कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराए जातीय र क्षेत्रीय मुद्दा

पोखरा — जातीय पहिचान र अखण्ड नेपाल भन्दै परस्परविरोधी दुइटा आन्दोलनको केन्द्र बनेको कास्कीमा अहिले यी मुद्दा कसैले उठाएका छैनन् । विगतमा यी मुुद्दा उठाउनेहरू कांग्रेस–वाम गठबन्धनको हिस्सा बनेकाले यी दुईबीच सीधा टक्कर हुँदैछ

कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका । चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ ।

यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन् । कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ । ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ । त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वी नारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन् । संगठित भइसकेका छन् ।’

बहालवाला मन्त्री यज्ञबहादुर थापा कांग्रेस र वाम गठबन्धनका युवा नेता रवीन्द्र अधिकारीसम्म यहाँ प्रतिस्पर्धामा छन् । कास्की १ मा मन्त्री थापासँग एमाले नेता पूर्वमन्त्री खगराज अधिकारी भिडदै छन् । २ मा दुई पटक लगातार सांसद जितेका एमालेका युवा नेता अधिकारीसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् कांग्रेसका देवराज चालिसे । ३ मा एमालेका जगत विश्वकर्मासँग कांग्रेसका पुराना नेता शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।

विगतमा मिश्रित परिणाम आउने गरेको कास्कीमा यस पटक पनि स्पष्ट तस्बिर देखिइसकेको छैन । ‘यस पटक जातीय मतले त्यति प्रभाव पार्दैन । ठूला पार्टीका आफ्ना भोट बैंक सुरक्षित नै हुन्छन्,’ राजनीतिकशास्त्रका प्राध्यापक पदमशरण रेग्मीले भने, ‘सहरी मत अस्थिर हुने गर्छ । त्यसैले नयाँ मतदातालाई आकर्षित गर्नेले परिणाम आफ्नो पक्षमा पार्न सक्छन् ।’

कास्कीमा सहरी मतदाता बढी रहेकाले उनीहरूलाई प्रभावित पार्न दुवै गठबन्धनको प्रचार बलियो छ । मत आफ्नो पक्षमा पार्न स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दासमेत उम्मेदवारहरूले प्रचार गरिरहेका छन् । ‘मुलुकलाई स्थिर सरकार दिएर कास्कीलाई प्रदेश ४ को केन्द्र र पर्यटकीय राजधानी बनाउन वामपन्थी गठबन्धनले मात्र सक्छ,’ एमाले युवा नेता अधिकारीले भने, ‘त्यसैले सबै क्षेत्रमा हामीलाई जनताले जिताउँछन् भन्ने विश्वास छ, विगतको परिणामका आधारमा पनि जित सुनिश्चित छ ।’

कांग्रेस गठबन्धनका नेताहरू पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । कांग्रेस उम्मेदवारहरूले विकासका मुद्दासँगै वामपन्थी गठबन्धनले लोकतन्त्र ध्वस्त पार्छ भन्ने प्रचार गर्न छुटाएका छैनन् ।

‘भर्खरै हामीले संविधान जारी गरेका छौं, यो संविधान कार्यान्वयनकै लागि चुनाव हुन लागेको हो तर चुनावपछि यो व्यवस्था नै फेर्ने कुरा कम्युनिस्टहरूले गर्न थालेका छन्,’ कानुनमन्त्रीसमेत रहेका कास्की १ का उम्मेदवार थापाले भने । कम्युनिस्टहरूलाई जिताए लोकतन्त्र नै सुरक्षित नहुनेबारे आफूहरूले मतदातालाई बुझाउने कोसिस गरेको उनी बताउँछन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा कास्कीमा कांग्रेस र एमालेले २/२ सिट जितेका थिए । पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीले ३ र एमालेले एक गरी चारै सिट जितेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने कांग्रेसले तीनै सिट जितेको थियो ।

०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा ३ क्षेत्र थिए । संविधानसभाका दुवै निर्वाचनमा ४ क्षेत्र कायम गरिएकोमा पछिल्लो संरचनाअनुसार ३ क्षेत्र कायम गरिएको छ ।

