कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनावी मैदानमा दुई दर्जन ठेकेदार

राजु चौधरी

काठमाडौं — निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरूले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् ।

‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ ।’ संविधानसभाबाट सांसदमा परिणत भएको यसअघिको सदनमा १७ निर्माण व्यवसायी सदस्य थिए ।

महासंघमा १२ हजार ५ सय निर्माण व्यवसायी आबद्ध छन् । कतिपय जिल्लामा साना–साना निर्माण व्यवसायी भएकाले जानकारीमा आउन नसकेको देउजाले बताए । ‘निर्माण व्यवसायीको सञ्जाल जिल्ला–जिल्लामा रहेकाले सबै संख्या यकिन हुन सकेको छैन,’ उनले भने । राजनीतिक दललाई आर्थिक सहयोग पुग्ने र व्यवसायी पनि सुरक्षित हुन पाउने भएकाले राजनीतिमा प्रवेश गर्ने गरेको एक व्यवसायीले बताए । ‘दलहरूलाई पनि सहयोग चाहिन्छ, व्यवसायीलाई पनि सुरक्षासँगै आफूअनुकूल कानुन बनाउन सहज हुने भएकाले निर्वाचनमा जाने गरेका हुन्,’ ती व्यवसायीले भने, ‘निर्वाचनमा जान नसक्नेहरू दलहरूलाई प्रभावित गरेर समानुपातिकमा भए पनि बस्ने गरेका छन् ।’

महासंघको सूचीअनुसार ११ व्यवसायी प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई राप्रपाले चुनावी मैदानमा उतारेको छ । उनी चितवन ३ बाट प्रत्यक्षतर्फ प्रत्याशी बनेका छन् । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिड्दै छन् । रसुवा कन्स्ट्रक्सनका मोहन आचार्यलाई कांग्रेसले रसुवाबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उठाएको छ । 

सोही क्षेत्रबाट सूर्य–चन्द्र कन्स्ट्रक्सनका जनार्दन ढकाल एमाले कोटाबाट चुनावमा उठेका छन् । यहाँ दुई निर्माण व्यवसायीबीच टक्कर हुँदै छ ।

धादिङबाट दिलमान पाख्रिन पनि कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार छन् । कुशेश्वर कन्स्ट्रक्सनका तीर्थ लामा कांग्रेसकै कोटाबाट काभ्रे १ मा प्रतिनिधिसभामा उठेका छन् । यसैगरी सप्तरीमा कांग्रेसका तर्फबाट हरिशप्रसाद महतो प्रतिनिधिसभाका लागि नै भिडदै छन् । 

अछामबाट भरतकुमार स्वाँर प्रतिनिधिसभाका उम्मेदवार छन् । मनाङबाट म्यानपावर/निर्माण व्यवसायमा संलग्न टेकबहादुर गुरुङले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । पर्सा ३ मा समाजवादी फोरमबाट हरिनारायण रौनियार उम्मेदवार छन् भने जयप्रसाद ठाकुर सप्तरीबाट प्रतिनिधिसभामा उठेका छन् । कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई उठाएको छ । प्रदेश र प्रतिनिधिसभा गरी कम्तीमा १४ जनालाई कांग्रेसले टिकट दिएको छ । एमालेका तर्फबाट ३ जना उठेका छन् । अन्य दलबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा काभ्रेबाटै गणेश लामा र चन्द्र लामा चुनावी मैदानमा छन् । गणेश कांग्रेसका उम्मेदवार हुन् भने चन्द्र एमालेका हुन् । विवादास्पद छवि भएका गणेश विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका हुन् । प्रदेशसभामा स्याङ्जाबाट राजु थापा, दैलेखबाट दिक्पल शाही, भक्तपुरबाट अंगद खडका, मकवानपुरबाट इन्द्रबहादुर बानियाँ छन् । यी सबै कांग्रेसबाट टिकट पाउने व्यवसायी हुन् । सुर्खेतमा खडकबहादुर खत्रीले एमालेबाट टिकट पाएका छन । बैतडीमा प्रदेशसभाका लागि गणेश चन्दले राप्रपाबाट उम्मेदवारी दिएका छन् । महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामालगायत केही व्यवसायी दलहरूको सांसद छान्ने समानुपातिक सूचीमा छन् ।

  • व्यवसायी/कम्पनी क्षेत्र पार्टी प्रतिनिधिसभा/प्रदेश
  • विक्रम पाण्डे/कालिका कन्स्ट्रक्सन चितवन– ३  राप्रपा प्रतिनिधिसभा
  • जनार्दन ढकाल/सूर्यचन्द्र कन्स्ट्रक्सन रसुवा एमाले  प्रतिनिधिसभा
  • दिलमान पाख्रिन धादिङ –२ कांग्रेस प्रतिनिधिसभा
  • मोहन आचार्य/रसुवा कन्स्ट्रक्सन रसुवा कांग्रेस   प्रतिनिधिसभा
  • तीर्थ लामा/कुशेश्वर कन्स्ट्रक्सन काभ्रे–१ कांग्रेस प्रतिनिधिसभा
  • छत्रबहादुर बम्जन सिन्धुली–२ कांग्रेस प्रदेश
  • गणेश लामा/सिरुवा कन्स्ट्रक्सन काभ्रे–१ ख कांग्रेस प्रदेश
  • चन्द्र लामा/लामा प्रगति निर्माण सेवा काभ्रे–१ ख एमाले प्रदेश
  • हरीशप्रसाद महतो/ए क्लास कन्स्ट्रक्सन सर्लाही–३ कांग्रेस प्रतिनिधिसभा
  • राजु थापा स्याङ्जा–१ कांग्रेस प्रदेश
  • पूर्णबहादुर तामाङ/कन्चराम कन्स्ट्रक्सन रापेछाप–२ कांग्रेस प्रतिनिधिसभा
  • जिपछिरिङ लामा/लामा कन्स्ट्रक्सन दोलखा–१ – समानुपातिक
  • भरतकुमार स्वाँर/स्वाँर कन्स्ट्रक्सन अछाम–१ कांग्रेस प्रतिनिधिसभा
  • दिक्पाल शाही दैलेख (प्रदेश ख) कांग्रेस प्रदेश
  • अंगद खडका भक्तपुर कांग्रेस प्रदेश
  • पुष्पा शाह अछाम कांग्रेस समानुपातिक
  • वीरेन्द्र ब. कनौडिया – – समानुपातिक
  • हरिनारायण रौनियार/पप्पु कन्स्ट्रक्सन पर्सा–३ समाजवादी फोरम प्रतिनिधिसभा
  • टेकबहादुर गुरुङ मनाङ कांग्रेस प्रतिनिधिसभा
  • इन्द्रबहादुर बानियाँ/लटिनाथ निर्माण मकवानपुर–२ कांग्रेस प्रदेश
  • खड्गबहादुर  खत्री प्रदीप कन्स्ट्रक्सन  सुर्खेत–१   एमाले प्रदेश
  • गणेश चन्द/प्रमोद कन्स्ट्रक्सन बैतडी (ख) राप्रपा प्रदेश
  • जयप्रसाद ठाकुर सप्तरी स्वतन्त्र प्रतिनिधिसभा
  • स्रोत : नेपाल निर्माण व्यवसायी महासंघ

प्रकाशित : कार्तिक २२, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?