कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा चिनियाँ रेल : सम्भाव्यता अध्ययन सुरु

चन्द्रशेखर अधिकारी

काठमाडौं — चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा रेलको सम्भावनाबारे फेरि अध्ययन थालेको छ । केही रेलवे कम्पनीका अधिकारी र प्राविधिकसहित आएको टोलीले दुईपक्षीय प्राविधिक वार्ता र प्रस्तुतिसँगै स्थलगत अध्ययन गरिरहेको छ । पाँच दिने भ्रमणमा आएको उक्त टोली थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर चीन फर्कनेछ ।

नेपालमा चिनियाँ रेल : सम्भाव्यता अध्ययन सुरु

चिनियाँ राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियन नेतृत्व टोलीले नेपालमा चीनबाट ल्याउने भनिएको रेलबारे अध्ययन थालेको हो । टोलीले केरुङसम्म चीनले ल्याउने रेललाई काठमाडौं र पोखरा पुर्‍याउँदै लुम्बिनी जोड्ने विषयमा अध्ययन थालेको हो । सोमबार यसबारे नेपाली पक्षसमक्ष प्रस्तुति दिएको टोली मंगलबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी पुगेको थियो । स्याफ्रुबेंसीबाट मंगलबारै साँझ काठमाडौं फर्केको टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जानेछ ।

टोलीमा रेलमार्गमा लगानी गर्ने व्यवसायी पनि छन् । पाँच भिन्न कम्पनीका प्राविधिक र व्यवसायीसहित टोलीमा १६ जना छन् । टोलीमा चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्यायले कान्तिपुरलाई बताए । ‘हामीले हाम्रो अवस्था र अहिलेसम्मको अध्ययनबारे बतायौं । उनीहरूले पनि लगानी गर्न सक्नेबारे जानकारी दिँदै आफ्नो प्रविधिको बारेमा जानकारी दिए,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा रेल विभागले प्रस्तुत गरेको प्रतिवेदनका अधारमा नै चिनियाँ पक्षले अध्ययन थालेको रेल विभागका अधिकारीले बताए । ‘हाम्रा इन्जिनियरलाई चीनले प्रशिक्षण दिने भएको छ । यसबाट पनि चिनियाँहरू नेपालमा रेल जोड्न चाहन्छन् भन्ने देखिन्छ,’ उपाध्यायले भने, ‘रेलको दुई देशीय मात्र होइन, आन्तरिक तथा मेट्रोरेल मोडलबारे पनि छलफल भएको छ ।’ नेपालमा केही स्थानमा रेलमार्ग बनिरहेको छ । केही दिगो परियोजनाका लागि विस्तृत अध्ययन भइरहेका छन् । तर रेल नै हेर्ने विशेष प्राविधिक छैनन् । यस्तो अवस्थामा चीनले नेपालका इन्जिनियरलाई रेल इन्जिनियर बनाउन सहयोग गर्ने बताएको छ ।

सरकारले यसअघि नै काठमाडौं र पोखरालाई रेलमार्गले जोड्न खोजेकाले पनि यो प्रक्रियामा चिनियाँ पक्षलाई सहज हुनेछ । नेपालले प्रस्तुत गरेको योजनामा काठमाडौं–केरुङभन्दा पनि काठमाडौं–पोखरा रेलमार्गको विवरण रहेको छ । तर चीनले सबै पक्षलाई उत्तिकै ध्यान दिँदै केरुङलाई लुम्बिनीसम्म जोड्न जोड दिएको टोलीका एक सहभागीले बताए । चिनियाँ चासो काठमाडौंमा बनाउने भनिएको मोनोरेल तथा मेट्रो रेलमा पनि छ । चीनको ल्हासाबाट सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० मा केरुङ आइपुग्ने भएपछि त्यहाँबाट नेपाल जोड्न खोजिएको हो ।

प्रकाशित : कार्तिक २२, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?