कास्की १ का दुवै उम्मेदवार पुराना अनुहार हुन् । मन्त्री थापा र पूर्वमन्त्री अधिकारी चुनावी मैदानमा छन् । ०६४ मा पराजित थापा दोस्रो संविधानसभाको निर्वाचनमा भने जितेका थिए । ०४८ को संसदीय निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटसँग हारेका अधिकारी ०५१ को मध्यावधि निर्वाचनमा उनै रानाभाटलाई हराए । ०५६ को चुनावमा पनि रानाभाटसँगै चुनावी मैदानमा उत्रिएर पराजित अधिकारीले ०६४ पनि जितेनन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ मा कांग्रेसका जीवन परियार, माओवादीका दीपक कोइराला र प्रदेशसभा ‘ख’ मा कांग्रेसका जिल्ला सभापति कृष्ण केसी र एमालेका मनबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

यसैगरी २ नम्बरमा वाम उम्मेदवार अधिकारी एमाले केन्द्रीय सदस्य हुन् । उनले दुवै संविधानसभा निर्वाचन जितेका थिए । कांग्रेसका चालिसेको भने पहिलो अनुभव हो । यस क्षेत्रको प्रदेश ‘क’ मा कांग्रेसबाट गुरु बराल र एमालेबाट जिल्ला अध्यक्ष कृष्ण थापा प्रतिस्पर्धामा छन् । थापा ०७० को निर्वाचनमा कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए भने बराल पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश ‘ख’ मा कांग्रेसबाट विन्दु थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ भिडेका छन् । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष थापा घरजग्गा र अटो व्यवसायी हुन् । दुई वर्षअघि मात्रै कांग्रेसको सदस्यता लिएका उनले टिकट पाएपछि असन्तुष्टि जनाउँदै नरेशशंकर पालिखेले बागी उम्मेदवारी दिएका छन् । पालिखेलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

त्यस्तै, कास्की ३ मा कांग्रेसका पुराना नेता शर्मा र वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसमानुपातिक सभासद जगत विश्वकर्माबीच रस्साकसी छ । ०४८ र ०५१ मा कास्की २ बाट पराजित शर्मा ०५६ पछि राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । विश्वकर्माका लागि भने यो पहिलो अनुभव हो । उक्त क्षेत्रको प्रदेश ‘क’ मा निवर्तमान सांसद शारदा पौडेल कांग्रेस र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामजी बराल तथा प्रदेश ‘ख मा कांग्रेसका सिकन्दर (भोजबहादुर) गुरुङ र वाम गठबन्धनका एमालेबाट युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी उठेका छन् ।

पौडेलले ०७० को निर्वाचनमा एमालेका कृष्ण थापालाई पराजित गरेकी थिइन् भने बराल सोही निर्वाचनमा हारेका व्यक्ति हुन् । गुरुङ र पहारीका लागि निर्वाचन पहिलो अनुभव हो ।

४ गाउँपालिका र १ महानगर रहेको जिल्लामा नगरको मत नै निर्णायक हुने देखिन्छ । कास्की १ मा रूपा र मादी गाउँपालिका र पोखरा लेखनाथ महानगरका १०, ११, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा पर्छन् । त्यस्तै २ मा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ नम्बर वडा पर्छन् । ३ नम्बर क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ वडा समावेश छन् । महानगरकै मतले उम्मेदवारलाई पल्लाभारी हुने देखिन्छ । यसले पनि उम्मेदवारहरू बढी मतदाता भएको स्थानमा केन्द्रित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा महानगर, रूपा, मादी र माछापुच्छ्रे गाउँपालिका प्रमुखमा एमाले र अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले जितेका थिए । उक्त निर्वाचनमा भन्दा अहिले करिब ३० हजार मतदाता संख्या बढेकाले त्यसले परिणामलाई तलमाथि पार्न सक्छ ।

प्रकाशित : कार्तिक २७, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?