कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘राप्रपा हिन्दूराष्ट्रको पक्षमा, हिन्दू अतिवादको विपक्षमा’

कमल थापा नेतृत्वको राप्रपाद्वारा पार्टी घोषणापत्र सार्वजनिक
शेखर अधिकारी

काठमाडौं — संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा उभ्याउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेको छ ।

‘राप्रपा हिन्दूराष्ट्रको पक्षमा, हिन्दू अतिवादको विपक्षमा’

मंगलबार बिहान राजधानीमा  कार्यक्रम गरी राप्रपा अध्यक्ष थापाले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पार्टी घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले संविधानसभा र स्थानीय तहको घोषणापत्रमा उल्लेख भएको हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थालाई निरन्तरता दिएको छ ।

अध्यक्ष थापाले नेपालको संविधान र परिवर्तनलाई आत्मसात् गर्दै हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको मागमा अडिग रहेको बताए । ‘निर्वाचित संस्थाभन्दा माथि रहने गरी एक सर्वस्वीकार्य राजसंस्था चाहिन्छ,’ उनको भनाइ थियो, ‘हिन्दूराष्ट्रको पक्षमा छौं तर हिन्दूअतिवादको समर्थन गर्न सक्दैनौं ।’ राज्य धर्मनिरपेक्ष हुनै नसक्ने ठोकुवा गर्दै राप्रपाले भनेको छ, ‘धर्म बिनाको वा धर्मप्रति उदासीन राज्य हुन सक्दैन । राज्य अधर्म, निधर्म र धर्मनिरपेक्ष हुँदैन । यो मान्यता नै सारभूत रूपमा गलत छ ।’ 

  • राजसंस्था र निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ।
  • पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउने ।
  • १० वर्षमा २ अंकमा आर्थिक वृद्धिदर ।
  • १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन ।
  • क्यान्सर, मुटु, मृगौलाको निस्शुल्क स्वास्थ्यउपचार ।

राप्रपाले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित हुने निर्वाचित प्रधानमन्त्री हुने मौलिक शासन प्रणालीमा जोड दिएको छ । राजसंस्था र हिन्दूराष्ट्र सदियौंदेखि स्थापित मान्यता रहेको उल्लेख गर्दै उसले त्यसलाई भत्काउँदा स्थिति भयावह हुने चेतावनी दिएको छ । ‘आमूल परिवर्तन र परम्पराको निरन्तरताका बीचमा सामान्जस्यता खोज्नुपर्दछ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मान्यता नै निरन्तरतासहितको परिवर्तन हो ।’ २०६२र०६३ को जनआन्दोलन र नेपालको संविधान २०७२ जारी भए पश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि आफू सचेत रहेको उल्लेख गर्दै राप्रपाले भनेको छ, ‘त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ । राजसंस्था सहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सुत्र हुन सक्दछ ।’

  •  

संविधान जारी पछिका लगातार तीन सरकारमा सामेल राप्रपाले ०७२ को संविधानलाई आलोचनात्मक समर्थन गरेको उल्लेख गरेको छ । ‘नेपालको वर्तमान संविधानमा निश्चय नै कमीकमजोरी र त्रुटिहरु रहेका छन् । नेपाली जनताको भावनालाई पूर्णरुपमा समेट्न सकेको छैन । यद्यपि विश्वको कुनै पनि संविधान शतप्रतिशत पूर्ण हुन सक्दैन । तथापि यो संविधानले प्रजातन्त्रका विश्वका प्रचलित मुल्य मान्यतालाई अंगिकार गरेको छ,’ घोषणापत्रमा उल्लेख छ । तर, समानुपातिक र समावेशी सिद्धान्तको दृष्टिकोणबाट वर्तमान संविधान प्रगतिशील र अग्रगामी रहेको उसले जनाएको छ ।

राप्रपाले संघीयताप्रति पनि सैद्धान्तिकरुपमा असहमति जनाएको छ । ‘नेपालको निमित्त संघीयता आवश्यक थिएन । संघीयताको आवश्यकता, औचित्य एवं स्वरुपका बारेमा पर्याप्त बहस नै नगरी यो अवधारणालाई स्थापित गर्ने काम गरियो,’ राप्रपाको घोषणापत्र भन्छ, ‘जसको परिणामस्वरुप संविधान जारी भैसकेतापनि संघीय संरचना सम्बन्धी अवधारणाको कार्यान्वनमा ठूलो समस्या देखिएको छ ।’ उसले नेपालको भ–ूबनोटलाई दृष्टिगत गर्दै हिमाल, पहाड र तराई जोडिने गरि प्रदेशको संरचना तयार गर्न उपयुक्त हुनेमा जोड दिएको छ ।

 

