भोट तान्न आरोप–प्रत्यारोप
दोलखा\धनुषा — संसदीय निर्वाचनमा दोलखामा असफल हुँदै आएको कांग्रेसले पटकपटक वामपन्थीलाई जिताएकैले विकासमा पछि परेको आरोप लगाउँदै यही विषयलाई चुनावी प्रचार बनाइरहेको छ ।
त्यसको प्रतिवादमा वाम गठबन्धनका उम्मेदवार बहुदलपछिको अधिकांश समय कांग्रेसले केन्द्रीय सरकार कब्जा गरेकै कारण आफूहरूले चाहेजति विकास गर्न नसकेको अथ्र्याइरहेका छन् ।
बहुदलपछिको पहिलो आमनिर्वाचनमा दुवै निर्वाचन क्षेत्र भारी मतले एमालेको पोल्टामा आएको थियो । २०४९ को स्थानीय निर्वाचनको परिणाम भने कांग्रेसतिर फर्कियो । स्थानीय निर्वाचन जितेर जिविस बनाएको कांग्रेसले दोलखाको विकासको ढोका त्यसैबेलादेखि खुलेको दाबी गर्दै आसन्न निर्वाचनमा त्यसको जस लिन खोजिरहेको छ । कांग्रेसले प्रतिनिधिसभामा अघि सारेका रुद्रबहादुर खड्का त्यसबेला जिविस सभापति थिए । त्यसताका पुल र सडकमार्ग खुलाउने सुरुवात गरेकै कारण अहिले जिल्ला सडक सञ्जालले भरिएको उनको दाबी छ ।
एमालेले भने केन्द्रीय सत्ता र जिविस जितेको अवधि (२०४९–२०५४) मा कांग्रेसले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाएको छ । बरु २०५४ मा एमालेले स्थानीय निर्वाचन जितेपछि जिल्लाले दीर्घकालीन र संस्थागत विकासको बाटो समातेको उसको दाबी छ । गुरुयोजनासमेत बनाउन नसकेर पाँच वर्ष बिताएको कांग्रेसको स्थानीय सरकार भ्रष्टाचार र व्यक्तिवादी विचरणमा सकिएको एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । ‘जलस्रोत, पर्यटन, कृषि, बाली र यातायातले समुन्नत दोलखाली’ भन्ने नारा तय गरेर गुरुयोजना बनाएको परिणाम अहिले जिल्लामा तीन सयभन्दा बढी सडक र जलविद्युत् आयोजनाको बाढी लागेको वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका पार्वत गुरुङ बताउँछन् ।
‘मैले २०७० सालमा जितेपछि गाउँमै उद्यम, व्यवसायको माध्यमबाट रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा गएका युवा फर्काउने अभियान चलाइएको हो,’ उनले भने ।
कांग्रेसको जिविस र केन्द्रीय सरकार हुँदा पहिलो निजी लगानीको खिम्ती जलविद्युत् आयोजना आएकाले दोलखामा जलविद्युत् विकासको ढोका खुलेको कांग्रेसबाट प्रदेशसभा ‘क’ का उम्मेदवार बर्मा लामाले बताए । ‘एमालेले जिताएर पठाएका सांसद न स्थिर हुन सके न त विकासको नेतृत्व गर्न सके,’ उनले भने । २०६४ सालमा माओवादीले दुवै सिट जितेको स्मरण गर्दै वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ का उम्मेदवार विशाल खड्काले उक्त समयमा सडकका ठूल्ठूला केन्द्रीय योजना ल्याउन सकेको दाबी गरे ।
एमाले सांसदहरूको प्रयत्नमा जिल्लामा यातायात र विद्युत् विकास भएको, जीवनस्तर उकासिँदै गएको तथ्यांक रहेको प्रदेश ‘ख’ का उम्मेदवार पशुपति चौलागाईं बताउँछन् । चौंलागाईंले टिकट ल्याएपछि पार्टी छाडेर नेकपा मालेबाट प्रदेश ‘ख’ मा उम्मेदवारी दिएका लालकुमार केसी पनि एमाले जिविसले बनाएको विकास खाकाको हकदार आफू भएको दाबी गर्दै मत मागिरहेका छन् । उक्त समयमा उनी एमालेबाट जिविस सभापति थिए ।
