कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेश २ को राजधानी वीरगन्ज कि बीचतिर ?

रौतहट/सर्लाही — भूगोल हेर्ने हो भने प्रदेश २ का ८ जिल्लाको केन्द्रमा सर्लाही र महोत्तरीको सीमाभाग पर्छ । पूर्वमा सप्तरी र पश्चिममा पर्साबाट आउजाउ गर्न बीचमा पर्ने इलाका पनि यही हो । त्यसैले सर्लाहीका बासिन्दा संघर्ष समिति नै बनाएर जिल्लालाई प्रदेश २ को राजधानी बनाउने दबाबमा उत्रिएका छन् ।

प्रदेश २ को राजधानी वीरगन्ज कि बीचतिर ?

सर्लाही गृहजिल्ला भएर धनुषाबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरिहेका राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका राजेन्द्र महतो भने जनकपुरलाई राजधानी बनाउने मूल एजेन्डा बनाइरहेका छन् । ‘मधेश प्रदेशको राजधानी जनकपुर हुनुपर्छ । मधेश आन्दोलनको केन्द्रबिन्दु जनकपुर हो । त्यसले त्यही किसिमको सम्मान पाउनुपर्छ’, उनले भने, ‘त्यसकै लागि पनि म सर्लाही छाडेर धनुषामा उठ्न आएको हुँ ।’

प्रदेश २ को राजधानी कहाँ ? एकातिर भन्दा अर्कातिरका मतदाता भड्कने भएकाले नेताहरू सकेसम्म यसबाट पन्छिने गरेका छन् । मतदाता भने चुनावअघि नै दल र उम्मेदवारहरूको प्रस्ट अवधारणा एवं प्रतिबद्धता आउनुपर्ने अडान राख्न थालेका छन् । केही नेता भने खुलेर आफूलाई रुचि लागेको ठाउँको पक्षमा बोल्न डराएका छैनन् ।

‘राजधानीको विषय प्रदेशसभाले टुंग्याउँछ । त्यो उसको अधिकार हो । पार्टीमा छलफल पनि भएको छैन’, रौतहटबाट कांग्रेसका उम्मेदवार मोहम्मद आफ्ताद आलमले भने, ‘मेरो व्यक्तिगत विचारमा चाहिँ वीरगन्ज हुनुपर्छ । मधेश आन्दोलनको मूलथलो, भौतिक विकास राम्रो भएको ठाउँ र महानगरसमेत भएकाले त्यहीं उचित हुन्छ ।’

रौतहटकै अन्य नेता भने त्यति प्रस्ट रुपमा खुल्दैनन् । माओबादी केन्द्रका उम्मेदवार प्रभु साहले सबैलाई पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने बताए । ‘यसका लागि बृहत् छलफल जरुरी छ,’ उनले भने, ‘अहिले नै यो जिल्ला र त्यो जिल्ला भन्ने अवस्था छैन ।’

रौतहटका कांग्रेस उम्मेदवार देवप्रसाद तिमिल्सिना भने रौतहटलाई राजधानी बनाउने पैरवीमा छन् । ‘सबैलाई पायक पर्ने स्थान भनेको रौतहट हो । २ नम्बर प्रदेशको राजधानी यही जिल्लालाई बनाउनुपर्छ । यसमा नेपाली काग्रेसले पहल थालेको छ’, उनले भने ‘सप्तरीदेखि पर्सासम्मका बासिन्दालाई पायक पर्ने यही जिल्ला हो ।’

रौतहटबाटै प्रतिस्पर्धा गरिरहेका राजपा अध्यक्ष मण्डलका अनील झाले सप्तरीदेखि पर्सासम्मका जनताको कदर हुने गरी राजधानी कायम हुनुपर्ने बताए । ‘तर, त्यसको छिनोफानो प्रदेशसभाले गर्छ । मेरालागि प्रदेशको राजधानी जहाँ राखे पनि घरजस्तै हो’, उनले भने, ‘तत्कालका लागि जनकपुर भनिएको छ । निर्वाचनपछि प्रदेशसभाले राजधानी कहाँ भन्ने तय गर्छ ।’

सर्लाही कांग्रेसका सभापति नागेन्द्रकुमार यादवले सबैलाई सजिलो हुने मध्यभागमा राजधानी राख्नु उपयुक्त हुने वताए । ‘प्रदेशको राजधानी शक्तिशालीले ल्याउने हो,’ उनले भने, ‘सबैलाई सहज हुने मध्यभागमा कायम होस भन्ने सर्वसाधारणको माग हो । मध्यभागमा पर्ने सर्लाही उपयुक्त स्थान भए पनि शक्तिशालीले आफूअनुकूल गर्लान् ।’

राजपाका जिल्ला संयोजक एवं कविलासी नगरका मेयर कौशलकिशोर यादवले पनि मध्यभागमा पर्ने सर्लाही राजधानीका लागि उपयुक्त भएको उल्लेख गरे । एमाले जिल्ला अध्यक्ष रेवती पन्तले हरेक हिसाबले सर्लाही ठीक हुने धारणा राखे । वामपन्थी गठबन्धनको सरकार वने सर्लाही राजधानी तोकिने उनले दाबी पारे ।

प्रदेश २ को राजधानी मध्यभागमा पर्ने सर्लाहीमा राख्न माग गर्दै मंगलबार पूर्वपश्चिम राजमार्गको नवलपुरमा हस्ताक्षर संकलन नै गरिएको छ । संघर्ष समितिका संयोजक बख्तियार अलीले राज्य पुन:संरचना शतप्रतिशत लागू गर्दै प्रदेशको मध्य भागमा पर्ने यहाँ राजधानी हुनुपर्ने वताए ।

‘राजधानीका लागि वीरगन्ज र जनकपुरको कुरा बढी उठिरहेको पाइन्छ,’ उनले भने, ‘पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको मध्य भनेको सर्लाही हो । बलमिच्याइँ गरेर राजधानी राख्ने नभई सबै जनतालाई पायक पर्ने गरी राख्नुपर्छ । वैज्ञानिक ढंगले हेर्दा सर्लाहीको विकल्प छैन ।’ समाजसेवी रजनीकान्त झाले हरेक दृष्टिले उपयुक्त रहेको मध्य भागमा राजधानी राख्नुपर्ने माग जायज भएको वताए । हस्ताक्षर गर्नेमा वृद्धदेखि युवासम्म छन् ।

उता वीरगन्जलाई राजधानी बनाउन माग गर्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट दबाब दिने क्रम बढेको छ । फेसबुकमा ‘प्रादेशिक राजधानीका लागि मेरो समर्थन वीरगन्जलाई, अनि तपाईंको नि ?’ भन्ने प्रोफाइल बनाउनेको संख्या बढदो छ । त्यसकै लागि हस्ताक्षर अभियान अघि बढाइएको छ । वीरगन्जको घण्टाघरमा राखिएको अभियानको ब्यानरमा ३ दिनमा करिब ३५ हजारले हस्ताक्षर गरेको अभियानकर्ता प्रभाकर गुप्ताले बताए । उक्त ब्यानर तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने र पछि प्रदेशसभाको संसद्, मुख्यमन्त्री र प्रमुख दललाई उपलब्ध गराई दबाब दिइने उनले जनाए ।

मधेस मात्र रहेको प्रदेश २ मा ८ जिल्ला छन् । आठै जिल्लामा प्रतिनिधिसभामा ४/४ र प्रदेशसभामा ८/८ क्षेत्र छन् । जनकपुरमा राजधानी चाहने पूर्वतिर सप्तरी, सिरहा र धनुषाका वीरगन्ज हुनुपर्छ भन्ने पर्सा, बारा र रौतहटका बासिन्दा छन् । सर्लाही र महोत्तरीका अधिकांश बासिन्दा र नेताहरू भने विस्तारै आफ्नै जिल्ला वा दुईमध्ये एक वा बीचतिर हुनुपर्ने अवधारणामा उत्रिएका छन् । वीरगन्ज–जनकपुरको तानातानमा कतै बीचतिर पुग्ने त होइन भन्ने चर्चा पनि उत्तिकै सुरु भएको छ । अधिकांश नेताको चुनावअघिको मौनताले राजधानी कहाँ बन्नेछ भन्ने आकलन गर्न नसकिने अवस्था छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?