सुरक्षा व्यवस्था थप कडा पार्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — गृह मन्त्रालयले आसन्न चुनावमा सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ । पश्चिम पहाडका जिल्लाहरूमा एकपछि अर्को गर्दै माओवादीका उम्मेदवारमाथि बम प्रहारका घटना भएपछि शनिबार गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकारीको भेला डाकेको थियो ।

सुरक्षा व्यवस्था थप कडा पार्न निर्देशन

गृह मन्त्रालयले आसन्न चुनावमा सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ ।

पश्चिम पहाडका जिल्लाहरूमा एकपछि अर्को गर्दै माओवादीका उम्मेदवारमाथि बम प्रहारका घटना भएपछि शनिबार गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकारीको भेला डाकेको थियो । स्रोतका अनुसार उक्त भेलामा गृह सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा प्रबन्ध कडा पार्न मातहतको निकायलाई निर्देशन दिएका थिए ।

बम प्रहारका घटना र हतियारसहित हिँड्नेहरूको संख्या बढेको भन्दै प्रहरीले पश्चिम पहाडका जिल्लाहरूमा जाँचपडताल कडा पारेको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्माले मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको बताए । गृहले सुरक्षा चुनौतीअनुसार जिल्लास्तरमै निर्वाचन सुरक्षा नीति परिवर्तन गर्न सक्ने अधिकारसमेत जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

सुरक्षा चुनौती बढे पनि गृहले यसअघिको स्थानीय तहको चुनावमा जस्तै तीन घेराको सुरक्षा योजना जारी राख्ने भएको छ । आइतबार मात्रै निर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे गृहसचिवसहितका पदाधिकारीलाई बोलाएको थियो । स्रोतका अनुसार उक्त बैठकमा आयोगले आसन्न सुरक्षा चुनौती र त्यसलाई चिर्न के तयारी भइरहेको छ भनेर बुझेको थियो । गृह सचिव सापकोटाले सुरक्षा व्यवस्था कडा पार्न, चेकजाँच बढाउन निर्देशन दिइसकेको बताउँदै अघिल्लो दिनको सुरक्षा अधिकारीसँगको बैठकका कुरा राखेका थिए ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?