्लेख गर्दै एमाले उम्मेदवार सिंहले जिल्लामा प्रशोधन केन्द्र खोले सर्वसाधारण, व्यापारी तथा राज्यले उचित मुनाफा पाउने र जिल्लामा रोजगारी बढ्ने विश्वास व्यक्त गरे ।
कांग्रेस र वाम गठबन्धन दुवैले जिल्लाको प्रतिनिधिसभाको १ र प्रदेशसभाका दुवै सिट जित्ने दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेसबाट पृथ्वीबहादुर सिंह र वाम गठबन्धनबाट एमालेका भैरवबहादुर सिंह उम्मेदवार छन् । प्रदेशसभा ‘क’ र ‘ख’ मा कांग्रेसबाट चन्द्रादेवी जोशी र नरेशबहादुर सिंह तथा वाम गठबन्धनबाट एमालेका अर्ज‘नबहादुर थापा र माओवादी केन्द्रकी देवकी मल्ल उम्मेदवार छन् । तीन सिटका लागि अरू एक दर्जन बढीले उम्मेदवारी दिए पनि यहाँ कांग्रेस र वाम उम्मेदवारको मात्र चर्चा छ ।
एमाले उम्मेदवार सिंहले दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा कांग्रेसको भन्दा १४ हजार बढी मत ल्याएकाले आफ्नो गठबन्धनका तीनै जना उम्मेदवारले जित्ने दाबी गरे । वाम गठबन्धन बनेपछि जनता उत्साहित भएको दाबीसमेत उनको छ ।
कांग्रेसका सिंहले आफूसहित पार्टीका तीनै जना उम्मेदवार जनताबीच बढी भिजेको हुनाले जित्ने दाबी गर्दै भने, ‘वाम गठबन्धनका उम्मेदवार दसैंमा मात्र टीका लाउन आउने टुरिस्ट हुन् । हाम्रो पार्टीका उम्मेदवार सधैं जनतामाझ बसेका छन् । त्यही कारण कांग्रेसले जित्छ ।’

प्रकाशित : कार्तिक २१, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

युनाइटेडमाथि चेल्सीको जित

एएफपी

लन्डन — फरवार्ड अल्भारो मोराटाको गोलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्‍यो । हारसँगै युनाइटेड समस्यामा परेको छ । जोसे मोउरिन्होको टोलीले प्रिमियर लिगको पछिल्ला तीनमध्ये दुई खेलमा पराजय भोगेको छ ।

मोउरिन्होले पछिल्लो सिजन चेल्सीविरुद्ध खेलेका लिगका दुवै खेलमा पराजय भोगेका थिए । सन् २०१२ को अक्टोबरपछि युनाइटेडले ब्रिजमा लगातार आठ खेलमा जित्न सकेको छैन । हारसँगै युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा ८ अंकले पछाडि परेको छ ।
आइतबार स्ट्यामफर्ड ब्रिजमा विजय हात पारेपछि चेल्सी चौथो स्थानमा यथावत् छ । शीर्षस्थानको सिटीभन्दा ९ अंकले पछाडि रहेको चेल्सीले आइतबार लिगमा लगातार तेस्रो जित दर्ता गर्‍यो । रोमाविरुद्ध च्याम्पियन्स लिगमा ३–० को हार बेहोरेपछि टोली व्यवस्थापक एन्टोनिओ कोन्टेले डेबिड लुइज र एन्टोनियो रुडिगरलाई बेन्चमा झारेका थिए । चोटका कारण पछिल्लो ६ खेल गुमाएका फ्रान्सेली मिडफिल्डर एन्गोलो कान्टेले पुनरागमनको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे ।
पछिल्लो ६ खेलमा गोल गर्न नसकेका युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । लुकाकुझैं खराब फर्ममा रहेका मोराटाले भने गोल गर्दै आफ्ना आलोचकहरूको मुख बन्द गरिदिए । उनले एज्पिलिक्वेटाको क्रसलाई हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दिनको अर्को खेलमा एभरटनले घरेलु मैदानमा दुई गोलले पछाडि परेको स्थिति उल्टाउँदै वाटफर्डमाथि ३–२ को जित हात पार्‍यो । पहिलो हाफमा गोलरहित रहेको खेलको दोस्रो हाफमा भने गोलको वर्षा भयो । वाटफर्डले रिचार्लिन्सन र क्रिस्टियन काबासेलेको गोलमा २–० को अग्रता लियो । तर ओउमार नियासे, डोमिनिक काल्भर्ट लेविन र लेटन बेन्सको गोलमा अग्रता लियो ।
रियलको ३ गोल
म्याड्रिड– स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल म्याड्रिडले लास पाल्मासलाई ३–० ले पराजित गरेको छ । नियमित खराब प्रदर्शनका कारण आलोचना खेपिरहेको म्याड्रिडका लागि क्यासेमिरो, मार्को एसेन्सियो र इस्कोले गोल गरे । यस जितसँगै रियलको ११ भएको छ । अन्य खेलमा भिल्लारियलले मालागालाई २–० ले र रियल सोसिडाडले एइबारलाई ३–१ ले पाखा लगायो ।

प्रकाशित : कार्तिक २१, २०७४ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्