१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पार्टी एकीकरणले गच्छदारलाई राहत

गंगा बीसी, वेदराज पौडेल

सुनसरी — लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु । मैले २५ वर्ष जनताको सेवामा बिताएको छु । त्यसैले मलाई मतदाताले माया गर्नुहुन्छ ।’

पार्टी एकीकरणले गच्छदारलाई राहत

२०४८ देखि हरेक निर्वाचनमा विजयी गच्छदार सातौं पटक निर्वाचनमा प्रतिस्पर्धामा छन् । उनले आफ्ना क्षेत्रमा व्यापक विकासका काम गरेकाले कसैले पराजित गर्न नसक्ने दाबी गरे । वाम गठबन्धनबाट एमाले उम्मेदवार भगवती चौधरी दोस्रोपटक गच्छदारसँग प्रतिस्पर्धा गर्दै छिन् । उनी लघुवित्त संस्था सञ्चालक पनि हुन् । उनको लघुवित्तको जालो गाउँगाउँ फैलिएको छ ।

२०७० को निर्वाचनमा ३ सय ६२ सय मतान्तरले विजयी भएका गच्छदारले यसपटक अझ सहज महसुस गरेका छन् । निर्वाचनका मुखमा कांग्रेससँग पार्टी एकता गरेकाले यो निर्वाचनमा सजिलो भएको बताए । ‘पार्टी एकता भएपछि अझ सजिलो भएको छ,’ उनले भने, ‘उहाँ (चौधरी) ठूलै पार्टीका उम्मेदवार भएकाले प्रतिस्पर्धा हुन्छ ।’

चौधरीले मतदाता गच्छदारविरुद्ध रहेको जिकिरसहित यसपालि आफूले जित्ने दाबी गरिन् । ‘गच्छदारले सुनसरी ३ मा आम जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारीमा कुनै काम नगरेकाले यसपटक म जित्छु,’ उनले भनिन् । जनताको आर्थिक उत्थान गर्ने एजेन्डा लिएर अघि बढेकाले जित सुनिश्चित रहेको दाबी चौधरीले गरिन् । उनलाई माओवादीले समर्थन गरेको छ । 

दाबी आआफ्नै
गच्छदार

  •  हजारौंलाई सरकारी जागिर खुवाएको छु
  •  आफूले पाएको सहयोग कार्यकर्तालाई बाँडेको छु
  •  मकहाँ आउने कार्यकर्ताले खाली हात फर्कनु पर्दैन

चौधरी

  •  अघिल्लो चुनाव राज्यले हराएको हो, स्वतन्त्र निर्वाचन भए जित्छु
  • मतदाता गच्छदारविरुद्ध छन्
  • महिलालाई मैले साडी बाँडेको छैन, लघुवित्त अभियानको ड्रेस हो

प्रतिस्पर्धी चौधरीले चुनाव जित्न जे पनि गरेको आरोप गच्छदारले लगाए । यहाँको निर्णायक मत चौधरी समुदायकै हो । गच्छदारले आफूले सहयोग जुटाएर पार्टी सञ्चालन गरेको विषयलाई अरूले उचालेको बताए । ‘मैले पैसा कमाएको निराधार हो, साथीभाइले जसरी सहयोग गरेका छन्, मैले त्यसरी नै कार्यकर्तालाई बाँडेको छु,’ उनले भने, ‘मेरो घरमा आएका कार्यकर्ता खाली हात फर्कनुपरेको छैन ।’ चौधरीले दोस्रो संविधानसभा निर्वाचनमा आफूलाई राज्यले हराएको बताइन् । त्यो बेला गच्छदारले १७ हजार ५ सय २४ र चौधरीले १७ हजार १ सय ६२ मत ल्याएका थिए । आफूले जहिले पनि जनताको जीवनस्तर उकास्न कार्यक्रम ल्याउने बताउँदै उनले निर्वाचन शान्तिपूर्ण र भयरहित भए आफूले जित्ने दाबी गरिन् । 

निर्वाचनका बेला महिलालाई साडी बाँडेको गच्छदारको आरोपको चौधरीले खण्डन गरिन््, ‘हाम्रो लघुवित्त कार्यक्रममा संलग्न महिलाले ड्रेस लगाउँछन्, त्यो मैले बाँडेको होइन ।’ सुनसरी ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादी केन्द्रले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, लोकतान्त्रिक फोरमले १७ हजार ६ सय ७३ र संघीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत प्राप्त गरेका थिए । उक्त मतलाई आधार बनाएर हेर्दा ३ नम्बरमा वाम गठबन्धनका पक्षमा २६ हजार २० मत रहेको देखिन्छ भने नेपाली कांग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । उक्त मतका आधारमा ३ नम्बर क्षेत्रमा कांग्रेसका पक्षमा १३ हजार २ सय ३० मत बढी देखिन्छ ।

‘म कांग्रेसको उपसभापति’
कांग्रेस नेता गच्छदारले पार्टी एकीकरण गर्ने बेला आफूलाई उपसभापति दिने सहमति भएको खुलासा गरे । ‘मलाई उपसभापतिको जिम्मेवारी दिने सहमति भएको छ,’ उनले भने । कांग्रेसको विधान संशोधन गरी केन्द्रीय समिति विस्तार र पदाधिकारी थप हुने बताए । कांग्रेसमा पार्टी एकीकरणपछि सबैतिर उत्साह थपिएको उनले सुनाए । उनले आफूलाई सुनसरीका मतदाताले भावी प्रधानमन्त्रीका रूपमा हेरेको दाबी गरे । ‘मतदाताले मलाई प्रधानमन्त्री हुन योग्य व्यक्तिका रूपमा देखेका छन्, त्यो सम्भावना पनि छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २८, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?