यसकारण दाउमा छ नेता रावलको प्रतिष्ठा

बलराम बानियाँ/मेनुका ढुंगाना

अछाम — प्रदेश नं. ७ को अछाम जिल्लामा आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा चुनावमा एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलको प्रतिष्ठा दाउमा छ । गृह र रक्षा मन्त्रीसमेत भइसकेका रावललाई मुख्य प्रतिस्पर्धी कांग्रेसले कडा टक्कर दिएका कारणले होइन कि सत्तामा हुँदा विकास निर्माणका नयाँ योजना जिल्लामा ल्याउन नसकेकामा मतदातामा असन्तुष्टि बढेकाले उनको प्रतिष्ठा दाउमा परेको हो ।

रावल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएको अछाम–१ एमालेको बलियो पकड भएको क्षेत्र हो । अझ एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर लडेका कारण यो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा वामपन्थी मत कांग्रेसको भन्दा धेरै बढी छ । रावलले ०७० सालमा यही क्षेत्रबाट संविधानसभा सदस्य जितेका हुन् भने पछिल्लो स्थानीय तह चुनावमा एमाले र माओवादी केन्द्रले यो क्षेत्रमा पाएको मत कांग्रेसको भन्दा १३ हजारले बढी छ । यही क्षेत्रमा एमाले र माओवादीले स्थानीय तहमा बढी सिट जितेका छन् ।

रावलसित कांग्रेसका स्थानीय नेता एवं पार्टी जिल्ला सभापति भरत स्वाँर उम्मेदवार छन् । ‘हेभिवेट’रावलका सामुन्ने स्वाँरको छवि धेरै पुड्को छ । राष्ट्रियस्तरको नेता भएका कारण रावलप्रति जिल्लाका मतदातामा एकातिर आकर्षण छ भने केन्द्रमा प्रभावशाली नेता र मन्त्री भएर पनि जिल्लामा विकास निर्माणका ठूला योजना र जनतालाई आर्थिक उपार्जन हुने कार्यक्रम ल्याउन नसकेको भनेर उनीप्रति विकर्षणसमेत देखिएको छ । ‘रावल पटकपटक उपप्रधानमन्त्री र मन्त्री भएर हामीलाई के भयो र ? विकास निर्माणमा रावलले जिल्लामा खासै काम गरेका छैनन्’ भन्ने असन्तुष्टि स्थानीयवासीको छ । सुदूर पश्चिमवासीमा मन्त्री भइसकेको नेतासित विकास निर्माणको बढी अपेक्षा गर्ने र नभएमा असन्तुष्टि व्यक्त गर्ने र टाढिने आम स्वभाव छ । टोलटोलमा रावलले के गरेर जिताउने भन्ने र यति ठूला नेतालाई हराउन हुन्न भनेर बहससमेत भइरहेको छ ।

रावललाई आफ्नै ठाडो स्वभावसमेत चुनौती बनिरहेको छ । कार्यकर्ता र जिल्लावासी विकास निर्माणका योजना माग्न जाँदा रावलले ‘म राष्ट्रकै नेता हो, मैले अछामको मात्र काम गर्ने हो र ?’भन्ने गरेकाले कतिपय जिल्लावासी र कार्यकर्ता उनीसित टाढिएका छन् । त्यस्ता कार्यकर्ता र मतदातालाई आफूतिर तान्न रावललाई हम्मेहम्मे परिरहेको छ ।

एमालेले रावलको प्रतिष्ठा जोगाउन ‘भावी प्रधानमन्त्री’ र ‘एमालेको भावी अध्यक्ष’भनेर प्रचारप्रसार गरिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछाडि रावल सुदूर पश्चिमकै दोस्रो ठूला नेता हुन् । रावलले अहिले ल्याउन नसके पनि भविष्यमा प्रचार गरिएजस्तै प्रभावशाली पदमा पुगेर जिल्ला र ७ नं. प्रदेशका लागि बढी विकास निर्माण ल्याउन सक्छन् भन्ने आकर्षणसमेत मतदातामा छ । रावल स्वयंले भने आफूलाई भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर आफूलाई जनतासमक्ष प्रस्तुत गरेका छैनन् । कार्यकर्ता पंक्तिले आफूलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष भनेर गरिरहेको प्रचारबाट हौसिएका छन् ।