बहुदलयता २०५१ मा एक क्षेत्र कांग्रेसले जितेबाहेक जिल्लामा अरू सबै चुनावमा वामपन्थी शक्तिले बाजी मार्दै आएको छ । चुनाव जितेर मन्त्रीसमेत पाए पनि दोलखा कांग्रेसले कुनै उपलब्धि दिलाउन नसकेको भन्दै विपक्षीहरू चुनावी मसला बनाइरहेका छन् । कांग्रेसले भने उक्त अवधिमा मन्त्री भएका निष्ठावान् नेता भीमबहादुर तामाङको एकल लगावले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्न सकेको भन्दै मत तान्ने प्रयास गरिरहेको छ । यद्यपि एमाले सांसदहरू पशुपति चौलागाईं र आनन्दप्रसाद पोखरेल उक्त योजनामा आफूहरूको प्रयत्न निकै महत्त्वपूर्ण रहेको दाबी गरिरहेका छन् ।
करिब डेढ लाख मतदाताको मत तान्न उम्मेदवारहरू आचारसंहिता नै मिचेर एक–अर्कालाई घोचपेचपूर्ण भाषण गर्दै हिँडेका छन् । व्यक्तिगत घोचपेचमा प्रदेश ‘क’ उम्मेदवार कांग्रेसका लामा र माओवादीका खड्का अघि देखिन्छन् । उनीहरू प्रत्येक भाषणमा एक–अर्काप्रति व्यक्तिगत कटाक्ष गरिररहेका हुन्छन् ।
चुनावी सभामा घोचपेच
निर्वाचन नजिकिँदै जाँदा धनुषामा दलका चुनावी सभा आरोप–प्रत्यारोपमा केन्द्रित हुन थालेका छन् । उम्मेदवारहरू मतदाताका सामु आफूलाई अब्बल साबित गर्न विपक्षी उम्मेदवारलाई व्यंग्य र कटाक्षपूर्ण भाषण गरिरहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ का चुनावी सभा कुनै हास्यसभाभन्दा कम लाग्दैनन् । यहाँ कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोबीच चुनावी घोचपेच जारी छ । दुवै नेताले हाउभाउसहित एक–अर्कालाई व्यंग्य गर्दा सभामा उपस्थितहरू पेट मिचीमिची हाँस्न थाल्छन् । सर्लाहीबाट धनुषा चुनाव लड्न आएका महतोलाई निधिले ‘बाहिरिया’ को आरोप लगाइरहेका छन् । साथै उनी ‘सर्लाहीका नेता पढ्नमा भुस्कोल रहेकाले मतदाताको अंकगणितमा फेल हुने’ टिप्पणी गर्न छुटाउँदैनन् । ‘सबैलाई थाहा छ, सर्लाहीका नेताहरू पढ्ने बेला स्कुल गएका थिएनन्,’ जनकपुरको पेठिया बजारमा आयोजित सभामा उनले भने, ‘गणितको हिसाब नजानेरै सर्लाहीको नेता चुनाव लड्न धनुषा आएको हो ।’ राजपाबाट जनकपुरको मेयर चुनिएका लालकिशोर साहको मत जोडेर महतो चुनाव लड्न धनुषा आएको भन्दै निधिले क्षेत्र नं. ३ मा जनकपुर उपमहानगरपालिका मात्रै नभएर मुखियापट्टी मुसरनिया र धनौजी पनि रहेको स्मरण गराए ।
उनले जनकपुरलाई प्रदेशको राजधानी, राजर्षि जनक विश्वविद्यालय कार्यान्वयन, जटही–जनकपुर–ढल्केबरलाई व्यपारिक मार्ग, जटही पिपरौनलाई व्यापारिक नाका र जनकपुरलाई आर्थिक नगरी बनाउने नारा अघि सारेर भोट माग्दै आएका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य महतो भने निधिलाई मधेसविरोधीको आरोप लगाउँदै आएका छन् । उनी चुनावी सभामा ‘मधेसविरोधी संविधानमा हस्ताक्षर गर्ने र मधेसीको टाउकोमा गोली चलाउनेलाई ब्यालेटमार्फत तह लगाउनुपर्ने’ बताइरहेछन् । ‘मधेसमाथि दमन गर्ने पाटीलाई चुनावबाट नै पाखा लगाउनुपर्छ,’ हालैको एक चुनावी सभामा उनले भने, ‘मधेस आन्दोलनको पक्षमा मतदान भए जनताको चाहना दुनियाँले बुझ्नेछ ।’ निधिलाई टक्कर दिन महतो दिनहुँजसो चुनावी सभा गर्दै आएका छन् ।
प्रकाशित : कार्तिक २९, २०७४ ०७:०८