कोमामा रहेका सार्कीको परिवारलाई घर हस्तान्तरण

कान्तिपुर संवाददाता

भक्तपुर — साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

सामाजिक सञ्जाल अभियान मार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले वैदेशिक रोजगारका लागि साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका चाँगुनारायण नगरपालिका–४ संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब ३० महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसोबास गरिरहेका थिए । 

सामाजिक सञ्जालबाट दिनदु:खीहरुको सेवामा कार्यरत सामाजिक अभियन्ता ढिकुरपोखरी–६ पाउदुरकोट कास्कीकी सरिता गुरुङले शुक्रबार घर हस्तान्तरण गरेकी हुन् । गुरुङले सामाजिक सञ्जाल अभियानमार्फत संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएकी हुन् । सार्कीको आवास पुनर्निर्माणको लागि विभिन्न सामाजिक सञ्जाल मार्फत ११ लाख १२ हजार ५ सय ५५ रुपैंयाँ संकलन भएको उनले बताइन् ।

सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले डेढ लाख सहयोग गरेको उनले बताइन् । ‘वैदेशिक रोजगारका लागि साउदी पुगेका रामकृष्ण कोमामा फर्केपछिको अवस्था हेर्दा माया लाग्यो’, गुरुङ्गले भनिन्,‘सहयोगी हातहरुको सहयोगमा घर बनाउन सफल भयौं ।’ सार्कीको घर निर्माणका लागि एभरग्रीन ग्रुप युके, नेप्लिज ब्रदर हङकङ, अनुप गुरुङ यूएसए, राजु फोम्बो सिंगापुर, बबिता गुरुङ युके, दिदीबहिनी ग्रुप युके,रचना प्रधान हङकङ, फेन्स फर लाइफ, देवेन्द्र गिरी, लीला श्रेष्ठ ज्योति, विष्णु घोताने गुरुङको विशेष सहयोग रहेको गुरुङले बताइन् ।
सामाजिक अभियान मार्फत निर्मित घरको साँचो ग्रहण गर्दै रामकृष्णकी ७० वर्षीया आमा माया मगरातीले खुशीको आँसु झार्दै सहयोगी हातहरुलाई धन्यवाद दिइन् । 

 

प्रकाशित : कार्तिक २५, २०७४ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले सहयोग गरे ८० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले औषधि उत्पादनप्रति सकारात्मक नीति अख्तियार गरे ८० प्रतिशत औषधि मुलुक मै उत्पादन गर्न सकिने यस क्षेत्रका जानकारहरुले बताएका छन् ।

नेपाल औषधि उत्पादक संघको २३ औं वार्षिक साधारणसभामा उक्त कुरा बताइएको हो । हाल कूल खपतको करिब ४५ प्रतिशत औषधि मुलुकमै उत्पादन हुने गरेको छ ।

मुलुकलाइ औषधिमा आत्मनिर्भर बनाउने कुरा करिब अढाई दशकदेखि स्वास्थ्य नीतिमा उल्लेख रहेपनि यसलाइ व्यवहारमा परिणत गर्न राज्यको निकायले कुनै सकारात्मक पहल नगरेको गुनासोसमेत औषधि उत्पादकहरुले गरे ।

मुलुकमा औषधिको बजार करिव २० अर्बको रहेको जनाउँदै संघका नवनिर्वाचित अध्यक्ष दीपक दाहालले अगामी तीन वर्षभित्र औषधिको बजार एकसय अर्बको हुने दाबी गरे । यसमा आफूहरुले ८० प्रतिशत बजार हिस्सा लिने लक्ष्य राखेको समेत उनले बताए ।

मुलुकमा करिब ६० प्रतिशत औषधि विदेशबाट आयात भइरहेको औल्याउँदै संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले यसको लागि देशमा भएको अनुपयुक्त औषधि नीति, नियम जिम्मेवार रहेको उल्लेख गरे ।
उनले हाल मुलुकको औषधि नीति आयातमा आधारित रहेको जनाउँदै सरकारले यो स्थिति हटाउन सहयोगको वातावरण वनाउनुपर्ने जनाए ।

२३ औं वार्षिक साधारणसभाले औषधि उत्पादक संघको अध्यक्षमा दीपक दाहाललाई चयन गरेको छ । यसअघि संघको अध्यक्ष शंकर घिमिरे थिए । 

प्रकाशित : कार्तिक २५, २०७४ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्