एमालेले वाम गठबन्धनको मत सुरक्षित गर्न सकेमा रावलले सहजै जित्न सक्छन्, तर गठबन्धनको सबै मत रावलले पाउनेमा आशंका गर्नेहरूको जमातसमेत एमालेभित्रै छ । रावल यहीँबाट दुईपटक जितेको र दुईपटक पराजित भएको इतिहास छ । उनी ०५१ मा प्रतिनिधिसभा र ०७० संविधानसभा सदस्यमा विजयी भएका थिए भने ०४८ र ०५६ मा प्रतिनिधि सदस्यमा कांग्रेसका उम्मेदवारसित पराजित भएका थिए । ०६४ मा भने उनी समानुपातिक सिटबाट संविधानसभा सदस्य थिए । 
जिल्लाका मजदुरी गरेर जीविका चलाउने वर्ग रावलसित मात्र होइन कांग्रेससित समेत असन्तुष्ट छन् । उनीहरू खुला रूपमै जसले आफूलाई पैसा दिन्छ, उसैलाई मत दिने बताउँछन् । ‘कांग्रेसले जित्दा पनि हाम्रा लागि केही गरेन । रावलले जित्दा पनि केही भएन । अब त हामी जसले १० हजार रुपैयाँ दिन्छौं उसैलाई भोट दिन्छौं । पैसा नपाए भोट दिनै जान्नौं’बूढीगंगा किनारमा गिट्टी कुटिरहेकी दुर्गा कुमालले कान्तिपुरसित भनिन् ।

कांग्रेसका जिल्ला सचिव नमबहादुर शाहीले रावलले अछाममा विकास निर्माणको क्षेत्रमा नयाँ केही गर्न नसकेकाले एमालेले उनलाई जिताउन भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर प्रचारप्रसार गर्नुपरेको बताए । ०७० को संविधानसभा चुनाव र पछिल्लो स्थानीय चुनावमा गठबन्धनले ल्याएको मत विश्लेषण गर्दै कांग्रेसका नेतासमेत यो क्षेत्रमा आफ्नो उम्मेदवार जित्नेमा ढुक्क छैनन् । ‘जिल्लाका २ क्षेत्रमध्ये प्रतिनिधिसभाको २ नं. क्षेत्र जित्छौं, १ नं. क्षेत्र (रावल उम्मेदवार भएको क्षेत्र) मा जित्न ठूलै मिहिनेत गर्नुपर्छ’कांग्रेस नेता शाहीले भने ।

एमाले नेता रावल भने आफूले जित्नेमा शतप्रतिशत विश्वस्त छन् । ‘मैले जनप्रतिनिधिका रूपमा अछामवासीको विकास निर्माण र सुख दु:खमा धेरै काम गरेको छु, त्यो नै मेरो जितको आधार हो’उनले भने । विकास निर्माणमा सक्ने जति काम पनि नगरेको भन्ने जनगुनासो छ नि भन्ने जिज्ञासामा रावलले भने–‘मूलत: मसँग यहाँका अधिकांश जनता खुसी छन् । थोरैमात्र असन्तुष्ट होलान् । धेरैको जनसमर्थन मलाई छ ।’ गठबन्धनका कारणसमेत आफ्नो जितको आधार झन् बलियो भएको दाबी उनको छ ।

