३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हृदयेश त्रिपाठी र देवकरण जयसवालबीच साख जोगाउने प्रतिस्पर्धा

नवलपरासी — सुस्तापश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी हृदयेश त्रिपाठी र कांग्रेसका देवकरण जयसवाल (सन्तु) को जिल्लामा अलग्गै पहिचान छ । दुवैले लामो समयदेखि यस क्षेत्रलाई राजनीतिक ‘गढ’ बनाउँदै आएका छन् । राष्ट्रिय राजनीतिमा लामो समयदेखि छाउँदै आएका ‘बुद्धिजीवी नेता’ त्रिपाठी र ‘किसान’ को अगुवाइ गर्दै केन्द्रीय राजनीतिमा पहुँच बनाएका जयसवालबीच यसपालि ‘साख’ जोगाउन प्रतिस्पर्धा हुँदै छ ।

हृदयेश त्रिपाठी र देवकरण जयसवालबीच साख जोगाउने प्रतिस्पर्धा

किनकि, यो उनीहरूबीच पहिलो होइन, तेस्रो प्रतिस्पर्धा हो । २०६४ सालको संविधानसभा निर्वाचनमा त्रिपाठीले जितको शृंखलालाई निरन्तरता दिँदा जयसवाल १ सय ६३ मतले पराजित भएका थिए । २०७० को भिडन्तमा जयसवालले त्रिपाठीलाई ६ हजार ३ सय मतले हराए । यसपटक राजनीतिक परिदृश्य बदलिएको छ । २०४८ देखि ०५६ सम्म तीनपटक सद्भावना र २०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट सांसद भएका त्रिपाठी यस अवधिमा तीनपटक मन्त्री बने । यसपटक स्वतन्त्र राजनीतिक समूहबाट एमालेको सूृर्य चिह्न लिएर प्रतिस्पर्धा गर्दै छन् ।

आन्तरिक तालमेल कस्न र रणनीति बनाउन व्यस्त त्रिपाठी शुक्रबार सुस्ता गाउँपालिकाको छिवनीस्थित बालकुटी मन्दिरमा भेटिए । उनी त्यहाँ कार्यकर्तामाझ होइन, मन्दिरका मठाधीश र स्थानीयसित चिया पिउँदै थिए । विभिन्न मधेसवादी दल एकीकृत भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । राजपा प्रदेश २ मा केन्द्रित भएपछि नारायणी पश्चिमका मधेसी नेताले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसित गठबन्धन गरेको उनले बताए । जिल्ला विभाजन र क्षेत्र पुन:संरचानासँगै उनको चुनावी क्षेत्र फराकिलो बनेको छ । ‘तालमेल कस्नमै धेरै समय बित्छ होला,’ उनले भने, ‘पहिलेजस्तो घरदैलो सम्भव छैन, भेला आयोजना गरेर आफ्ना कुरा राख्ने योजना छ ।’

त्रिपाठीलाई स्थानीयहरू ‘बाबा’ भनेर सम्बोधन गर्छन् । यो क्षेत्रका केही मतादाताको स्थायी दल छैन । जता ‘बाबा’, उतै जान्छन् । विगतमा एक्लै चुनाव लडदा पनि मुख्य प्रतिस्पर्धी कांग्रेस आफूसँग ४ पटक पराजित भएको उनले सुनाए । ‘२०७० मा मधेसवादी दलकै खटपटले पराजित भइयो,’ उनले भने, ‘यसपालि वाम गठबन्धनको पनि सहयोग छ ।’ तालमेल शतप्रतिशत सफल बनाउन मिहिनेत गर्नुपर्ने उनले सुनाए । ‘तालमेल गर्दा केही मतदाता प्रभावित हुन्छन्,’ उनले भने, ‘त्यसैले रुष्टको चित्त बुझाउन समय लाग्छ ।’

२०३४ सालमा वाम विद्यार्थी आन्दोलनमा सहभागी बनेका उनी २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य चुनाव पनि लडेका थिए ।

