एमाले आमसभातिर, कांग्रेस घरदैलोमा

मोहन शाही

डोटी — मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र कांग्रेस उम्मेदवार फरकफरक रणनीतिसाथ प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेदवारसँगै नेता तथा कार्यकर्तासमेत चुनावी प्रचारमा होमिएका छन् ।

एमाले आमसभातिर, कांग्रेस घरदैलोमा

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यति बेला वाम गठबन्धनका उम्मेदवार आमसभा तथा कार्यकर्ता भेलामा केन्द्रित छन् । कांग्रेस भने घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढिरहेको छ ।

कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा मन्त्री वीरबहादुर बलायर शुक्रबार बिहानैबाट कार्यकर्ता भेटघाटमा जुटेका छन् । दिपायलको सत्कार होटलमा रहेका बलायरले बिहीबार रातिसम्म शिखर नगरपालिकामा घरदैलो गरे । शुक्रबार दिउँसोबाट दिपायल सिलगढी नगरपालिकाभित्रै उनी मतदाताको घरदैलोमा छन् ।

प्रदेशतर्फको निर्वाचन क्षेत्र क मा कांग्रेसका उम्मेदवार भरतबहादुर खडकाले गृह गाउँपालिका पूर्वीचौकीको गाँजरी, पोखरीमा घरदैलो तथा कार्यकर्ता भेटघाट गरी शुक्रबार काडामाडौंमा आइपुगेका छन् । क्षेत्र नं. ख का उम्मेदवार योगेन्द्र शाहीले केआईसिंह गाउँपालिकाको वायलदेखि गणेशकाँडा–लोली–डुम्राकोटसम्मका कार्यकर्ता तथा मतदातासँग भेटघाट गरे । शाहीका साथमा समानुपातिक उम्मेदवार पदमराज जोशी पनि सँगै हिँडेका छन् । कांग्रेसले जिल्लामा अगुवा कार्यकर्तासँग छलफल सकेर घरदैलो तथा गाउँ तहका कार्यकर्ता भेटघाटलाई प्राथमिकता दिएको छ । कांग्रेस उम्मेदवार वाम गठबन्धनले अधिनायकबाद लाद्ने आरोप लगाउँदै जिल्लाको दीर्घकालीन समृद्धिका लागि योग्य, अनुभवीलाई जिताउन भन्दै मतदातासित आग्रह गरिरहेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवारहरू भने संयुक्त रूपमा आमसभा तथा कार्यकर्ता भेलामा व्यस्त छन् । उनीहरूले सदरमुकाम नजिकका गाउँपालिकामै जिल्ला तहका नेतासहित पुगेर अगुवा कार्यकर्ताको भेलालाई प्राथमिकता दिइरहेका छन् । बिहीबार वाम गठबन्धनले दिपायलस्थित दिल्पेश्वर मठमा बृहत् कार्यकर्ता भेला तथा आमसभा गरेको थियो । आदर्श गाउँपालिकामा शुक्रबार आमसभा गरिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगर, प्रदेशतर्फ निर्वाचन क्षेत्र क का चक्र मल्ल, ख का त्रिलोचन भट्ट, समानुपातिक उम्मेदवार शिवसिंह ओलीले कार्यकर्तामाझ चुनावी एजेन्डा प्रस्तुत गर्दै विजयका लागि मैदानमा खटिन आग्रह गरेका थिए । उनीहरूले वाम गठबन्धनको नेतृत्वमा स्थिर सरकार र समृद्धिका लागि नयाँ अनुहारलाई भोट मागिरहेका छन् ।

जिल्लामा लोकतान्त्रिक र वाम गठबन्धनपछिको शक्तिका रूपमा रहेको राष्ट्रिय जनमोर्चाले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम चलाउँदै आएको छ । नेकपा मसालका महामन्त्रीको उपस्थितिमा बिहान पत्रकार सम्मेलन गरेको जनमोर्चाले दिउँसो कार्यकर्ता प्रशिक्षण राखेको थियो । जनमोर्चाले वाम गठबन्धन बुर्जुवा रहेको तथा कांग्रेस भारतीय बिस्तारवादसँग नजिक रहेकाले आफ्ना उम्मेदवारलाई भोट मागेका छन् । १ लाख ६ हजार ५३४ मतदाता रहेको डोटीमा ४९ हजार १४३ पुरुष र ५७ हजार ४ सय महिलाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?