१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घरेलु हतियारसहित रोल्पामा दुई युवा पक्राउ

काशीराम डाँगी

रोल्पा — मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गरेका बेला प्रहरीले रोल्पामा घरेलु हतियारसहित दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले ती युवालाई काठमाडौं जाने बसमा सवार भएका बेला नियन्त्रणमा लिएको हो ।

घरेलु हतियारसहित रोल्पामा दुई युवा पक्राउ

प्रहरीले बुधबार दिउँसो साढे ४ बजे एक थान घरेलु हतियार पेस्तोलसहित लिबाङबाट राजधानी जान हिँडेको बा ४ ख २६०८ नं को बसमा सवार माडी गाउँपालिका-३ तालाबाङका श्यामबहादुर घर्तीमगर, ३३, र रामसिंह घर्तीमगर, २९, लाई रोल्पा नगरपालिका-३ मा पर्ने सातदोबाटोबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले श्यामबहादुरले कालो रङको झोलामा लुकाइराखेको १५ इन्च लामो नलकटुवा पेस्तोल बरामद गरिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रनि पन्थीकै नेतृत्वकै प्रहरी टोलीले ती युवालाई पक्राउ गरेको हो ।

निर्वाचन सुरक्षामा खतरा उत्पन्न हुने आशंकाले परिचालित भएको प्रहरीको टोलीले हतियारसहित युवालाई पक्राउ गरेको थियो । स्रोतका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नेताहरु द्यलबहादुर खत्री जागृति र सन्तोष सुवेदी प्रयासलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गर्न परिचालित भएकै प्रहरी टोलीले ती दुई युवालाई पनि पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नुअघि ती युवाहरु नेकपाका नेतासँग सम्पर्कमा रहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । हतियारसहित पक्राउ गरिएका युवा नेकपासँग आवद्ध भएको प्रहरीको अनुमान छ । प्रहरीले ती युवाविरुद्ध हात हतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाउने योजना बनाएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?