किसान पृष्ठभूमिका जयसवाल स्थानीय रूपमा लोकप्रिय छन् । शुक्रबार सुस्ताकै ठाडीघाट मेलामा आयोजित दंगल (कुस्ती) उद्घाटन गर्न पुगेका उनले लामो राजनीतिक संघर्ष सुनाए । २०३६ सालको जनमतसंग्रहदेखि कांग्रेस राजनीतिमा सहभागी उनले २०४६ सालको जनआन्दोलनमा किसानको नेतृत्व गरेको सुनाए । २०४९ देखि ०५४ सम्म यहाँको साबिक गुठी प्रसौनी गाविस अध्यक्ष बने । त्यसपछि दुई कार्यकाल पिपरापाती प्रसौनी माइनर जलउपभोक्ता समितिको अध्यक्ष बने । ‘पहिले यहाँ ५० हेक्टरमा सिंचाइ हुन्थ्यो,’ उनले भने, ‘मैले जनसहभागितामा ५०० हेक्टरमा सिंचाइ पुर्‍याएँ ।’ उनलाई स्थानीय अहिले पनि ‘सन्तु प्रधान’ भन्छन् । ‘मेरो अधिकांश समय जनताको घरदैलोमै बित्छ,’ उनले भने, ‘यहाँका बासिन्दाको सुखदु:ख बुझेका कारण जित्न सजिलो छ ।’

‘साझा’ मुद्दा
दुवै स्थानीयका समस्यासित जानकार छन् । यहाँका मुख्य समस्या शिक्षा, स्वास्थ्य, जग्गाधनी पुर्जा, नागरिकता र डुबान हुन् । दुवैले लामो पहल गरे पनि स्थानीयलाई उनीहरूले भोग गरेको जमिनको धनीपुर्जा दिन नसकेको सुनाए । त्रिपाठीका अनुसार यहाँका पक्लिहवा, नर्सही, दाउन्नेदेवी, जमुनियालगायत क्षेत्रको जमिन दर्ता छैन । ‘सुकुम्बासी आउने, काम नगर्ने भयो,’ उनले भने, ‘साबिक ४ गाविस केन्द्रित जग्गा दर्ता आयोग पनि बन्यो तर सम्भव भएन ।’ उनका अनुसार यो सुकुम्बासी नभएर जमिन दर्ता नहुने समस्या हो । जयसवालले पनि लामो समयदेखि जग्गा दर्ता नहुँदा किसान मारमा परेको बताए । उनले नारायणी किनारका रुपौलिया, त्रिवेणी, गुठी प्रसौनीमा पनि समस्या रहेको बताए । ‘अव्यवस्थित बसोबासको समस्या छ,’ उनले भने, ‘त्यस्ताले जग्गाधनी पुर्जा र नागरिकता पाएका छैनन् ।’ अर्को प्रमुख समस्या डुबान हो । वर्षामा नारायणीको सतह बढ्नासाथ बस्तीमा बाढी पस्छ । किनारका साबिक १ दजर्न गाविसका बासिन्दा विस्थापित हुन्छन् । खेतीपाती स्याहार्न पाउँदैनन् । ‘गण्डक बाँधका कारण सिर्जित समस्या कूटनीतिक हुन्,’ त्रिपाठीले भने, ‘भारतसित वार्ता गरेर समस्या स्थायी रूपमा हटाउन पहल गरिनुपर्छ ।’ यहाँ रहेको लिंक रोड जीर्ण छ । बाढी रोक्न निर्माण गरिएका ठोकर भत्केका छन् ।

‘लिंक रोड थप २ मिटर अग्लो र ५ मिटर चौडा बनाउन सरकारसित १० करोड माग गरेको छु,’ जयसवालले भने ।’ जिल्लाको १ नम्बर क्षेत्रमा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर गाउँपालिका पूरै र सरावल गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा पर्छन् । स्थानीय चुनावमा बर्दघाट र सुस्तामा एमाले र बाँकी १/१ स्थानमा कांग्रेस र लोकतान्त्रिक फोरम विजयी भएका थिए । यस क्षेत्रमा १ लाख २३ हजार ६८ मतदाता छन् ।

प्रकाशित : कार्तिक २४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?