पोखरामा नयाँ एजेन्डा : ‘चिनियाँ रेल’को सपना

दुर्गा खनाल/लालप्रसाद शर्मा

पोखरा — धारा, पानी, बत्ती वर्षौंदेखिका स्थायी प्रमुख चुनावी मुद्दा हुन् । उम्मेदवारले दिने आश्वासन र मतदाताका मुख्य चासो पनि यिनै थिए । तर यस पटक चुनावी एजेन्डामा नयाँ विषय थपिएको छ– ‘चिनियाँ रेल ।’ दलका राष्ट्रिय घोषणापत्र मात्र होइन, प्रदेश ४ का उम्मेदवारको स्थानीय घोषणामै ‘चिनियाँ रेल’ प्राथमिकतामा परेको छ ।

विशेष गरी चीनको तिब्बतबाट काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेका बेला त्यसको अधिकतम फाइदा पोखरा आसपासका क्षेत्रलाई हुने भन्दै उम्मेदवारहरूले चुनावी एजेन्डा बनाएका छन्  । 

मत माग्न घरदैलोमा जुटिरहेका बेला गत बुधबार रेलमार्ग अध्ययन गर्न चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोली पोखरामै आएपछि मतदातालाई आश्वासन दिन उम्मेदवारलाई झन् सजिलो भएको छ । मतदाताले पनि यो विषयप्रति निकै चासो बढाएका छन् । चिनियाँ टोलीले कास्कीको विरौटा, हेम्जा र विजयपुर क्षेत्रमा सम्भावित रेलवे स्टेसनबारे स्थलगत अवलोकन गरेको थियो । ‘प्रदेश ४ लाई पर्यटकीय केन्द्र बनाउनका लागि चिनियाँ रेल आयो भने झन् सहज हुन्छ,’ स्थानीय बुद्धिजीवी परशुराम शर्माले भने, ‘रेलको सर्वेक्षणसमेत हुने तयारीले हाम्रो पनि ध्यान खिचेको छ ।’ उनलाई पाँच वर्षमा चिनियाँ रेल आइपुग्ला भन्ने विश्वास छैन तर प्रदेश ४ लाई नै प्रमुख रुट बनाएर त्यससम्बन्धी काम अघि बढ्यो भने ठूलो उपलब्धि हुने उनी ठान्छन् । ‘यही रुट भएर जाने सम्भावना भएकाले उम्मेदवारहरूले आफ्नो एजेन्डामा यो विषय पनि छिराएका हुन्,’ शर्माले भने । 

प्रदेश ४ लाई प्रमुख पर्यटकीय राजधानी बनाउने सबै दलका उम्मेदवारको साझा घोषणा छ । यो घोषणामा पछिल्लो समय आएको ‘चिनियाँ रेल’ को सपनाले पनि स्थान पाएको हो । कांग्रेस उम्मेवारहरूले एक साताअघि सार्वजनिक गरेको स्थानीय घोषणापत्रमा ‘नि:शुल्क स्वास्थ्य सेवादेखि केबुलकार, जलविद्युत्, चक्रपथ निर्माण र रेलवे’ सम्मका योजना छन् । वामपन्थी गठबन्धनले त झन् रेलको प्रसंग छुटाउने नै भएनन् । केपी ओली प्रधानमन्त्री भएका बेला चीनसँग यससम्बन्धी कुरा अघि बढेको भन्दै यसबारे अतिरिक्त व्याख्यासहित मत माग्ने गरेको छ । ‘केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गरी विकासका सम्भावनाका ढोका खोल्न’ का लागि आफ्नो गठबन्धलाई जिताउनुपर्ने आहवानसहितका पर्चा मतदातालाई बाँडेका छन् ।

मुस्ताङको कोरला नाका स्तरोन्नतिसहित सधैं सञ्चालन, पोखरा हँुदै लुम्बिनीसम्म रेल र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै प्रदेश ४ को समृद्धिको मूल आधार हुने धारणा उम्मेदवारहरूको छ । भारतले नाकाबन्दी लगाएका बेला चीन र नेपाल सरकारबीच तिब्बतको सिमाना जोड्ने नाकाहरू सञ्चालन गर्ने समझदारी भएको थियो । समझदारीपछि संसदको विकास समितिले पनि कोरला नाका सञ्चालनका लागि स्थलगत अध्ययन गरेको थियो । संसदीय समितिले कोरला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । 

