निष्काशित इरानीलाई अर्को मुद्दा

जनकराज सापकोटा

काठमाडौं — देशनिकाला गरिएको व्यक्ति फेरि देश फर्केको भन्दै इरानी नागरिक हमिद रेजामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । चैत २८ गते नेपाल आएका इरानी नागरिक हमिदमाथि ओभरस्टे, नक्कली पासपोर्ट, नेपालको कानुन उल्लंघन गरेको भन्दै गृह मन्त्रालयले ५ भदौमा पाँच वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

निष्कासित नागरिक फेरि नेपाल फर्केको भन्दै मुद्दा चलाइएको सम्भवत: यो पहिलो मुद्दा हो । 

४ कात्तिकमा टर्किस एयरलाइन्सको विमानमार्फत टर्की उडेका उनी टर्कीको अंकोरास्थित विमानस्थलबाट भाग्न खोजेका थिए । अध्यागमन कानुन उल्लंघन गरी भाग्न खोजेको भन्दै उनलाई टर्किस प्रहरीले पक्रेर नेपालसम्मै ल्याएर छोडिदिएको थियो । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट निष्कासित नागरिक फेरि नेपाल नै फर्केपछि के गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो । यही अन्योलका कारण हमिदले झन्डै एक साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै बिताएका थिए । 

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार निष्कासित नागरिक जुनसुकै कारणले भए पनि नेपाल फर्केकै कारण फेरि मुद्दा चलाइएको बताए । कान्तिपुरसँग कुरा गर्दै काफ्लेले भने, ‘नेपालको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीमाथि मुद्दा चलाइएको छ ।’ इरानी नागरिक हमिदको क्रियाकलाप शंकास्पद भएको भन्दै प्रहरीले उनीमाथि विशेष निगरानी राखेको थियो । युरोपेली वा अमेरिकी मुलुक पुगेर शरणार्थीको हैसियतमा बस्ने सपना देखेर नेपाल आएका उनी नक्कली पासपोर्टको सहारा लिएर भारतको बाटो हँुदै युरोपेली मुलुक जाने दाउमा थिए । नक्कली पासपोर्टकै भरमा भारतको नयाँदिल्लीस्थित विमानस्थल पुगेका उनी भारतीय अध्यागमन अधिकारीको फन्दामा परेका थिए । दिल्ली विमानस्थलबाटै सोझै काठमाडौं फर्काइएपछि मात्रै हमिदमाथि नेपालमा मुद्दा चलाइएको थियो । 

आफ्नो देश फर्किन नसक्ने र जबर्जस्ती फर्काइए आफ्नो ज्यानमाथि खतरा रहेको भन्दै आफू टर्कीबाट भाग्न खोजेको हमिदले बताउँदै आएका छन् । अध्यागमन स्रोतका अनुसार हमिद कुनै पनि हालतमा इरान नफर्किने अडानमा छन् । उनी कुनै मानव तस्करको निर्देशनमा नेपाल हँुदै कुनै युरोपेली मुलुक छिर्न खोजेका हुन् कि भन्ने आशंका गरे पनि अध्यागमनले त्यसको आधार फेला पारिसकेको छैन । न अध्यागमनले उनी आफ्नो देश फर्किन नसक्नुको यकिन कारण नै पत्तो लगाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?