राप्रपाले खुला बजारमुखी अर्थतन्त्रमा जोड दिएको छ । अध्यक्ष थापाले अन्य दलहरु साम्यवादी र पूँजीवादी अर्थतन्त्रको पक्षमा रहे पनि आफूहरु त्यसलाई समर्थन गर्ने अवस्थामा नरहेको बताए । ‘राप्रपा मुलुकको समग्र आर्थिक विकासको सन्दर्भमा खुला बजारमुखि आर्थिक व्यवस्थाप्रति प्रतिबद्ध रहने छ,’ उनले भने, ‘शान्ति र प्रजातन्त्र प्रति केही संकोचभाव राख्ने राष्ट्रहरु समेत खुलाबजारमुखि अर्थतन्त्रलाई भने निसंकोच अबलम्बन गरिरहेका छन् ।’

राप्रपाले १० वर्षभित्रमा आर्थिक वृद्धिदर २ अंकमा पुर्‍याउने उल्लेख गरेको छ ।

अर्थतन्त्रको सुधार र आर्थिक विकासलाई प्राथमिकता दिई ३० वर्षे दीर्घकालीन राष्ट्रिय विकास कार्ययोजना तयार पार्ने, सार्वजनिक, निजी, जनता साझेदारीको आर्थिक सिद्धान्त तयार गर्ने, आर्थिक अपराध नियन्त्रणको कठोर कानुनी व्यवस्था गर्ने राप्रपाको घोषणापत्रमा जनाइएको छ ।

गरिवी निवारणका लागि आवास, भोजन, रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गर्ने, कृषिको आधुनिकीकरण गर्ने, जनमुखी भूमिसुधारको व्यवस्था गर्ने, ७० वर्षभन्दा माथिका किसानलाई पेन्सनको व्यवस्था गर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

२५ वर्षभन्दा माथिकालाई बेरोजगार भत्ता, वैदेशिक रोजागरीमा जानेलाई मापदण्ड बनाएर अनुदानको व्यवस्था गर्ने, ६ कक्षाभन्दा माथिका विद्यालय जाने बालिकालाई मासिक १५० रुपैयाँ प्रोत्साहन भत्ता दिने, महिलाको स्वास्थ्यमा सरल पहुँच, ज्यालामा महिला पुरुषको समानता, छोराछोरी जन्मिँदा ५ हजार रुपैयाँ सुपोषण अनुदान दिने, ६५ वर्षभन्दा माथिका अपांगलाई निस्शुल्क स्वास्थोपचार, प्रत्येक निर्वाचन क्षेत्रमा वृद्धाश्रम र बृद्धबृद्धालाई यातायातमा विशेष छुट गर्नेलगायतका सामाजिक सुरक्षाका कार्यक्रम घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, हाइड्रोमा लगानी गर्नेलाई प्रोत्साहन दिने उल्लेख छ । राप्रपाले खस आर्य समूदायको पहिचानलाई राष्ट्रिय मान्यता दिने, गैरआवासीय नेपालीलाई अन्यत्र कमाएका सम्पत्ति नेपालमा करमुक्त गर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने उल्लेख छ ।  

संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तको आधारमा राष्ट्रिय स्वाभिमानको रक्षाका लागि विश्व समुदायसँग असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेको राप्रपाले जनाएको छ । ‘नेपाललाई शान्ति क्षेत्रका रूपमा कायम गर्ने राप्रपाको परराष्ट्र नीतिको प्राथमिकता रहने छ,’ घोषणापत्रमा लेखिएको छ, ‘विभिन्न मुलुकहरुसँग भएका राष्ट्रिय हित विपरीतका असमान सन्धिहरु खारेज वा परिमार्जन गरिनु पर्दछ भन्ने मान्यतालाई राप्रपाले जोड दिनेछ ।’

राप्रपाले आफ्नो प्राथमिकतामा पृथ्वीनारायण शाहको जन्मदिनमा ‘राष्ट्रिय एकता दिवस’ मनाउने, सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने, विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषयहरु समावेश गर्ने, नागरिकता वितरणमा भएको त्रुटि छानबिन गर्ने जनाएको छ । धार्मिक भेदभाव र धर्म परिवर्तनलाई दण्डनीय गर्ने, विभिन्न धर्म समूदायको पूजा तथा आरधना स्थलहरु मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्च निर्माण, विस्तार र व्यवस्थापनामा सहयोग गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले वीर अस्पताललाई सातवटै प्रदेशमा विस्तार गर्ने, क्यान्सर, मृगौला र मुटुका बिरामीहरुको निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

काठमाडौं हेटौंडा जोड्ने सुरुङ मार्ग, काठमाडौं–जुम्ला राजमार्ग, काठमाडौं बाहिरी चक्रपथ, मेची महाकाली हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग,  काठमाडौं–तराई फास्टट्रयाक, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायात सञ्जाल निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । 

राप्रपाले नेपाल बन्दलाई गैरकानुनी घोषित गर्दै कहिल्यै नेपाल बन्द नगर्ने प्रतिबद्धता जनाएको छ । 

ड्ड राजसंस्था र निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ।

ड्ड पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउने ।

ड्ड १० वर्षमा २ अंकमा आर्थिक वृद्धिदर ।

ड्ड १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन ।

ड्ड क्यान्सर, मुटु, मृगौलाको निस्शुल्क स्वास्थ्यउपचार ।

प्रकाशित : कार्तिक २१, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?