२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मतदाताको एउटै माग– समृद्ध काँठ

दीपेन्द्र विष्ट

काठमाडौं — चाबहिल–साँखु खण्डमा सडकका दायाँबायाँ भत्काएका जीर्ण घर, धुलाम्मे र हिलाम्मे सडक देखिन्छन् । दक्षिणढोकादेखि साँखु पुग्नजेल सडकको धूलोमै हराएर गाडी कुदिरहेका छन् । सडक दायाँबायाँका घरहरू भत्काउने क्रम पनि जारी छ । तर, तत्कालै यो सडक कालोपत्रे हुने सम्भावना भने छैन ।

मतदाताको एउटै माग– समृद्ध काँठ

जहरसिंहपौवादेखि नाङ्लेभारेको छाप भञ्ज्याङसम्म पनि सडकको अवस्था उस्तै नाजुक छ । धूलो र हिलोले सडकवरपरका बासिन्दाले हैरानी खेप्नुपरेको छ । ३ वर्षअघि कालोपत्रे गरिएको सडक भत्किएर कच्ची जस्तै भएका छन् । सार्वजनिक यातायातको स्थिति झनै नाजुक छ । यात्रु ठेलमठेल गरी गन्तव्य पुग्नुको विकल्प छैन । 

त्यसैगरी कीर्तिपुरदेखि दक्षिणकाली पुग्ने सडकको कालोपत्रे पनि विभिन्न स्थानमा उप्किएर नाजुक अवस्था छ । यी केही उदाहरण मात्र हुन् ।

प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै गर्दा मतदातालाई राजनीतिक पार्टीको घोषणापत्रले छुन सकेको छैन । मतदाताहरू गाउँ बस्ती र टोलटोलमा मत माग्न पुग्ने उम्मेदवारसँग सडक बाटो, सिँचाइ, खानेपानीलगायत विकासको माग गरिरहेका छन् । काँठका अघिकांश सडकको अवस्था नाजुक छ । यसैले यहाँका मतदाताको अहिले एउटै मत देखिन्छ– ‘जसले विकास गर्छ, उसैलाई भोट ।’

‘विकास र समृद्धि चाहिएको छ, दूरदराजका सडक कालोपत्र भइसके, हाम्रो अवस्था जस्ताको त्यस्तै छ,’ थलीका सहदेव केसीले भने, ‘अब आममानिसलाई दलका आकर्षक घोषणापत्रभन्दा पनि विकास चाहिएको छ ।’ विकास गर्ने पार्टीलाई चुन्नुपर्ने उनले सुनाए । भन्छन्, ‘गफ गरी भोट लिएर जाने अनि गाउँतिर नफर्कनेलाई यसपालि भोट दिने होइन ।’

केही दिन घरदैलो गर्दै पुगेका क्षेत्र २ का एमाले उम्मेदवार माधवकुमार नेपालसँग मतदाताले सडक कालोपत्रेका लागि अनुरोध गरेको प्रशंग सुनाउँदै केसीले भने, ‘उम्मेदवारसँग मतलब छैन, विद्युत्, खानेपानी र सडक कालोपत्रेका लागि प्रत्येक व्यक्तिले अनुरोध गरेका हुन्छ, मानिसलाई आफ्नो दैनिकी सहजसँग कसरी बढ्छ भन्नेमै छ ।’

जहरसिंहपौवाका राजेन्द्र वाइबा पनि कांग्रेस, एमाले कुनै पार्टीका भरमा भोट नदिने भन्दै जनताले विकास चाहेको बताउँछन् । ‘भाषण गरी जनताले भोट हाल्छन् भन्ने भ्रम पाल्ने दिन गएजस्तो लाग्छ, किनभने प्रत्येक मानिसलाई आफ्नो ठाउँको विकास चाहिएको छ,’ उनले भने, ‘जता गए पनि मानिसले उम्मेदवारलाई आफ्नो टोलको विकास गर्ने/नगर्ने प्रश्न गरेको भेटिन्छ ।’ 

दक्षिणकालीका दीपक केसीले संविधान निर्माण भइसकेकाले विकासको माध्यमबाट प्रत्येक मानिसले आर्थिक समृद्धि खोजेको बताए । सडक, बत्तीलगायत भौतिक पूर्वाधार विकास आवश्यकता रहेकाले मतदाताले उम्मेदवारसँग माग गर्नु स्वभाविक रहेको उनको भनाइ छ ।

‘दक्षिणकाली र छमैलेको ग्रामीण बस्तीमा फलेको आलु र गोलभेडा सजिलै बजारमा पुर्‍याउन सकिन्छ भनेर मतदाताले सोचेका छन्,’ उनले भने, ‘यसका लागि गतिलो सडक र यातायातको व्यवस्था हुनुपर्‍यो । मतदाताले उम्मेदवारसँग ग्रामीण र कृषि सडक माग गरेका छन् ।’

काठमाडौं क्षेत्र २ का प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार लोकेश ढकालले अबको ५ वर्ष चुनिने उम्मेदवारको मुख्य एजेन्डा नै विकास र समृद्धि भएको बताए । ‘मतदाताले उम्मेदवारलाई विकास लागि प्रश्न सोध्नु स्वाभाविकै हो, हामीले गणतन्त्र र संविधानको नारा दिएर भोट माग्यौं त्यो पूरा भयो, अब सबैलाई आर्थिक समृद्धि चाहिएको छ,’ उनले भने, ‘अब ५ वर्षका लागि जित्ने उम्मेदवारले विकासका लागि सोच्नैपर्छ ।’

काठमाडौं क्षेत्र २ प्रदेसभा (ख) का एमाले उम्मेदवार मणिराम फुयालले प्रत्येक मतदाताले विकासका लागि आग्रह गरिराखेको बताए । ‘मतदाताको माग ठीक हो जसले विकास गर्छ, उसलाई भोट दिन्छु भन्ने, यसलाई सकारात्मक लिनुपर्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?