‘पोखरा पर्यटनकै राजधानी हो र यो प्रदेशकै मुख्य आकर्षण यसैमा छ,’ कास्की क्षेत्र नं. १ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘धार्मिकदेखि अन्य सबै खालका पर्यटनका लागि थप पूर्वाधार तयार गर्नुपर्नेछ । त्यो गर्न सकियो भने यो सबैभन्दा समृद्ध प्रदेश हुन्छ ।’ नेपाल भित्रिनेमध्ये झन्डै ७० प्रतिशत पर्यटक पोखरा र यो आसपासका पर्यटकीय क्षेत्रमा पुग्छन् । बर्सेनि ५ लाखभन्दा बढी पर्यटक यो क्षेत्रमा आउँछन् । सबै पूर्वाधार बन्ने हो भने यो संख्या हवात्तै बढ्छ । पछिल्लो समय ट्रेकिङ रुटमा राम्रो सुविधा भएकाले पर्यटकहरू बढिरहेका छन् ।

‘सबै पूर्वाधार तयार गर्न सक्ने हो भने नेपाल भित्रिने सबै पर्यटकलाई यो क्षेत्रमा ल्याउन सकिन्छ,’ कास्की २ मा वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले भने, ‘विदेशी मात्र होइन स्वदेशी पर्यटकका लागि पनि यो क्षेत्र प्रमुख गतव्य बन्दैछ ।’ उनका अनुसार चीनसँगको कोरला नाका हुँदै त्रिवेणीबाट भारत जोड्ने रुटले यो क्षेत्रमा थप समृद्धि ल्याउने छ । 

वर्षौंैदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ कम्पनीले काम अघि बढाएको छ । यो विमानस्थल सुचारु हुँदासम्म अन्य पूर्वाधार तयार गर्नुपर्ने भन्दै उम्मेदवारहरूले चुनावी योजनामा स्याटेलाइट सिटीदेखि अन्य सडक निर्माणसम्मका विषय अघि सारेका छन् । पोखरा आसपासका क्षेत्रहरू स–साना सहरहरू बनाउने र मुख्य केन्द्रमा बढ्न सक्ने जनघनत्वलाई घटाउने योजना उम्मेदवारहरूको छ । ‘पोखराको केन्द्रमा जनघनत्व बढिरहेको छ, यसलाई कम गर्न नजिकका अन्य स्थानहरूलाई विकास गर्नुपर्छ,’ क्षेत्र २ को प्रदेशसभा ‘क’ का कांग्रेस उम्मेदवार गुरु बरालले भने, ‘त्यसमा हामीले मुख्य चासो दिएका छौं ।’

पोखरा सहरलाई स्मार्ट बनाउनेदेखि ताल संरक्षणसम्मका विषय उम्मेदवारका प्राथमिकतामा छन् । कास्कीको प्रमुख आकर्षणका रूपमा रहेका तालहरू अतिक्रमणमा परेका छन् । तिनलाई जोगाउने वाचा उम्मेदवारको छ । ‘तालहरूको खास क्षेत्रफल कति हो भन्ने निर्धारण भइसकेको छ त्यसको संरक्षण र विकास हाम्रो मुख्य चासो हुनेछ,’ वामपन्थी गठबन्धनका तर्फबाट प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार राजीव पहारीले भने, ‘फेवाताललाई पुरानै अवस्थामा पुर्‍याउने र वरिपरि पैदलमार्ग बनाइने छ ।’ 

प्रदेश ४ को राजधानीका रूपमा पोखरालाई हेरिएको छ । अन्य प्रदेशमा कुन स्थानमा राजधानी राख्ने भन्ने विवाद छ । तर प्रदेश ४ मा पोखराबाहेक अन्य विकल्प आएको छैन । त्यसैले प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार विकास पनि प्राथमिकतामा परेको छ । शैक्षिक र स्वास्थ्य पर्यटनको अवधारणा पनि चुनावी एजेन्डाका रूपमा आएको छ । यहाँ पोखरा विश्वविद्यालय, मनिपाल र गण्डकी मेडिकल कलेज, त्रिविको वनविज्ञान अध्यय संस्थान, दुई/दुई इन्जिनियरिङ कलेज र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज छन् । यसमा अझै सुधार्दै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने आश्वासन पनि मतदातालाई दिएका छन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसकारण दाउमा छ नेता रावलको प्रतिष्ठा

बलराम बानियाँ/मेनुका ढुंगाना

अछाम — प्रदेश नं. ७ को अछाम जिल्लामा आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा चुनावमा एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलको प्रतिष्ठा दाउमा छ । गृह र रक्षा मन्त्रीसमेत भइसकेका रावललाई मुख्य प्रतिस्पर्धी कांग्रेसले कडा टक्कर दिएका कारणले होइन कि सत्तामा हुँदा विकास निर्माणका नयाँ योजना जिल्लामा ल्याउन नसकेकामा मतदातामा असन्तुष्टि बढेकाले उनको प्रतिष्ठा दाउमा परेको हो ।

रावल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएको अछाम–१ एमालेको बलियो पकड भएको क्षेत्र हो । अझ एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर लडेका कारण यो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा वामपन्थी मत कांग्रेसको भन्दा धेरै बढी छ । रावलले ०७० सालमा यही क्षेत्रबाट संविधानसभा सदस्य जितेका हुन् भने पछिल्लो स्थानीय तह चुनावमा एमाले र माओवादी केन्द्रले यो क्षेत्रमा पाएको मत कांग्रेसको भन्दा १३ हजारले बढी छ । यही क्षेत्रमा एमाले र माओवादीले स्थानीय तहमा बढी सिट जितेका छन् ।

रावलसित कांग्रेसका स्थानीय नेता एवं पार्टी जिल्ला सभापति भरत स्वाँर उम्मेदवार छन् । ‘हेभिवेट’रावलका सामुन्ने स्वाँरको छवि धेरै पुड्को छ । राष्ट्रियस्तरको नेता भएका कारण रावलप्रति जिल्लाका मतदातामा एकातिर आकर्षण छ भने केन्द्रमा प्रभावशाली नेता र मन्त्री भएर पनि जिल्लामा विकास निर्माणका ठूला योजना र जनतालाई आर्थिक उपार्जन हुने कार्यक्रम ल्याउन नसकेको भनेर उनीप्रति विकर्षणसमेत देखिएको छ । ‘रावल पटकपटक उपप्रधानमन्त्री र मन्त्री भएर हामीलाई के भयो र ? विकास निर्माणमा रावलले जिल्लामा खासै काम गरेका छैनन्’ भन्ने असन्तुष्टि स्थानीयवासीको छ । सुदूर पश्चिमवासीमा मन्त्री भइसकेको नेतासित विकास निर्माणको बढी अपेक्षा गर्ने र नभएमा असन्तुष्टि व्यक्त गर्ने र टाढिने आम स्वभाव छ । टोलटोलमा रावलले के गरेर जिताउने भन्ने र यति ठूला नेतालाई हराउन हुन्न भनेर बहससमेत भइरहेको छ ।

रावललाई आफ्नै ठाडो स्वभावसमेत चुनौती बनिरहेको छ । कार्यकर्ता र जिल्लावासी विकास निर्माणका योजना माग्न जाँदा रावलले ‘म राष्ट्रकै नेता हो, मैले अछामको मात्र काम गर्ने हो र ?’भन्ने गरेकाले कतिपय जिल्लावासी र कार्यकर्ता उनीसित टाढिएका छन् । त्यस्ता कार्यकर्ता र मतदातालाई आफूतिर तान्न रावललाई हम्मेहम्मे परिरहेको छ ।

एमालेले रावलको प्रतिष्ठा जोगाउन ‘भावी प्रधानमन्त्री’ र ‘एमालेको भावी अध्यक्ष’भनेर प्रचारप्रसार गरिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछाडि रावल सुदूर पश्चिमकै दोस्रो ठूला नेता हुन् । रावलले अहिले ल्याउन नसके पनि भविष्यमा प्रचार गरिएजस्तै प्रभावशाली पदमा पुगेर जिल्ला र ७ नं. प्रदेशका लागि बढी विकास निर्माण ल्याउन सक्छन् भन्ने आकर्षणसमेत मतदातामा छ । रावल स्वयंले भने आफूलाई भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर आफूलाई जनतासमक्ष प्रस्तुत गरेका छैनन् । कार्यकर्ता पंक्तिले आफूलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष भनेर गरिरहेको प्रचारबाट हौसिएका छन् ।