उनले अछामको साँफेबगर विमानस्थल कालोपत्रे गर्ने, मध्यपहाडी र सेती मार्ग विस्तार र स्तरोन्नति गर्ने काम आफ्नो पहलमा भइरहेको दाबी गरे । कांग्रेस नेता शाहीले भने रावलको दाबीमा सत्यता नरहेको दाबी गर्दै सिंगै सुदूर पश्चिम र अछाममा जति विकासनिर्माणका काम भएका छन्, त्या सबै कांग्रेसको पहलमा मात्र भएको दाबी गरे । २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाको निर्माण, सेती मार्ग र मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नति तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने, जनताको आर्थिक उपार्जन बढ्ने गरी आर्थिक विकास गर्ने कांग्रेस र वाम गठबन्धन दुवैले प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

१ नं मा रावलको उम्मेदवारीले २ नं. क्षेत्र पूरै ओझेलमा परेको छ । २ नं. मा कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञ बोगटी उम्मेदवार छन् । २ नं. मा पर्ने अधिकांश स्थानीय तहमा जितेको कांग्रेस यो क्षेत्र जित्नेमा ढुक्क छ । स्थानीय तहमा एमाले र माओवादीको गठबन्धन कांग्रेसको भन्दा झिनो मतले मात्र अगाडि छ, त्यही कारण गठबन्धनसमेत यो क्षेत्र जित्नेमा उत्तिकै विश्वस्त छ । कांग्रेसले स्थानीय तह बढी जितेर अछाम जिल्ला समन्य समिति एकल बहुमतसहित जितेको छ ।

एमाले र माओवादी केन्द्रले गठबन्धन स्थानीयस्तरसम्म प्रभावकारी ढंगले भइरहेको दाबी गरेका छन् । कांग्रेसले भने केन्द्रमा गठबन्धन भए पनि जिल्लामा प्रभावकारी हुन नसकेको र त्यसको फाइदा आफूलाई हुने दाबी गरेको छ । कांग्रेसले आफ्नो पार्टीसँग गठबन्धन गरेर माओवादीबाट मेयर र उपमेयर, गाउँपालिका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष जितेका सबैले आफ्ना उम्मेदवारलाई भोट हाल्ने दाबी गरेको छ । ‘माओवादीको मत हामीलाई आउँछ’ कांग्रेस नेता शाहीले भने । माओवादीले क्षेत्र नं. १ को प्रदेशसभातर्फको ‘ख’सिटमा पार्टीमा स्थानीय तहको चुनावका बेलामात्र आएका बैंकर झपट बोहरालाई उम्मेदवार बनाएको छ ।
 
बोहराको उम्मेदवारीलाई माओवादीका जनयुद्धकालदेखिका नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । त्यही असन्तुष्टिका कारण माओवादीको बढी भोट आफूलाई आउने दाबी कांग्रेसको छ । कांग्रेस नेता शाहीले माओवादीभित्रको विवादका कारण उसको बढी जनाधार भएको क्षेत्रबाट कांग्रेसलाई बढी भोट आउने दाबी गरे । संविधानसभा चुनाव–०७० का माओवादी उम्मेदवार खगेन्द्र रोकाया यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि उम्मेदवार हुन नपाएकामा असन्तुष्ट छन् । उनी गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसारमा हिडेका छैनन् । प्रतिनिधिसभाको २ नं. क्षेत्रमा एमालेभित्र समेत असन्तुष्टि छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि टिकट नपाएका कारण एमालेका निवर्तमान सांसद भरत साउद असन्तुष्ट छन् । उनको असन्तुष्टि सतहमा भने आइसकेको छैन ।

कांग्रेसभित्र उम्मेदवारीलाई लिएर केही असन्तुष्टि भए पनि वाम गठबन्धनका कारण पार्टीमाथि ठूलो चुनौती आएको महसुस गर्दै पार्टीपंक्ति एकताबद्ध हुने प्रयास गर्दैछ । ‘कांग्रेसभित्र जहिले पनि बागी र असन्तुष्टि हुन्थ्यो । यसपटक पनि असन्तुष्टि थियो । वाम गठबन्धनका कारण पार्टी अप्ठ्यारामा परेकाले स्थानीय नेता तथा कार्यकर्ता एकताबद्ध भएका छन् । कांग्रेसमा यस्तो एकता कहिल्यै थिएन’ शाहीले भने । 

