कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एमाले र माओवादीबीचको एकताबाट विपक्षी अत्तालिए : अध्यक्ष ओली

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रम खनाल

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

एमाले र माओवादीबीचको एकताबाट विपक्षी अत्तालिए : अध्यक्ष ओली

झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए । 'नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,' उनले भने । आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका अध्यक्ष चुनावी दौडाहामा आएका हुन् । वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन् ।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रम खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन् ।

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—'अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।'

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै 'अब देशले छिट्टै निकास पाउनेछ, वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउँछ,' भने ।

देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उनले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे ।

इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको सडक, विद्युत्, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताए ।

- रासस

प्रकाशित : कार्तिक २५, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?