एमालेले वाम गठबन्धनको मत सुरक्षित गर्न सकेमा रावलले सहजै जित्न सक्छन्, तर गठबन्धनको सबै मत रावलले पाउनेमा आशंका गर्नेहरूको जमातसमेत एमालेभित्रै छ । रावल यहीँबाट दुईपटक जितेको र दुईपटक पराजित भएको इतिहास छ । उनी ०५१ मा प्रतिनिधिसभा र ०७० संविधानसभा सदस्यमा विजयी भएका थिए भने ०४८ र ०५६ मा प्रतिनिधि सदस्यमा कांग्रेसका उम्मेदवारसित पराजित भएका थिए । ०६४ मा भने उनी समानुपातिक सिटबाट संविधानसभा सदस्य थिए । 
जिल्लाका मजदुरी गरेर जीविका चलाउने वर्ग रावलसित मात्र होइन कांग्रेससित समेत असन्तुष्ट छन् । उनीहरू खुला रूपमै जसले आफूलाई पैसा दिन्छ, उसैलाई मत दिने बताउँछन् । ‘कांग्रेसले जित्दा पनि हाम्रा लागि केही गरेन । रावलले जित्दा पनि केही भएन । अब त हामी जसले १० हजार रुपैयाँ दिन्छौं उसैलाई भोट दिन्छौं । पैसा नपाए भोट दिनै जान्नौं’बूढीगंगा किनारमा गिट्टी कुटिरहेकी दुर्गा कुमालले कान्तिपुरसित भनिन् ।

कांग्रेसका जिल्ला सचिव नमबहादुर शाहीले रावलले अछाममा विकास निर्माणको क्षेत्रमा नयाँ केही गर्न नसकेकाले एमालेले उनलाई जिताउन भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर प्रचारप्रसार गर्नुपरेको बताए । ०७० को संविधानसभा चुनाव र पछिल्लो स्थानीय चुनावमा गठबन्धनले ल्याएको मत विश्लेषण गर्दै कांग्रेसका नेतासमेत यो क्षेत्रमा आफ्नो उम्मेदवार जित्नेमा ढुक्क छैनन् । ‘जिल्लाका २ क्षेत्रमध्ये प्रतिनिधिसभाको २ नं. क्षेत्र जित्छौं, १ नं. क्षेत्र (रावल उम्मेदवार भएको क्षेत्र) मा जित्न ठूलै मिहिनेत गर्नुपर्छ’कांग्रेस नेता शाहीले भने ।

एमाले नेता रावल भने आफूले जित्नेमा शतप्रतिशत विश्वस्त छन् । ‘मैले जनप्रतिनिधिका रूपमा अछामवासीको विकास निर्माण र सुख दु:खमा धेरै काम गरेको छु, त्यो नै मेरो जितको आधार हो’उनले भने । विकास निर्माणमा सक्ने जति काम पनि नगरेको भन्ने जनगुनासो छ नि भन्ने जिज्ञासामा रावलले भने–‘मूलत: मसँग यहाँका अधिकांश जनता खुसी छन् । थोरैमात्र असन्तुष्ट होलान् । धेरैको जनसमर्थन मलाई छ ।’ गठबन्धनका कारणसमेत आफ्नो जितको आधार झन् बलियो भएको दाबी उनको छ ।

उनले अछामको साँफेबगर विमानस्थल कालोपत्रे गर्ने, मध्यपहाडी र सेती मार्ग विस्तार र स्तरोन्नति गर्ने काम आफ्नो पहलमा भइरहेको दाबी गरे । कांग्रेस नेता शाहीले भने रावलको दाबीमा सत्यता नरहेको दाबी गर्दै सिंगै सुदूर पश्चिम र अछाममा जति विकासनिर्माणका काम भएका छन्, त्या सबै कांग्रेसको पहलमा मात्र भएको दाबी गरे । २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाको निर्माण, सेती मार्ग र मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नति तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने, जनताको आर्थिक उपार्जन बढ्ने गरी आर्थिक विकास गर्ने कांग्रेस र वाम गठबन्धन दुवैले प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