प्रदेशसभातर्फ क्षेत्र नं. १ को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: मेघराख खडका र टेकबहादुर साउद तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका गोविन्दबहादुर कुँवर र ‘ख’ मा माओवादीका झपट बोहरा तथा २ नं. को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: सुरतबहादुर बिष्ट र बलबहादुर कुँवर तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका अक्कलबहादुर रावल र ‘ख’ मा माओवादीका बलबहादुर सोढारी उम्मेदवार छन् । 

प्रकाशित : कार्तिक २४, २०७४ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मन्त्रीको उपस्थितिमा विद्यालय सभास्थल, कक्षाकोठा बन्यो भान्सा

पर्यटनमन्त्री देव भन्छन्–‘विद्यालयमा कार्यक्रम भएको थाहै भएन'
अवधेशकुमार झा

खुरहुरिया (सप्तरी) — सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत विष्णुपुर गाउँपालिकाको खुरहुरिया चोक, जहाँ अवस्थित छ जनता माध्यमिक विद्यालय । यो विद्यालयमा शुक्रबार बिहान १० बजे विद्यार्थीको कक्षा सुरु हुनैलाग्दा अनौठो दृश्य देखियो । विद्यालय लाग्दा झन्डा लगाएको नदेखेका विद्यार्थीहरु आश्चर्य माने ।

विद्यालयको मुलगेटमा नेपाली कांग्रेसको चारतारे अनि रुख चिन्ह छापिएको झन्डा टांगियो । 

प्रधानाध्यापक सूर्यनारायण यादवको सहमतिमा कांग्रेस कार्यक्रताले झन्डा विद्यालयको मुलगेटमा टाग्नुका पछाडिको कारण थियो, सोही विद्यालय परिसरमै १ बजेदेखि कांग्रेसको पार्टी प्रवेश कार्यक्रम । १२ बजेपछि कार्यकर्ताको आगमन सुरु भयो । शुक्रबार भएका कारण चार घण्टीको पढाईपछि विद्यालयमा छुट्टी हुनेवित्तिकै घन्कियो स्पीकर अनि बज्न थाल्यो हिन्दी फिल्मी गीतहरु । ‘छतरी न खोल बरसातमे भिग जाने दे भिगी रातमे’भन्ने गीत चलिरहँदा कार्यकर्ता र नवप्रवेशीको संख्या बाक्लिँदै गयो । विद्यालय परिसरमा चारैतिर कांग्रेस र रुख चिन्ह भएको झन्डा लगाइयो ।
 

एउटा कक्षा कोठाभित्र ठूलो कराहीमा रेहु माछा फ्राई हुँदै थियो भने अर्कोमा रेहुको झोल तयारी हुँदै । उक्त कक्षा कोठाको स्थिति कुनै होटेलको भान्साभन्दा कम थिएन । अर्को ग्यास चुलोमा चियाको पानी तात्दै थियो । केहीबेरमा कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेशकुमार यादव आए अनि सुरु भयो कार्यक्रम । कक्षाकोठामा माछा पाक्दै थियो भने विद्यालय परिसरमा कांग्रेसको सभा । अनि विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादव पनि थिए अतिथिको लहरमा ।


प्रअ यादवले कांग्रेसको पक्षमा भोट माग्दै भाषण गर्न पनि भ्याए । दुईसाता अघि मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादव गृहजिल्ला सप्तरी आउँदा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भनेका थिए,‘सरकारी विद्यालयका शिक्षक राजनीतिमा प्रत्यक्ष सहभागी भएको हेर्नेवित्तिकै पक्राउ गर्नुस्, कारबाही चलाउनुस् ।’तर प्रअ यादव ढुक्कसँग विद्यालय समेत प्रयोग गर्न दिएर आफू अतिथि र वक्ता बने । 

कार्यक्रम सुरु भएको आधा घण्टामा भर्खरै कांग्रेससित पार्टी एकता गरी कांग्रेस नेता बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव आइपुगे । बा २ झ १९४७ नम्बरको सरकारी स्कारपियोमा आएका मन्त्री देव प्रमुख अतिथिको आसन ग्रहण गर्नेवित्तिकै सुरु भयो पार्टी प्रवेश कार्यक्रम । विद्यालयको हाताभित्र उपस्थितलाई सुरु भयो चिया वितरण । कोही चिया पाक्दै गरेको कक्षाकोठासम्मै पुगे भने अतिथि र अन्य कार्यकर्तालाई ठाउँमै चिया दिइयो ।
 
कार्यक्रम सकिएपछि साँझ विद्यालय परिसरमै माछा चिउराको भोज भयो । खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका भएको कार्यक्रमभन्दा अगाडि मन्त्री देवसहितको टोली पथ्थरगाडास्थित एउटा विद्यालयमै भएको चुनावी सभामा सहभागी भएको थियो । निर्वाचन आचारसंहिताविपरीत शुक्रबार सप्तरी जिल्लाका दुईवटा विद्यालयमा देखिएको दृश्य एउटै थियो । विद्यालयकै परिसर सभा स्थल बनेको थियो भने कक्षाकोठा भान्सा घर ।
 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि दलले विद्यालयमा सभा गर्न नपाउने बताए । उनले भने,‘सबै दलले निर्वाचन आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाएका छन् त्यसको विपरीत जान मिल्दैन ।’ उनले शुक्रबार आचारसंहिताविपरीत कार्यक्रम भए नभएको विषयमा जानकारी लिएपछि मात्र बताउन मिल्ने प्रतिक्रिया दिए ।

विद्यलायका व्यवस्थापन समिति अध्यक्ष जयनारायण यादवले निर्वाचन आचारसंहिता र विद्यालय शान्ति क्षेत्रको विपरीत गएर माछाचिउराको भोज र चुनावीसभा विद्यालय परिसरमा गर्नु जायज नभएको बताए । उनले आफूलाई कार्यक्रमबारे कुनै जानकारी नभएको तथा यस्तो कार्यको अनुमति दिनेमाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रअ सुर्यनारायण यादवले आफू कार्यक्रममा अतिथि र वक्ता भएको स्वीकारे । उनले आफ्नो अनुमतिवेगर नै विद्यालयमा मञ्च बनाइसकेकाले रोक्न नसकिएको र विद्यालयमा हुँदा आशनग्रहण र बोल्नका लागि समय दिएकाले बोलेको बताए । जिल्लाको २ वटा विद्यालयमा निर्वाचन आचारसंहिताविपरीतका कार्यक्रममा प्रमुख अतिथि भएका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवले कार्यक्रमहरु विद्यालयमा भएकोबारे आफू अनभिज्ञ रहेको बताए । उनले विद्यालय पसिरमा किन चुनावी सभा गरियो भन्ने विषयको जवाफ कांग्रेसको जिल्ला नेतृवले दिने बताए । 

पदीय दुरुपयोग गरी भोट माग्दै रेडक्रस सभापति
नेपाली कांग्रेसले सप्तरीको ३ नम्बर क्षेत्रका २ वटा विद्यालयमा गरेको चुनावी सभामा अतिथिको रुपमा थिए नेपाल रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत । पथ्थरगाडास्थित सखुवामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति भगतले अहिले आचारसंहिता लागू भएकाले बाढीपीडितलाई राहत वितरणमा समस्या आएको सुनाउँदै कांग्रेसको पक्षमा मत दिए राहत वितरण राम्ररी हुने आसयको भाषण गरे । 

सभापति भगत स्थानीय तह निर्वाचनको मुखमा राजपा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको हातबाट अबिर लगाउँदै राजपा प्रवेश गरेका थिए । उनले आफू व्यक्तिगत रुपमा कांग्रेस उम्मेदवारलाई मत मागेको प्रतिक्रिया दिए ।

प्रकाशित : कार्तिक २४, २०७४ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT