१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रपति यूएईतर्फ

चन्द्रशेखर अधिकारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएकी छन् । प्रतिनिधि तथा प्रदेशसभा निवार्चनको दुई साताअघि उनी चारदिने भ्रमणमा त्यसतर्फ लागेकी हुन् ।

 राष्ट्रपति यूएईतर्फ


यूएईका युवराजको निमन्त्रणामा राष्ट्रपति त्यसतर्फ गएकी हुन् । नेपालका लागि यूएईका राजदूत सैयद हम्दान नक्पितले राष्ट्रपतिलाई गत मंगलबार शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमार तथा यूएईका उपप्रमुख मोहम्मद बिन अल जाहेद नाहिदको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

राष्ट्रपतिको टोली दुई समूह बनाएर यूएई गएको छ । इत्तिहाद एयरवेजको उडानमा राष्ट्रपतिसँगै ११ जना छन् भने १५ जनाको अर्को टोली जेट एअरवेजबाट दिल्ली हँुदै यूएई पुग्नेछ । राष्ट्रपतिको हतारोका कारण टिकटसमेत एउटै प्लेनमा लिन एजेन्टले नसकेको र दुई फरक टोली बनाएर उनीहरू यूएई जान बाध्य भएको परराष्ट्र अधिकारीले बताएका छन् । २६ सदस्यीय टोली सँगै पुग्ने दाबी गरिए पनि फरक–फरक जाँदा त्यसको कूटनीतिक संकेत राम्रो नहुने अधिकारीहरूले बताए ।

राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले टिकट नमिलेका कारण दुई टोली बनाएर जानुपरेको बताए । ‘दुई टोली गए पनि पुग्ने समय उस्तै हुने गरी मिलाइएको छ । टिकट हामीले होइन, परराष्ट्रले मिलाउने हो । उतैबाट यस्तो तालिका आएको हो,’ सचिव पौडेलले भने, ‘हामीले भ्रमण ढिलो गरी तय गरेकाले पनि परराष्ट्रलाई दोष दिन सकिएन ।’ तर परराष्ट्रमा टिकट दिने ट्राभल एजेन्ट निकै कमजोर रहेकाले पनि यस्तो समस्या आएको हुन सक्ने अधिकारीहरूले बताए ।

अन्य मुलुकका राष्ट्रप्रमुखको भ्रमण हुँदा केही दिनअघि ‘एडभान्स टिम’ पुगेर सबै पक्ष मिलाउने काम हुन्छ । परराष्ट्रका एक अधिकारीले तयारी नहुँदा यस्तो समस्या आएको बताए । यूएईमा अहिले नेपालका राजदूतसमेत छैनन् । अहिले खाडी मुलुकबीच सौहार्द सम्बन्ध छैन । यूएई, साउदी अरब, इजिप्टलगायत मुलुकले कतारलाई नाकाबन्दी लगाएका छन् । कतारले आफ्नो मुलुक भ्रमण गर्न राष्ट्रपतिलाई निम्ता पठाएको एक वर्ष भइसकेको छ । यस्तो अवस्थामा यूएईको भ्रमण हुनुले कसैका पक्षमा नेपाल रहेजस्तो सन्देश जाने विज्ञहरू बताउँछन् ।

बम परिवारको आशा

-होम कार्की
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणबाट धारी ५, दार्चुलाका कर्णबहादुर र धनमती बममा नयाँ आशा पलाएको छ । सन् २००३ देखि दुबईको अविर जेलमा रहेका आफ्ना छोरा अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले यूएईका राष्ट्रपतिसँग कुरा गर्ने आस उनीहरूलाई छ ।

राष्ट्रपतिको भ्रमण तय भएदेखि नै कर्णले नेताहरूसमक्ष आफ्नो छोरा छुटाइदिन अनुरोध गरेका थिए । उनले अहिलेसम्म छोरा अमरको मुद्दा लिएर राष्ट्रपति भण्डारी, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, केपी ओली र पुष्पकमल दाहाललाई भेटिसकेका छन् । ‘छोराको विषय सारालाई थाहा छ,’ ७१ वर्षीय कर्णले कान्तिपुरसँग भने, ‘सरकारले पनि चासो दिएको छ । पक्कै यो विषय राष्ट्रपतिले उठाउनुहुनेछ । र, मेरो छोरा आफ्नो देश फिर्नेछ ।’

भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै यूएईको अदालतले दुई भारतीयसहित बमलाई मृत्युदण्डको फैसला सुनाएको छ । तर, बमले चलाएको गाडीमा गएर सेठ्ठीलाई गोली हान्ने भारतीय नागरिकद्वय मनोज मुदाना र करनसिंह राजपुतले अमर निर्दोष रहेको लिखित बयान दिएका छन् । अमर हत्या योजनाबारे बेखबर रहेको र गाडी मात्र चलाएको भनेर उनलाई माफी दिन उनीहरूले औंठाछाप गरेर निवेदन पनि दिएका छन् । तैपनि, अमर छुटेका छैनन् । अमरलाई मृत्युदण्डको फैसला सुनाइएको यूएईस्थित नेपाली दूतावासले ४ वर्षपछि मात्रै थाहा पाएको थियो । दूतावास र परराष्ट्रले सूचना पाएपछि पनि उनको प्रतिरक्षा गर्न वकिल नियुक्त गरिएको छैन । ‘हत्यामा छोराको नियतवश संलग्नता नरहेको भनेर राष्ट्रपति–प्रधानमन्त्री सबैलाई भेटेर अनुनय गरेको छु,’ कर्णले भने, ‘आफू त डाँडापारिको घामजस्तै भइसकियो । कतिखेर डुबिन्छ थाहा छैन । अमरको आमा पनि छोराको मुख हेर्न नपाई बितिन् । मलाई अरू त होइन, बुहारीको चिन्ता छ ।’ विवाह गरेको २५ दिनमै अमर श्रीमती धनमतीलाई घरमै छाडेर वैदेशिक रोजगारीमा गएका थिए । ‘म उहाँलाई पर्खेर बसिरहेकी छु,’ धनमतीले भनिन् ।

परराष्ट्र मन्त्रालयले कानुनी प्रतिरक्षाभन्दा राष्ट्रपतिको तहबाट माफी दिन अनुरोध गरे छुट्ने विकल्प अघि सारेको थियो । नेपाल सरकारले बमलाई माफी दिन यूएई सरकारलाई पत्र पठाइसकेको छ । यूएईले त्यसको जवाफ दिएको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यूएईका प्रधानमन्त्रीलाई भेटेर अमरलाई माफी दिन अनुरोध गरेका थिए ।

प्रकाशित : कार्तिक २८, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?