२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोरङ ३ मा कटाक्षमा उत्रिए उम्मेदवार

बेलबारी (मोरङ) — एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल र कांग्रेस उम्मेदवार मेडिकल कलेज सञ्चालक सुनील शर्मा आमनेसामने हुँदा मोरङ ३ को चुनावी माहोल रोचक बन्दै छ ।

मोरङ ३ मा कटाक्षमा उत्रिए उम्मेदवार


तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्माको प्रतिस्पर्धालाई लिएर मतदातामाझ व्यापक चर्चा छ । दुवै नेता आआफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलो पुगिरहेका छन् ।

ढकालले आफ्ना प्रतिस्पर्धी शर्मालाई ‘गैरराजनीतिक व्यक्तित्व’ भनेर टिप्पणी गर्ने गरेका छन् । यस्तै शर्मा ‘पाहुना’ उम्मेदवार भन्दै ढकालप्रति कटाक्ष गरिरहेका छन् ।
२०७२ देखि संसद्को अवधि सकिँदासम्म एमाले संसदीय दलका प्रमुख सचेतक रहेका ढकाल पार्टीमा पोलिटब्युरो सदस्य, संगठन विभाग उपप्रमुख पनि हुन् । उनी समानुपातिकतर्फका पूर्वसांसद हुन् ।

दुवै उम्मेदवारका चुनावी मुद्दा फरक छन् । ढकाल संविधान कार्यान्वयन नै आफ्नो र पार्टीको मुख्य मुद्दा बताइरहेका छन् । ‘बहुमत नपुग्दा अस्थिर सरकार बन्ने गरेको र यसैका कारण विकास प्रक्रिया अवरुद्ध हुन पुगेको छ,’ उनले भने, ‘अब वाम गठबन्धनको बहुमतको सरकार बन्ने भएकाले स्थिर र दिगो हुन्छ, विकासका काम निर्बाध अघि बढ्छन् ।’ विकासका स्थानीय मुद्दा पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।

शर्मा भने स्थानीयलाई रोजगारी, भरपर्दो नि:शुल्क स्वास्थ्य सेवा, विपन्नलाई नि:शुल्क चिकित्साशास्त्र अध्ययनको सुविधा दिएको दाबी गर्दै यसलाई निरन्तरता दिने आकर्षक आश्वासन मतदातामाझ पुर्‍याइरहेका छन् । ‘जित, हार जे भए पनि यो क्षेत्रका तीन स्थानमा अस्पताल खोलेर भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने योजना छ,’ नोबल मेडिकल कलेजका सञ्चालकसमेत रहेका उनले भने । मोरङ ३ वाम गठबन्धनको सबैभन्दा बढी सुरक्षित स्थल भएकाले आफूले जित्नेमा ढकाल ढुक्क रहेको बताउँछन् । यो क्षेत्रमा स्थानीय चुनावको मत परिणाम केलाउँदा कांग्रेसभन्दा वाम गठबन्धन करिब २१ हजारले अघि छ ।

यस क्षेत्रका हजारौं बासिन्दालाई सहज र नि:शुल्क स्वास्थ्य सेवा, करिब ५ सयलाई रोजगारी र २ सय विपन्न, अल्पसंख्यक र दलितलाई नि:शुल्क चिकित्साशास्त्र अध्ययन गराउँदै आएकाले मतदाताले आफूलाई साथ–सहयोग गर्ने शर्माको दाबी छ । रैथाने नेता योग्य र आकांक्षी हुँदाहुँदै ‘पाहुना’ उम्मेदवार ल्याएकामा असन्तुष्टि जनाउँदै एमालेका केही स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएका थिए । एमालेका भेषराज रिजालले प्रतिनिधिसभा र डीबी राईले प्रदेशसभामा बागी उम्मेदवारीसमेत दिएका थिए । पछि उनीहरूले फिर्ता लिए । ‘केही आन्तरिक समस्या थियो,’ ढकालले भने, ‘गहन छलफलपछि सबै समस्या समाधान भएको छ, अब एकढिक्का भएका छौं ।’

साबिकको क्षेत्र नम्बर २, ३ र ८ लाई मिलाएर अहिले बनेको यो क्षेत्रमा २०४८ सालदेखि दोस्रो संविधानसभा निर्वाचनसम्म एमालेले जित्दै आएको थियो । यसअघि भरतमोहन अधिकारी, लालबाबु पण्डित र गोपी अछामीले संसद् र संविधानसभामा प्रतिनिधित्व गरिसकेका छन् । यसैगरी पहिलो संविधानसभा निर्वाचनमा एमालेका अधिकारीलाई हराउँदै माओवादीका लालबहादुर मगर विजयी बनेका थिए ।

पूर्व–पश्चिम राजमार्गसमेत पर्ने यो क्षेत्र विकासमा भने पछि छ । ‘धेरै बिरालाले मुसा मार्दैनन् भनेझैं भयो विगतमा यो क्षेत्र,’ बयरवन रमाइलोका एमाले कार्यकर्ता विष्णु पौडेलले भने, ‘अब चाहिँ विकासका काम नगरे झन् पछि पर्ने अवस्था छ, अबका प्रतिनिधिले यसमा गम्भीर हुनैपर्छ ।’ उनका अनुसार भित्री क्षेत्रमा सडक, सिँचाइ, खानेपानीको सहज सुविधा छैन । नदी कटान, डुबान, अव्यवस्थित बसोबास र जग्गामा द्वैध स्वामित्व यहाँका पुरानै समस्या हुन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?