कांग्रेसले अब मुलुकको नेतृत्व गर्न सक्दैन : पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्थायी सरकारका लागि वाम गठबन्धन नै अहिलेको अपरिहार्य शक्ति रहेको बताएका छन् ।

कांग्रेसले अब मुलुकको नेतृत्व गर्न सक्दैन : पोखरेल

आफू उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र ५ को कार्यक्रमलाई शनिबार धापासीमा सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ, त्यसैले देश समृद्धिका लागि अब बहुमतको सरकार आवश्यक छ ।’ कांग्रेस पटक पटक बहुमत ल्याएर परीक्षण भइसकेको पार्टी भन्दै उनले जनतालाई विकास र समृद्धि दिने कुरामा कांग्रेस पूर्णत: असफल भएको दाबी गरे ।

‘इतिहासले पुष्टि गरेको कुरा नै के हो भने कांग्रेसले बहुमत ल्याए पनि मुलुकलाई राजनीतिक स्थिरता दिन सकेन, सुशासन र विकास त परै जाओस्’ उनले स्मरण भने, ‘२०१५ सालमा दुई तिहाइ बहुमत ल्याएर पनि कांग्रेसले साढे १ वर्ष सरकार चलाउन सकेन, २०४८ सालमा आरामको बहुमत ल्यायो तर तीन वर्ष पनि टिकाउन सकेन, २०५६ सालमा पनि बहुमत ल्यायो र राजाको हातमा प्रजातन्त्र बुझायो, त्यसैले इतिहासमा यसरी पटक पटक असफल भइसकेको पार्टीले अब मुलुकको नेतृत्व गर्न सक्दैन ।’

वाम गठबन्धनको सहकार्यले कांग्रेस आत्तिएको भन्दै केही नलागेपछि भ्रमपूर्ण प्रचारमा उत्रिएको बताए । ‘विचार मिल्दा पार्टीहरु एकताबद्ध हुन्छन्, नजिक हुन्छन् त्यसको त स्वागत गर्नुपर्ने हो तर दु:खलाग्दो कुरा अहिले कांग्रेस निकै भ्रमपूर्ण प्रचारमा व्यस्त छ ।’ कम्युनिष्टले जिते भने रुन पनि पाइँदैन भनेर कांग्रसेका केही नेताले प्रचार गरेकोप्रति उनले असन्तुष्टि पोखेका हुन् ।

२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउँदा पनि कांग्रेसले यस्तै भ्रमपूर्ण कुरा गरेको उनले उल्लेख गरे । ‘हामीले अल्पमतको सरकार बनाउँदा पनि कांग्रेसले बुढाबूढीलाई गोली हानेर मार्छ, मठ मन्दिर भत्काउँछ, धर्म मान्दैन भनेर खुबै प्रचार गथ्र्यो तर एमालेले नै त्यसबेला जेष्ठ नागरिक र विधुवालाई एक सय रुपैयाँ भत्ताको व्यवस्था गर्‍यो,’ उनले भने, ‘अहिले त्यसलाई केपी ओली सरकारले दुई हजारमा पुर्‍यायो अब वामपन्थी सरकारले त्यसलाई पाँच हजार पुर्‍याउँछ, अनि के बुढाबूढी रुनुपर्छ त ? रुनै पर्दैन ।’

कांग्रेसले अहिले चलाएका सबै भ्रमलाई बर्बराहटको संज्ञा दिँदै नेता पोखरेलले अधिनायकवाद लाद्ने कुरा गरेर समय खेर नफाल्न सुझाव दिए ।

चुनावी अभियानका क्रममा धापासीमा निर्वाचन क्षेत्र नं. ५ मा क्रियाशील कांग्रेस कार्यकर्तारु शंकर भण्डारीको नेतृत्वमा जयराम पाण्डे, शंकर कुँवर, शंकर सुनारलगायत एमाले प्रवेश गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?