१ नं मा रावलको उम्मेदवारीले २ नं. क्षेत्र पूरै ओझेलमा परेको छ । २ नं. मा कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञ बोगटी उम्मेदवार छन् । २ नं. मा पर्ने अधिकांश स्थानीय तहमा जितेको कांग्रेस यो क्षेत्र जित्नेमा ढुक्क छ । स्थानीय तहमा एमाले र माओवादीको गठबन्धन कांग्रेसको भन्दा झिनो मतले मात्र अगाडि छ, त्यही कारण गठबन्धनसमेत यो क्षेत्र जित्नेमा उत्तिकै विश्वस्त छ । कांग्रेसले स्थानीय तह बढी जितेर अछाम जिल्ला समन्य समिति एकल बहुमतसहित जितेको छ ।

एमाले र माओवादी केन्द्रले गठबन्धन स्थानीयस्तरसम्म प्रभावकारी ढंगले भइरहेको दाबी गरेका छन् । कांग्रेसले भने केन्द्रमा गठबन्धन भए पनि जिल्लामा प्रभावकारी हुन नसकेको र त्यसको फाइदा आफूलाई हुने दाबी गरेको छ । कांग्रेसले आफ्नो पार्टीसँग गठबन्धन गरेर माओवादीबाट मेयर र उपमेयर, गाउँपालिका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष जितेका सबैले आफ्ना उम्मेदवारलाई भोट हाल्ने दाबी गरेको छ । ‘माओवादीको मत हामीलाई आउँछ’ कांग्रेस नेता शाहीले भने । माओवादीले क्षेत्र नं. १ को प्रदेशसभातर्फको ‘ख’सिटमा पार्टीमा स्थानीय तहको चुनावका बेलामात्र आएका बैंकर झपट बोहरालाई उम्मेदवार बनाएको छ ।
 
बोहराको उम्मेदवारीलाई माओवादीका जनयुद्धकालदेखिका नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । त्यही असन्तुष्टिका कारण माओवादीको बढी भोट आफूलाई आउने दाबी कांग्रेसको छ । कांग्रेस नेता शाहीले माओवादीभित्रको विवादका कारण उसको बढी जनाधार भएको क्षेत्रबाट कांग्रेसलाई बढी भोट आउने दाबी गरे । संविधानसभा चुनाव–०७० का माओवादी उम्मेदवार खगेन्द्र रोकाया यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि उम्मेदवार हुन नपाएकामा असन्तुष्ट छन् । उनी गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसारमा हिडेका छैनन् । प्रतिनिधिसभाको २ नं. क्षेत्रमा एमालेभित्र समेत असन्तुष्टि छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि टिकट नपाएका कारण एमालेका निवर्तमान सांसद भरत साउद असन्तुष्ट छन् । उनको असन्तुष्टि सतहमा भने आइसकेको छैन ।

कांग्रेसभित्र उम्मेदवारीलाई लिएर केही असन्तुष्टि भए पनि वाम गठबन्धनका कारण पार्टीमाथि ठूलो चुनौती आएको महसुस गर्दै पार्टीपंक्ति एकताबद्ध हुने प्रयास गर्दैछ । ‘कांग्रेसभित्र जहिले पनि बागी र असन्तुष्टि हुन्थ्यो । यसपटक पनि असन्तुष्टि थियो । वाम गठबन्धनका कारण पार्टी अप्ठ्यारामा परेकाले स्थानीय नेता तथा कार्यकर्ता एकताबद्ध भएका छन् । कांग्रेसमा यस्तो एकता कहिल्यै थिएन’ शाहीले भने । 

प्रदेशसभातर्फ क्षेत्र नं. १ को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: मेघराख खडका र टेकबहादुर साउद तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका गोविन्दबहादुर कुँवर र ‘ख’ मा माओवादीका झपट बोहरा तथा २ नं. को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: सुरतबहादुर बिष्ट र बलबहादुर कुँवर तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका अक्कलबहादुर रावल र ‘ख’ मा माओवादीका बलबहादुर सोढारी उम्मेदवार छन् । 

प्रकाशित : कार्तिक २५, २०७४ ००:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT