काठमाडौं क्षेत्र नं १ मा कसले मार्ला बाजी ?, यस्तो छ चुनावी लेखाजोखा

किरण भट्टराई/रासस

काठमाडौं — चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी सुरु भएको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा (एमाले) र नकेपा (माओवादी केन्द्र)को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली कांग्रेस (बिपी)बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् । पूर्व उप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहेका वाम गठबन्धनका उम्मेदवार शर्मा र बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रहेका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । कांग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ ।

उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह कांग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुन् भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री हुँदा विद्युत्‌भार कटौती गरेर चर्चा कमाएका जनार्दन शर्माका भाइ । यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो ।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, कांग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ ।

सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत गरिरहेका छन् । कांग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । आफूले सांसदका रूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उनी विश्वस्त छन् ।

काठमाडौँका जनता परिवर्तनमा विश्वास गर्ने र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माले बताए । वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उनले बताए । साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताए । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उनले टिप्पणी गरे ।

यस्तै प्रदेशसभातर्फ कांग्रेसबाट काठमाडौँ क्षेत्र नं १ (क) दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’मा विष्णुकुमारी भुसाल (भट्टराई) र ‘ख’मा उम्मेदवार गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार छन् । क्षेत्र नं १ को ‘क’मा १३ जना र ‘ख’मा १४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नं १मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’ मा १७ हजार ६७३ मतदाता छन् । काठमाडौँमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन् ।

प्रकाशित : कार्तिक २४, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

दिल्ली ७० गुणासम्म बढी प्रदुषण, तुवाँलो हटाउन पहल सुरु

–रासस/सिन्ह्वा

नयाँ दिल्ली — वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ ।

वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् । सोही बमोजिम सरकारले यही सोमबारदेखि जोर बिजोर नम्बरका मात्र सवारी चलाउन पाउने नियम बनाएको छ । यसले वायु प्रदुषणको मात्रामा केही कमी ल्याउने अनुमान पनि गरिएको छ ।

बुधबारदेखि बन्द गरिएका नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु प्रदुषणको अवस्था सुधार नहुदासम्म नखोल्न भनिएको छ । त्यस्तै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीहरुको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न सरकारले आग्रह पनि गरेको छ ।

दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेशनलाई पाँच सय बस भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा नागरिकलाई सुविधा दिन पनि आग्रह गरेको छ ।

नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदुषणको स्थितिबारे मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै केही समयका लागि दल्लीमा अवस्थित विद्यालय तथा अन्य संघसंस्थाहरुलाई बाहिर खुला ठाउँमा सार्वजनिक कार्यक्रम एवम् गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।

भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।

दिल्ली सरकारले बुधबार नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा पनि गरेको छ । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।

राजधानी नयाँ दिल्लीमा प्रया जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।

नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदुषणको प्रमुख कारकका रुपमा लिने गरिएको छ ।

स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७४ १५:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्